सवारीचालक अनुमतिपत्र नवीकरण कार्य प्रारम्भ
काठमाडौँ, १० मङ्सिर ।यातायात व्यवस्था सेवा कार्यालय वाग्मती प्रदेश, भरतपुर चितवनले सवारीचालक अनुमतिपत्र नवीकरण कार्य प्रारम्भ गरेको छ । सेवाग्राहीको यही मङ्सिर १२ गतेदेखि सवारीचालक अनुमतिपत्र नवीकरण गरिने सेवा कार्यालय प्रमुख विनोद पौडेलले जानकारी दिनुभयो । स्मार्ट सवारीचालक अनुमतिपत्र भएका सेवाग्राहीले सेवा कार्यालय, भरतपुर चितवनको वेबसाइट Tmsochitwan.bagmati.gov.np मार्फत ई टोकन लिएर मात्र सवारी चालक अनुमतिपत्र नवीकरण गर्न सक्नेछन् । कागजी सवारीचालक अनुमतिपत्र भएका सेवाग्राहीले Edlrs–smart मा अद्यावधिक गर्नुपर्ने छ ।
एमाले अनुशासित र एकताबद्ध पार्टी : नेता थापा
भरतपुर, १० मङ्सिर ।नेकपा (एमाले) नेता तथा महाधिवेशन मूल व्यवस्थापन समितिका संयोजक रामबहादुर थापाले एमाले सबैभन्दा ठूलो, अनुशासित र एकताबद्ध पार्टी भएको बताउनुभएको छ । चितवनमा आजदेखि सुरु भएको एमालेको दसौँ महाधिवेशनमा आएका प्रतिनिधि तथा पाहुनालाई स्वागत गर्दै उहाँले पार्टी विधान महाधिवेशनले त्यसलाई पुष्टि गरेको बताउनुभयो ।
महाधिवेशनपछि जनताको बहुदलीय जनवाद ‘जबज’ सही छ भन्ने थप पुष्टि भएको नेता थापाको भनाइ थियो । उहाँले देशीविदेशी तत्वले नेकपालाई तीन टुक्रा पारेको आरोप लगाउनुभयो । नारायण नदी किनारामा एमाले अध्यक्ष केपी शर्मा ओलीले झण्डोत्तोलन गर्दै महाधिवेशनको उद्घाटन गर्नुभएको हो । उहाँले नेपालको झण्डा, नेकपा एमालेको चुनाव चिह्न सूर्य, कम्युनिष्टको हँसिया हथौडा अङ्कित झण्डालाई एकसाथ स्विचमार्फत झण्डोत्तोलन गर्नुभयो ।


