झापा र काभ्रेका पालिकामा नेतृत्व सर्वसम्मत
झापा, १२ मङ्सिर ।झापाको तीनवटा पालिका मेचीनगर, कनकाई र झापामा नेकपा (माओवादी केन्द्र)को नेतृत्व चयन भएको छ । मेचीनगर र कनकाई नगर कमिटीको अध्यक्षमा राजन चिमरिया र यामनाथ सेढाईँ सर्वसम्मत चयन हुनुभएको छ भने झापा गाउँपालिकाको अध्यक्षमा रुद्र बजगाईँ चयन हुनुभएको छ । पार्टीले शनिबार देशैभर नगर तथा गाउँपालिकास्तरीय अधिवेशन आयोजना गरेको थियो । जिल्लाका १५ पालिकामध्ये दुई नगर र एक गाउँपालिकामा नयाँ नेतृत्व चयन भइसकेको र अरु पालिकामा अधिवेशन उद्घाटन भएता पनि नेतृत्व चयन हुन बाँकी रहेको पार्टीका जिल्ला सचिवालय सदस्य माधव अर्यालले जानकारी दिनुभयो ।
काभ्रेको अधिकांश पालिकामा नेतृत्व सर्वसम्मत
बनेपा– नेकपा (माओवादी केन्द्र)को शनिबार सम्पन्न पालिका सम्मेलनअन्तर्गत काभ्रेपलाञ्चोकका १३ वटै पालिका अन्तर्गत केहीमा सर्वसम्मत नयाँ नेतृत्व चयन गरिएका छन् । केही पालिकाको भने नेतृत्व चयनका क्रममा बन्दसत्र जारी छ । महाभारत गाउँपालिकामा कान्छालाल जिम्बाका अध्यक्षतामा ५५, खानखोला गाउँपालिकामा अविरल जिम्बाको नेतृत्वमा ५१ ,कोसीपारिस्थित भुम्लु गाउँपालिकामा प्रेम बहादुर भुजेल(बृहत)को अध्यक्षतामा ५०, रोशी गाउँपालिका डिल्लीप्रसाद रेग्मीको अध्यक्षतामा ५५ सदस्यीय र बेथानचोक गाउँपालिकामा तारा राना तिमल्सिनाको अध्यक्षमा ५० सदस्यीय नयाँ कमिटी चयन गरिएको छ ।
यसैगरी मण्डनदेउपुर नगरपालिकामा निरञ्जन विष्ट (दीप)को अध्यक्षतामा ६५ ,पाँचखाल नगरपालिका कमिटीमा चेतप्रसाद गौतम (मणि)को अध्यक्षतामा ६१ ,नमोबुद्ध नगरपालिका मिन्टु लामाको अध्यक्षतामा ६५ सदस्यीय कमिटी पनि चयन गरिएको छ । यसैगरी तेमाल गाउँपालिकामा कमिटी चयन गर्न बाँकी छ । आज बस्ने छलफलले पदाधिकारी टुङ्ग्याउने जनाइएको छ । धुलिखेल नगर कमिटीले पनि सम्मेलनको बन्दसत्रबाट ६५ जनाको कमिटी चयन गर्न बाँकी छ ।कोसीपारिस्थित चौरीदेउराली गाउँपालिकाको आज बन्दसत्र सुरु हुने जनाइएको छ । बनेपा नगर कमिटीको शनिबार उद्घाटन सत्र सम्पन्न गरी बन्दसत्र स्थगन भएको पार्टीले जनाएको छ भने पनौती नगर कमिटीको उद्घाटन सम्पन्न भएपछि आज बन्द सत्र सुरु भएको छ ।
विद्यालय चलाउन अदुवाखेती
रोल्पा, १२ मङ्सिर ।विद्यालय चलाउन अदुवाखेती गरेको यहाँ एक सामुदायिक विद्यालयले उत्पादित अदुवा बिक्री गर्न थालेको छ । रोल्पा नगरपालिका–२ देउरालीमा रहेको सरस्वती आधारभूत विद्यालयले विद्यालय परिसरमा उत्पादित अदुवा बिक्री वितरण गर्न थालेको हो ।“अर्थाभावका कारण विद्यालय सञ्चालनमा समस्या देखिएपछि अघिल्लो वर्ष रोपिएको अदुवो बिक्री वितरण गर्दै हिँडेका छौँ ।” विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगबहादुर वलीले भन्नुभयो । उहाँका अनुसार उत्पादित अदुवामध्ये आधा कोसेलीको रूपमा वितरण र आधा बजारमा बिक्री गरिने जनाइएको छ ।
“ यस वर्ष १० क्विन्टल अदुवा उत्पादन हुने अनुमान गरेका छौँ”, विद्यालयका शिक्षक होमबहादुर खड्काले भन्नुभयो “उत्पादितमध्ये पाँच क्विन्टल निकालिसकेका छौँ, अरु निकाल्न बाँकी छ । ” विद्यालयले उत्पादित अदुवा सदरमुकाम लिवाङमा रहेका शिक्षण संस्था, अन्य सरकारी तथा गैरसरकारी कार्यालय र व्यापारीलाई कोसेलीस्वरुप विवतरण गरिरहेको जनाएको छ । विद्यालय आफैँले अदुवा उत्पादन गरेको प्रचारप्रसार गर्न र आर्थिक सहयोग सङ्कलन गर्न कोसेलीस्वरुप वितरण गर्दै हिँडेको शिक्षक खड्काको भनाइ छ ।कोशेली वितरणपछि बचेको अदुवा बजारमा बिक्री वितरण गर्ने योजना बनाएको विद्यालयले स्थायी आयस्रोतको रूपमा अदुवाखेती गरेको जनाएको छ । निजी स्रोतमा काम गर्ने शिक्षकहरुको तलब व्यवस्थापनमा समस्या परेपछि विद्यालयले यस्तो योजना अघि बढाएको हो।


