बौदीकालीको सुन्तलाले बजार पाएन,कम्तीमा पनि ३० क्विन्टल सुन्तला कुहिने अवस्थामा

नवलपुर, १५ मङ्सिर।सहजरुपमा यातायातको पहुँच नपुग्दा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को पहाडी गाउँमा उत्पादन भएका सुन्तलाले बजार पाउन सकेको छैन । उत्पादित सुन्तला बजारसम्म पु¥याउन नसक्दा कृषकले आर्थिक क्षति बेहोर्न बाध्य छन् । जिल्लाको पहाडी गाउँपालिका बौदीकाली सुन्तलाको पकेट क्षेत्रका रुपमा छ । सडक सञ्जाल अभावकै कारण बौदीकाली–५ को बबक गाउँमा उत्पादन भएको सुन्तला बजार क्षेत्रसम्म पु¥याउन नसक्दा कृषकलाई आर्थिक क्षति पुगेको हो । उक्त गाउँमा उत्पादन भएको कम्तीमा पनि ३० क्विन्टल सुन्तला कुहिने अवस्थामा पुगेको कृषकको गुनासो छ । सुगम जिल्लाका रुपमा रहेको सो भेगमा अझै सहज तरिकाले यातायाता पुग्न नसक्दा कृषक मर्कामा परेका हुन् । बबकका ६२ परिवारले व्यावसायिक सुन्तला खेती गर्दै आएका छन् । सुन्तला उत्पादन राम्रो भएको भए पनि यस वर्ष कृषकले समयमा बजार पु¥याउन नसक्दा उत्पादन भएका आधा सुन्तला खाडलमा पुरेको कृषकहरुले गुनासो गरेका छन् ।

बौदीकाली–५ का वडाध्यक्ष खिमबहादुर थापा खरुमगरले जिल्लाको मागभन्दा बढी सुन्तला उत्पादन हुने भए पनि यातायात असुविधाका कारण सुन्तला कुहिएर नष्ट हुने गरेको जानकारी दिनुभयो । “स्थानीयस्तरमा उत्पादन भएका सुन्तला कृषकहरुले आधाभन्दा बढी त डोकोमा बोकेर बजारसम्म पु¥याएर बेच्ने गरेका छन्,” खरुमगरले भन्नुभयो, “यातायात सहज भएको भए सबै सुन्तला बिक्री हुने थियो, तर यातायातको पहुँच नहुँदा उत्पादित सुन्तला बोटमै कुहिने अवस्था छ ।” किसानले मिहिनेत गरेर उत्पादन गर्ने सुन्तलाले बजार नपाउँदा उनीहरुमा आर्थिकसँगै मानसिक असरसमेत गर्ने गरेको वडाध्यक्ष खरुमगरले बताउनुभयो ।
कृषकहरुले बोकेर नै सुन्तला बजार पु¥याउने गरेको भए पनि बजारमा व्यापारीले उचित खरिद मूल्य नदिँदा थप मर्का परेको उहाँको भनाइ छ । “बाटोको कारण उत्पादित सुन्तला बजारसम्म पु¥याउन समस्या छ,” वडाध्यक्ष खरुमगरले भन्नुभयो, “बोकेरै बजार पु¥याएको सुन्तलाको पनि व्यापारीले उचित मूल्य दिँदैनन् भन्ने किसानहरुको गुनासो छ ।” बजार मूल्यभन्दा निकै कममा व्यापारीलाई सुन्तला बिक्री गरेर कृषकहरु फर्किनुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो ।

