शिक्षामन्त्री पौडेल-एक वर्षमा माओवादी केन्द्र देशकै पहिलो र ठूलो पार्टी बन्ने
बलेवा, ११ मङ्सिर।नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य तथा नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले अबको एक वर्षमा माओवादी केन्द्र देशकै पहिलो र ठूलो पार्टी बन्ने बताउनुभएको छ । विगतका केही वर्षमा पार्टी आन्तरिक समस्यामा अल्झेको भन्दै पौडेलले पार्टीभित्रका समस्याको समीक्षा गरेर सङ्गठन बिस्तारमा लागेको बताउनुभयो । माओवादी केन्द्रले ल्याएको परिवर्तन र एजेण्डामा अरु पार्टीले रजाईं गरेको आरोप लगाउँदै पौडेलले माओवादीभित्र नयाँ जागरण आएको बताउनुभयो ।“नेकपा फुटाउनु बाध्यता थियो, मलाई त ठिकै भएछ जस्तो लागेको छ”, पौडेलले भन्नुभयो, “अहिले हेर्नुहोस् त हाम्रा साथीहरु देखिन थाले, सङ्गठित हुन थाले ।” समावेशी राज्य व्यवस्था पार्टीको एजेण्डा भए पनि पछिल्लो समय माओवादी सकियो भन्नेले नै त्यो एजेण्डा आफ्नो भएको सस्तो प्रचार गर्नेगरेको उहाँको आरोप थियो ।
माओवादी केन्द्र जैमिनी नगर कमिटीको पहिलो अधिवेशनको शनिबार कुश्मीशेरामा उद्घाटन गर्दै पौडेलले पार्टीमा नयाँ जागरण आएको बताउनुभयो । विचार मिल्नेसँग एकताको सम्भावना कायम रहेको भन्दै पौडेलले त्यसका लागि माओवादी केन्द्रले नेतृत्व गर्ने बताउनुभयो । देशमा आउने हरेक सङ्कटको समाधान माओवादी केन्द्रकै नेतृत्व र अध्यक्ष प्रचण्डको भूमिकाले समाधान हुने गरेका उदाहरण दिँदै पौडेलले शिक्षा क्षेत्रको विकास र परिवर्तनका लागि सधै काम गर्ने बताउनुभयो ।
स्याङ्जामा सुन्तला सुपरजोनको क्षेत्र विस्तार
वालिङ, ११ मङ्सिर ।स्याङ्जा जिल्लाको केही भेगमा सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ सुन्तला सुपरजोनको क्षेत्र विस्तार गरिएको छ ।
पुतलीबजार नगरपालिकाका आठ वडा, भिरकोट नगरपालिकाका छ वडा, अर्जुनचौपारी गाउँपालिकाका दुई वडा र वालिङ नगरपालिकाको एउटा वडामा कार्यक्षेत्र रहेको सुन्तला सुपरजोनको क्षेत्र विस्तार गरी जिल्लाभर बनाइएको कार्यालय प्रमुख माधव लम्सालले जानकारी दिनुभयो ।सुन्तला जोनबाट क्षेत्र विस्तार गर्दै सुपरजोन बनाइएको र अहिले सुपरजोनअन्तर्गत नै समग्र स्याङ्जा जिल्लाभर सुन्तलाखेती गर्ने समूह, सहकारी र निजी फर्मलाई पनि यसमा समावेश गरिएको उहाँले बताउनुभयो । यसअघि जिल्लाका १७ वडाका एक हजार ५०० हेक्टर क्षेत्रफलमा सुन्तला सुपरजोनको कार्यक्रम लागू भएकामा अहिले जिल्लाका सुन्तला उत्पादन हुने ठाउँ सबैलाई यसमा समेटिएको उहाँले बताउनुभयो ।
“विभिन्न पालिकाका १७ वटा वडामा एक हजार ५०० हेक्टर क्षेत्रफलमा सुन्तलाको बगैँचा रहेको थियो”, उहाँले भन्नुभयो, “अहिले क्षेत्र विस्तार गरेसँगै जिल्लाभरिमा दुई हजार हेक्टर क्षेत्रफल पुगेको छ ।” दश हेक्टरभन्दा बढी क्षेत्रफलमा सुन्तला उत्पादन गर्ने समूह, सहकारी तथा व्यक्तिलाई सुपरजोनमा आवेदन दिनका लागि सूचना जारी गरिएकामा मापदण्डभित्र परेकालाई सुपरजोनको कार्यक्षेत्रभित्र समेटिएको उहाँले बताउनुभयो ।“चालू आर्थिक वर्षको साउनमा किसानलाई सूचीकृत हुनका लागि कार्यालयबाट सूचना जारी ग¥यौँ”, उहाँले भन्नुभयो, “धेरैजसोले सूचीकृतका लागि आवेदन दिनुभयो ।
अझै पनि केही छुट्नु भएकाले उहाँहरुलाई पुनःसूचीकृत हुन भनेका छौँ र मापदण्डभित्र पर्ने सबैलाई समेटेर योजनाको कार्यान्वयन गर्छौं ।” स्याङ्जामा सूचीकृत हुनेको सङ्ख्या थप नहुँदाको अवस्थामा तीन हजार ३०० जना सुपरजोनमा आबद्ध थिए भने थप भए पनि पूर्ण तथ्याङ्क आइनसकेको उहाँको भनाइ छ । यस वर्ष स्याङ्जामा सुन्तला उत्पादनमा कमी हुने अुनमान कार्यालयको छ । गत वर्ष धेरै फलेकाले यस वर्ष बोटमा कम फल लागेको, लामो समयसम्म भएको वर्षा र औँसा किराको प्रकोपका कारण पाँच–सात प्रतिशतसम्म उत्पादन घट्नसक्ने अनुमान गरिएको छ । स्याङ्जामा गत वर्ष सुन्तला बिक्रीबाट रु ५५ करोड बढी आम्दानी भएको थियो ।


