धानबालीमा क्ष,ति व्यहोरेका बाँकेका किसान राहतका पर्खाइमा
राँझा, १४ मङ्सिर ।कात्तिक पहिलो साता परेको बेमौसमी वर्षात्ले धानबालीमा क्ष,ति व्यहोरेका बाँकेका किसान राहतका पर्खाइमा बसेका छन् । उनीहरुले परालसमेत काम नलाग्ने भएपछि अहिले खेतमै जलाईदिएका छन् । पानीले डुबाएर धानसँगै परालसमेत गाईवस्तुले खान नमिल्ने अवस्थाको भएपछि खेतमै जलाइदिएको जानकी गाउँपालिका–५ बेलहरीका किसान रमेश बर्माले जानकारीदिनुभयो । उहाँका अनुसार कुहिएको पराल घरमा ल्याउने कष्ट नगरी खेतमै जलाइदिएपछि मल हुन्छ भन्ने बुझाइमा धेरै किसानले खेतमै परालमा आगो लगाएका छन् । बेमौसमी वर्षात्का कारण धानबालीमा क्षति भएका कारण राहतका लागि क्ष,तिको विवरण वडा कार्यालय हुँदै गाउँपालिका कार्यालय कृषि शाखामा किसानले बुझाएका छन् । तर अहिलेसम्म राहत नपाउँदा किसान निरास हुँदै गएका छन् ।
गत कात्तिक पहिलो साता केही दिनको लगातार पानीले काटेको र काट्न ठिक्क परेको धानमा ठूलो क्ष,ति पु¥याएको थियो । किसानको वर्षभरि खाने धानबाली नष्ट हुँदा सरकारले उनीहरुलाई उचित क्षतिपूर्तिका लागि अहिलेसम्म खासै केही गर्न नसकेको खजुराका किसान गेहेन्द्र धितालले जानकारीदिनुभयो । सरकारले किसानलाई राहतका लागि मापदण्ड बनाएर प्रक्रिया अघि बढाएको सुनिए पनि अहिलेसम्म पीडित किसानले केही नपाएको उहाँको भनाइ छ । बेमौसमी वर्षाले जिल्लामा २० हेक्टरमा लगाएको ८५ हजार मेट्रिक टन बढी धानमा क्षति पुगेको जिल्ला कृषि ज्ञान केन्द्रका प्रमुख सागर ढकालले जानकारी दिनुभयो ।
उहाँका अनुसार पीडित किसानलाई राहतका लागि अहिलेसम्म कागजात मिलाउने काम भइरहेको छ । जिल्लामा ३६ हजार ५०० हेक्टरमा धानखेती हुने गर्दछ । योे तथ्याङ्क हेर्दा आधा बढी धानबालीमा क्षति पुगेको छ । यो क्षति रु एक अर्ब ९७ करोड बराबर हुन्छ । यस वर्ष समयमा पानी परेको र सिक्टा नहरबाट पनि पानी छोडिएकाले बाँकेमा राम्रो धान फलेको थियो । धानबालीमा आत्मनिर्भर रहेका जिल्लामा कात्तिकको पहिलो साता परेको अविरल वर्षाले ठूलो नोक्सानी पु¥याएको छ । कृषि ज्ञान केन्द्रले धानको क्षति एकिन गरे पनि परालको क्षति सङ्कलन नै गरेको छैन ।
हुम्लामा हेलिकोप्टरमा खाद्यान्न ढुवानी
सिमकोट, १४ मङ्सिर । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीमा ७८ क्विन्टल खाद्यान्न ढुवानी गरिएको छ । नेपाली सेनाको हेलिकोप्टरबाट खाद्यान्न अभाव भएको लिमीमा सोमबारदेखि खाद्यान्न ढुवानी थालिएको हो । प्रमुख जिल्ला अधिकारी गणेश आर्चायका अनुसार चीनसँग जोडिएको हिल्सा नाका दुई वर्षदेखि बन्द रहनुका साथै लिमीका लागि खाद्यान्न ढुवानी नभएपछि यहाँ भोकमारीको खतरा देखिएको थियो । हेलिकोप्टरमा सिमकोट र हिल्साबाट खाद्यान्न लिमी पु¥याइएको हो ।
लिमीका लागि ५०२ क्विन्टल खाद्यान्न ढुवानी गरिने बताइएको छ । पुनः आज सिमकोट र हिल्साको खाद्यान्न ढुवानी गरिने प्रजिअ आचार्यले जानकारी दिनुभयो । लिमी, हल्जी, तील, जाङ र हल्जीमा ढुवानी गरिएको खाद्यान्न वितरण गरिने वडाध्यक्ष पाल्जोर तामाङले बताउनुभयो । खाद्यान्न अभाव भएपछि स्थानीय प्रशासनलाई गुहार्न लिमीबाट २७ सदस्यीय टोली सिमकोट आइपुगेको थियो । खाद्यान्न ढुवानीका लागि पहल गर्न सङ्घीय सांसद् रङ्गमती शाही लिमी पुग्नुभएको थियो ।


