डा बाबुराम भट्टराई-देशलाई निकास दिन वैकल्पिक शक्ति आवश्यक छ
रुपन्देही, १२ मङ्सिर ।जनता समाजवादी पार्टी नेपालका सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले राष्ट्रिय एकता कायम गरी मुलुकलाई दिगो शान्ति र रुपान्तरणको दिशामा अघि बढाउन आवश्यक रहेको बताउनुभएको छ ।जनता समाजवादी पार्टी रुपन्देहीले आज बुटवलमा आयोजित पत्रकार भेटघाटमा उहाँले देशको समृद्धि र जनताको जीवन परिवर्तनका लागि वैकल्पिक शक्ति निर्माण गर्नु अहिलेको आवश्यकता रहेको बताउँदै केन्द्रीय समाजवादी शक्ति निर्माण गर्न सकेमात्रै देशले निकास पाउनेमा जोड दिनुभयो ।मुलुकमा आर्थिक, सामाजिक र सांस्कृति परिवर्तन हुन नसक्दा जनतामा निराशा र अन्योल छाएको उल्लेख गर्दै उहाँले राजनीतिक शक्तिबीचमा नयाँ ढङ्गले एकता कायम गरी अगाडि बढुनु नै उत्तम विकल्प हुने भनाइ राख्नुभयो ।
“सामान्य लोकतान्त्रिक मूल्य, मान्यता स्खलित हुँदैछन्, सत्ता स्वार्थलाई केन्द्रमा राखेर राजनीति गर्ने काम भयो । यसरी देशले निकास पाउँदैन । अदालतमा देखिएको सङ्कट यसैको उदाहरण हो”, अध्यक्ष भट्टराईले भन्नुभयो । पुराना राजनीतिक शक्तिले आफ्ना डम्फु बजाउँदै हावाको बाल्कोनीमा बसेको टिप्पणी गर्दै उहाँले पुराना राजनीतिक शक्तिले नै जनतालाई वैचारिक भ्रम छर्ने काम गरेको बताउनुभयो ।अध्यक्ष भट्टराईले महान् क्रन्तिबाट आएका नेताहरूले नै बाटो बिराउँदा देश गलत दिशामा अघि बढेको जनाउँदै एकता र सार्वभौमसत्ता रक्षाका लागि नयाँ समाजवादको मोडल आवश्यक रहेकामा जोड दिनुभयो ।
“कांग्रेस जतिपटक सत्तामा पुगे पनि परिवर्तनको अपेक्षा गर्न सकिँदैन, मुलुक परिवर्तनका लागि अग्रगामी शक्ति आवश्यक छ”, उहाँले भन्नुभयो । पार्टीका वरिष्ठ नेता अशोक राईले जनताको जीवनस्तर परिवर्तनका लागि पार्टीले चार महिने सङ्गठन सुदृढीकरण अभियान सञ्चालन गरेको बताउनुभयो । जनवर्गीय सङ्गठन विस्तार र विभिन्न धारबाट आएका समूहका अलग बुझाइ चिर्न र जनता जागरुक गर्न अभियान थालिएको उहाँको भनाइ छ । मङ्सिरसम्म सञ्चालन हुने अभियानमा जनताका माझमा आफ्ना विचार प्रस्तुत गर्ने र जनताका विचार बुझ्ने काम भइरहेको नेता राईले बताउनुभयो ।
विद्यालय चलाउन अदुवाखेती
रोल्पा, १२ मङ्सिर । विद्यालय चलाउन अदुवाखेती गरेको यहाँ एक सामुदायिक विद्यालयले उत्पादित अदुवा बिक्री गर्न थालेको छ । रोल्पा नगरपालिका–२ देउरालीमा रहेको सरस्वती आधारभूत विद्यालयले विद्यालय परिसरमा उत्पादित अदुवा बिक्री वितरण गर्न थालेको हो ।
“अर्थाभावका कारण विद्यालय सञ्चालनमा समस्या देखिएपछि अघिल्लो वर्ष रोपिएको अदुवो बिक्री वितरण गर्दै हिँडेका छौँ ।” विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगबहादुर वलीले भन्नुभयो । उहाँका अनुसार उत्पादित अदुवामध्ये आधा कोसेलीको रूपमा वितरण र आधा बजारमा बिक्री गरिने जनाइएको छ । “ यस वर्ष १० क्विन्टल अदुवा उत्पादन हुने अनुमान गरेका छौँ”, विद्यालयका शिक्षक होमबहादुर खड्काले भन्नुभयो “उत्पादितमध्ये पाँच क्विन्टल निकालिसकेका छौँ, अरु निकाल्न बाँकी छ । ”
विद्यालयले उत्पादित अदुवा सदरमुकाम लिवाङमा रहेका शिक्षण संस्था, अन्य सरकारी तथा गैरसरकारी कार्यालय र व्यापारीलाई कोसेलीस्वरुप विवतरण गरिरहेको जनाएको छ । विद्यालय आफैँले अदुवा उत्पादन गरेको प्रचारप्रसार गर्न र आर्थिक सहयोग सङ्कलन गर्न कोसेलीस्वरुप वितरण गर्दै हिँडेको शिक्षक खड्काको भनाइ छ।कोशेली वितरणपछि बचेको अदुवा बजारमा बिक्री वितरण गर्ने योजना बनाएको विद्यालयले स्थायी आयस्रोतको रूपमा अदुवाखेती गरेको जनाएको छ । निजी स्रोतमा काम गर्ने शिक्षकहरुको तलब व्यवस्थापनमा समस्या परेपछि विद्यालयले यस्तो योजना अघि बढाएको हो।