अध्यक्ष नै स्वयम्सेवक शिक्षक बनेपछि खुल्यो विद्यालय
पर्वत, १५ मङ्सिर ।गाउँघरका सामुदायिक विद्यालय विद्यार्थीको अभावमा धमाधम बन्द भइरहेका छन् । विद्यार्थीको अभावमा बन्द भएका विद्यालय नजिकको विद्यालयमा गाभिए पनि कतिपय विद्यालय भने अभिभावकको पहलमा विद्यार्थी जुटाएर फेरि सञ्चालनमा आउन थालेका छन् । फलेवास नगरपालिका–८ ठानामौलामा पाँच वर्षसम्म बन्द रहेको एक विद्यालय अहिले सञ्चालनमा आउन थालेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष स्वयम्सेवी शिक्षक बनेर पढाउन थालेपछि जनता आधारभूत विद्यालयले पुनर्जीवन पाएको हो ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्दप्रसाद तिमिल्सिनाले आफू स्वयम्सेवी शिक्षक बनेर पढाउने प्रस्तावसहित विद्यालय खोल्न आग्रह गरेर अभिभावकको सहमति लिएपछि विद्यालय सञ्चालन भएको छ । बन्द रहेको विद्यालय यस वर्षको लकडाउनपछि गत भदौ ३० गतेदेखि सुरु भएको हो । विद्यालयमा अहिले २२ विद्यार्थी भर्ना भइसकेका छन् ।

लिमिठाना गाविसका पूर्वाध्यक्षसमेत रहेका तिमिल्सिना शिक्षण सेवाबाट अनिवार्य अवकाश भएपछि विद्यालय सञ्चालन गर्न जुट्नु भएको थियो । कक्षा १ देखि ५ सम्मका विद्यार्थी घण्टौँको यात्रा गर्दै अन्यत्रका विद्यालयमा गए पनि बाल कक्षाका विद्यार्थीलाई भने त्यो सम्भावना नहुने भएकाले बाल कक्षा भने सोही विद्यालयमा चल्दै आएको थियो । बाल विकास केन्द्रमा कार्यरत एक शिक्षक र एक कार्यालय सहयोगी मात्रै रहँदै आएको विद्यालयमा यतिखेर २ कक्षासम्मको पढाइ भइरहेको छ । अहिले क्रमिक रुपमा विद्यार्थी बढ्दै गएका र अब क्रमशः कक्षा ५ सम्मै पठनपाठन गराउने योजनामा आफूहरु रहेको तिमिल्सिना बताउनुहुन्छ । “पहिलो पटकको प्रयासमा कुरा मिलेन, म पनि त्यत्तिकै बसेँ, विद्यालय सुरु गर्नैपर्छ भन्ने मेरो मनमा खसखस त छँदै थियो, फेरि दोस्रोपटक भेला बोलाएपछि गाउँलेले ल तपाईं नै अध्यक्ष भएर काम गर्ने भए हामी तयार छौँ भने”, उहाँले भन्नुभयो, “राजनीतिक रुपमा कसैले पनि हस्तक्षेप गर्ने, निहुँ खाज्ने गर्ने काम गर्ने हो भने म तयार छैन, मैले भनेको मान्ने हो भने म विद्यालय चलाउँछु भनेपछि सबैको सहमति भयो, अहिले २२ विद्यार्थी भर्ना गरिसकेको छु ।”

विद्यालय सञ्चालनमा आएपछि अभिभावक पनि खुसी छन् । गाउँको विद्यालयलाई सबैको साझा तथा बराबर दायित्व भएको विद्यालयका रुपमा चलाउने भनेपछि घण्टौँको दूरीमा बालबालिकालाई विद्यालय पठाउँदै आएका अभिभावकको मनमा खुसी मिलेको अच्युतराज पन्तले बताउनुभयो । नगरपालिकाको शिक्षा शाखाप्रमुख कृष्ण आचार्यले लामो समयसम्म बन्द रहेको विद्यालय सञ्चालनमा आउनु खुसीको कुरा भएको जनाउँदै अहिले सुरुमा एक शिक्षकको दरबन्दी व्यवस्थापन गर्ने काममा आफूहरु लागेको बताउनुभयो । विद्यालयले क्रमिक रुपमा कक्षा थप गर्दै जाने र विद्यार्थी सङ्ख्यासमेत बढाउने भनेका कारण त्यो भएमा पुनः दरबन्दी पनि थप गर्न सकिने उहाँको भनाइ छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।