सभामुख अग्निप्रसाद सापकोटा-असंलग्न आन्दोलनको सान्दर्भिकता आज पनि उत्तिकै

काठमाडौँ, १३ मङ्सिर । सभामुख अग्निप्रसाद सापकोटाले विश्वमा विश्व शान्तिका लागि खतरा, घरेलु मामिलामा हस्तक्षेप, असमानता र अनुचित व्यवहार कायमै रहेको देखिएकाले असंलग्न आन्दोलनको सान्दर्भिकता आज पनि उत्तिकै रहेको बताउनुभएको छ । स्पेनको म्याड्रिडमा असंलग्न मुलुकको सङ्गठन (नाम) को बैठकलाई आज सम्बोधन गर्दै उहाँले संयुक्त राष्ट्रसङ्घको बडापत्रका सिद्धान्तलाई कायम राख्नुपर्नेमा जोड दिनुभयो । सभामुख सापकोटाले राष्ट्रिय स्वतन्त्रतालाई समर्थन गर्दै कुनै पनि देशको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको संरक्षणका लागि पनि विश्वमा असंलग्न आन्दोलनको आवश्यकता रहेको बताउनुुभयो ।“विश्वका विकासशील देश निरन्तररुपमा आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा समानताको मैदानबाट वञ्चित छन्”, उहाँले भन्नुभयो, “ती चुनौती रहँदासम्म असंलग्न आन्दोलनका सदस्य राष्ट्रले शान्ति, न्याय र विकासका लागि आवाज उठाइरहनुपर्छ ।”

सकारात्मक नतिजाका लागि हाम्रो संसद्ले त्यसतर्फको राष्ट्रिय प्रयासलाई सहयोग र प्रोत्साहन जारी राख्ने उल्लेख गर्दै सभामुख सापकोटाले संसदीय ऐक्यबद्धता र अनुभवको आदानप्रदानले असंलग्न आन्दोलनका सिद्धान्त र आदर्शलाई सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो ।“नेपालमा असंलग्नता हाम्रो परराष्ट्र नीतिको आधारभूत पक्ष हो । शान्तिपूर्ण सहअस्तित्वका पञ्चशीलका सिद्धान्त, नेपालका अमरपुत्र बुद्धको शिक्षामा आधारित छन्”, उहाँले भन्नुभयो, “नेपालको सङ्घीय संसद् लोकतान्त्रिक मूल्य र मान्यताको संरक्षक हो ।”जनताले आफ्नो अधिकारको रक्षा र विकासको उपभोगका लागि संसद्बाट आशा गरेकोे स्पष्ट पार्दै सभामुख सापकोटाले नेपालको संसद् समझदारी तथा सहयोग अभिवृद्धि गर्न र हाम्रो समयका ज्वलन्त मुद्दालाई सम्बोधन गर्न प्रतिबद्ध छ भन्नुभयोे । आइतबार स्पेनको म्याड्रिडमा जारी अन्तर व्यवस्थापिका सङ्घ आइपियुको १४३औँ सभालाई सम्बोधन गर्दै उहाँले शासनको सबैभन्दा मनपर्ने स्वरूपका रूपमा प्रचलित भए पनि लोकतन्त्र चुनौतीरहित भने नरहेको बताउनुभयो ।
आइपियु सम्मेलनमा सहभागी हुन यही मङ्सिर ८ गते स्पेन प्रस्थान गर्नुभएका सभामुख सापकोटा नेतृत्वको प्रतिनिधिमण्डल यही मङ्सिर १६ गते स्वदेश फर्कने कार्यक्रम छ ।

वरिष्ठ उपाध्यक्ष र महासचिवमा पोखरेलद्वय निर्विरोध निर्वाचित
सौराहा, १३ मङ्सिर ।नेकपा (एमाले) को जारी दशौँ राष्ट्रिय महाधिवेशनमा आज बिहान भएको मनोनयनमा वरिष्ठ उपाध्ययक्षमा ईश्वर पोखरेल र महासचिवमा शङ्कर पोखरेललगायत नेता निर्विरोध निर्वाचित हुनुभएको छ ।पार्टीको केन्द्रीय निर्वाचन आयोगले तय गरेको कार्यतालिकाअनुसार उम्मेदवारी मनोनयनको समय सकिएपछि उहाँहरु निर्विरोध हुनुभएको हो । यस्तै उपमहासचिवमा प्रदीपकमार ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल निर्विरोध हुनुभएको छ । अध्यक्षमा भने केपी शर्मा ओली र डा भीम रावलको उम्मेदवारी परेको छ । बन्दसत्रमा आइतबार अध्यक्ष ओलीबाट प्रस्ताव गरिएका उम्मेदवारविरुद्ध उपाध्यक्षमा घनश्याम भुसाल र सचिवमा भीम आचार्य तथा टङ्क कार्कीले उम्मेदवारी दिनुभएको हो ।

केन्द्रीय सदस्यमा पनि सहमतिको प्रस्तावका अतिरिक्त केही क्षेत्रका सदस्यमा उम्मेदवारी परेको र ती नामावालीको छानविन तथा दाबी विरोधको प्रक्रिया पूरा भएपछि आन्तिम नामावली प्रकाशन गरिने आयोगका अध्यक्ष डा विजय सुब्बाले जानकारी दिनुभयो । उहाँले विद्युतीय भोटिङ मेसिनमा डाटा इन्ट्री गर्न कम्तीमा १२ घण्टा लाग्ने भएकाले मतदान आज रातिसम्ममा सुरु हुनसक्ने बताउनुभयो । हलमा सहमतिका लागि अध्यक्ष ओलीले उम्मेदवारको नाम प्रस्ताव गरे पनि निर्वाचन प्रयोजनका लागि प्रक्रिया गर्नैपर्ने उहाँले जनाउनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।