प्रदेश २ को स्वास्थ्य सेवासम्बन्धी ऐन प्रमाणीकरण
धनुषा, ११ मङ्सिर । प्रदेश २ को स्वास्थ्य सेवासम्बन्धी ऐन प्रमाणीकरण गरिएको छ । शुक्रबार प्रदेश २ का प्रमुख हिरशङ्कर मिश्रले उक्त ऐन प्रमाणीकरण गर्नुभएको हो ।अघिल्लो वर्ष चैत१७ गते प्रदेशसभा सचिवालयमा दर्ता भएको उक्त विधेयक २६ असोजमा २०७८ मा पारित भएको थियो । प्रमाणिकरण भएको ऐनमा प्रदेशको स्वास्थ्य सेवा प्रभावकारी बनाउन तथा जनस्वास्थ्यका विषयलाई नीति तथा कार्यक्रममा समावेश गराउन प्रदेश स्वास्थ्य समिति गठन गर्ने व्यवस्था छ ।समितिको अध्यक्षमा सामाजिक विकासमन्त्री, सोही मन्त्रालयका सचिव, स्वास्थ्य निर्देशनालय र नीति आयोगबाट एक÷एक जना सदस्य, उपभोक्ता हित संरक्षण तथा स्वास्थ्य क्षेत्रका विज्ञमध्येबाट अध्यक्षले मनोनीत गर्ने कम्तीमा दुई महिलासहित चार सदस्य, प्रदेशभित्रका अस्पतालका मेडिकल सुपरिटेन्डेन्टमध्येबाट अध्यक्षले मनोनीत गर्ने एक सदस्य, प्रशासन तथा योजना महाशाखाका प्रमुखलगायत सदस्य रहने ऐनमा व्यवस्था छ ।
ऐनमा प्रत्येक सामुदायिक विद्यालयका किशोरकिशोरीलाई प्रजनन स्वास्थ्यसम्बन्धी सेवासहित अन्य स्वास्थ्यसम्बन्धी सेवा, शिक्षा दिन नर्सको व्यवस्था गर्नुपर्ने तर निजी विद्यालयको हकमा भने स्वास्थ्य सेवा ऐन लागू भएको एक वर्षभित्र प्रत्येक विद्यालय अनमी वा स्टाफ नर्स राख्नुपर्ने अनिवार्य व्यवस्था छ । एक वर्षभित्र निजी विद्यालयले विद्यालयमा स्टाफ नर्स वा अनमी नराखे त्यस्ता विद्यालयको लाइसेन्स नै खारेज गरिने व्यहोरा पनि उल्लेख छ ।
दिवा खाजा कार्यक्रमलाई प्रभावकारी बनाइने
वीरगञ्ज, ११ मङ्सिर । पर्साको धोबिनी गाउँपालिकाले सामुदायिक विद्यालयमा सञ्चालन गर्दै आएको दिवा खाजा कार्यक्रमलाई प्रभावकारी बनाउन थालिएको छ । विभिन्न सामुदायिक विद्यालयमा वास्तविक विद्यार्थी सङ्ख्याभन्दा बढी विद्यार्थी सङ्ख्या देखाएर खाजा खर्चबापतको रकम माग गर्ने प्रवृत्तिलाई निरुत्साही गर्न उक्त कार्यक्रमलाई थप प्रभावकारी बनाउन थालिएको प्रमुख प्रशासकीय अधिकृत राजु साहले जानकारी दिनुभयो । सामुदायिक विद्यालयमा अध्ययन गर्ने वास्तविक विद्यार्थी सङ्ख्याका आधारमा दिवा खाजा खर्चबापत रकम निकासी गरिने छ । यसअगावै वास्तविक विद्यार्थी सङ्ख्याभन्दा बढी विद्यार्थी सङ्ख्या देखाएर खाजा खर्चबापतको रकम माग गर्ने प्रवृत्ति थियो । गरिब, जेहेन्दार एवं दलित परिवारका बालबालिकाको विद्यालयसम्म पहुँच बढाउने अभिप्रायले सरकारले लागू गरेको दिवा खाजा कार्यक्रम प्रभावकारी बनाउन पालिकाले प्रयास थालेको हो ।
दिवा खाजाकै कारण विद्यालयमा विद्यार्थीको सङ्ख्या पनि बढेको प्रमुख प्रशासकीय अधिकृत साहले बताउनुभयो । दिवा खाजाको प्रभावकारितासम्बन्धी गाउँपालिकाभित्रका हरेक सामुदायिक विद्यालयमा अनुगमन गरिने उहाँको भनाइ थियो ।यसैबीच धोबिनी गाउँपालिकाभित्र सामुदायिक विद्यालयमा लामो समयदेखि रोकिएको दिवा खाजा कार्यक्रम पुनः सुरु गरेकोे छ । उक्त गाउँपालिकाले कात्तिक महिनामा दिवा खाजा बराबरको रकम निकासा गरेपछि यहाँस्थित १७ वटा सामुदायिक विद्यालयमा दिवा खाजा पुनः सुरु गरिएको गाउँपालिका अध्यक्ष सुरेशप्रसाद कुर्मीले बताउनुभयो ।
अव्यवस्थित जग्गाको नापजाँच सुरु
बाराको निजगढ नगरपालिकाले भूमिहीन तथा अव्यवस्थित जग्गाको नापजाँच सुरु गरेको छ । निजगढ नगरपालिका वडा नम्बर १, २ र ३ मा पर्ने भरतगञ्ज सिङ्गौलबाट भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित जग्गाको नापजाँच गर्ने कार्यको सुरुआत गरिएको हो । वर्षौंदेखि नगरमा समस्याको रुपमा रहँदै आएको सुकुम्बासी समस्या र अव्यवस्थित जग्गाको नापजाँच सुरु भएसँगै सुकुम्बासी समस्या समाधानका लागि पहल हुने नगरप्रमुख सुरेशकुमार खनालले जानकारी दिनुभयो । भरतगञ्ज सिङ्गौलबाट सुरु भएको नापजाँच कार्य नगरका अन्य वडामा पनि क्रमशः गर्दै लगिने जनाइएको छ । सुरुमा भरतगञ्ज सिङ्गौल, लाल, रतनपुर क्षेत्रमा अव्यवस्थित जग्गाको व्यवस्थापन कार्य सञ्चालन गरिएको नगरउपप्रमुख लिलादेवी लामिछानेले बताउनुभयो ।


