सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ, १५ मङ्सिर । आज छापावाल सुनको मूल्य प्रतितोला रु ४०० ले घटेर रु ९१ हजार ५०० कायम भएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९१ हजार ९००मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९१ हजार तोकिएको छ । त्यसको मूल्य मङ्गलबार प्रतितोला रु ९१ हजार ४०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले घटेर रु एक हजार २०० तोकिएको महासङ्घले जनाएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७७९ डलर आसपास कारोबार भइरहेको छ ।

अध्यक्ष नै स्वयम्सेवक शिक्षक बनेपछि खुल्यो विद्यालय
पर्वत, १५ मङ्सिर ।गाउँघरका सामुदायिक विद्यालय विद्यार्थीको अभावमा धमाधम बन्द भइरहेका छन् । विद्यार्थीको अभावमा बन्द भएका विद्यालय नजिकको विद्यालयमा गाभिए पनि कतिपय विद्यालय भने अभिभावकको पहलमा विद्यार्थी जुटाएर फेरि सञ्चालनमा आउन थालेका छन् । फलेवास नगरपालिका–८ ठानामौलामा पाँच वर्षसम्म बन्द रहेको एक विद्यालय अहिले सञ्चालनमा आउन थालेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष स्वयम्सेवी शिक्षक बनेर पढाउन थालेपछि जनता आधारभूत विद्यालयले पुनर्जीवन पाएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्दप्रसाद तिमिल्सिनाले आफू स्वयम्सेवी शिक्षक बनेर पढाउने प्रस्तावसहित विद्यालय खोल्न आग्रह गरेर अभिभावकको सहमति लिएपछि विद्यालय सञ्चालन भएको छ । बन्द रहेको विद्यालय यस वर्षको लकडाउनपछि गत भदौ ३० गतेदेखि सुरु भएको हो । विद्यालयमा अहिले २२ विद्यार्थी भर्ना भइसकेका छन् । लिमिठाना गाविसका पूर्वाध्यक्षसमेत रहेका तिमिल्सिना शिक्षण सेवाबाट अनिवार्य अवकाश भएपछि विद्यालय सञ्चालन गर्न जुट्नु भएको थियो । कक्षा १ देखि ५ सम्मका विद्यार्थी घण्टौँको यात्रा गर्दै अन्यत्रका विद्यालयमा गए पनि बाल कक्षाका विद्यार्थीलाई भने त्यो सम्भावना नहुने भएकाले बाल कक्षा भने सोही विद्यालयमा चल्दै आएको थियो ।

बाल विकास केन्द्रमा कार्यरत एक शिक्षक र एक कार्यालय सहयोगी मात्रै रहँदै आएको विद्यालयमा यतिखेर २ कक्षासम्मको पढाइ भइरहेको छ । अहिले क्रमिक रुपमा विद्यार्थी बढ्दै गएका र अब क्रमशः कक्षा ५ सम्मै पठनपाठन गराउने योजनामा आफूहरु रहेको तिमिल्सिना बताउनुहुन्छ । “पहिलो पटकको प्रयासमा कुरा मिलेन, म पनि त्यत्तिकै बसेँ, विद्यालय सुरु गर्नैपर्छ भन्ने मेरो मनमा खसखस त छँदै थियो, फेरि दोस्रोपटक भेला बोलाएपछि गाउँलेले ल तपाईं नै अध्यक्ष भएर काम गर्ने भए हामी तयार छौँ भने”, उहाँले भन्नुभयो, “राजनीतिक रुपमा कसैले पनि हस्तक्षेप गर्ने, निहुँ खाज्ने गर्ने काम गर्ने हो भने म तयार छैन, मैले भनेको मान्ने हो भने म विद्यालय चलाउँछु भनेपछि सबैको सहमति भयो, अहिले २२ विद्यार्थी भर्ना गरिसकेको छु ।”

विद्यालय सञ्चालनमा आएपछि अभिभावक पनि खुसी छन् । गाउँको विद्यालयलाई सबैको साझा तथा बराबर दायित्व भएको विद्यालयका रुपमा चलाउने भनेपछि घण्टौँको दूरीमा बालबालिकालाई विद्यालय पठाउँदै आएका अभिभावकको मनमा खुसी मिलेको अच्युतराज पन्तले बताउनुभयो । नगरपालिकाको शिक्षा शाखाप्रमुख कृष्ण आचार्यले लामो समयसम्म बन्द रहेको विद्यालय सञ्चालनमा आउनु खुसीको कुरा भएको जनाउँदै अहिले सुरुमा एक शिक्षकको दरबन्दी व्यवस्थापन गर्ने काममा आफूहरु लागेको बताउनुभयो । विद्यालयले क्रमिक रुपमा कक्षा थप गर्दै जाने र विद्यार्थी सङ्ख्यासमेत बढाउने भनेका कारण त्यो भएमा पुनः दरबन्दी पनि थप गर्न सकिने उहाँको भनाइ छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।