व्यवस्थित बन्दै विमानस्थल
काठमाडौँ, १५ मङ्सिर ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवनदेखि गोल्डेन गेटसम निःशुल्क सटल बससेवा सुरु गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले वैदेशिक रोजगारमा जाने श्रमिकका लागि अन्तर्राष्ट्रिय टर्मिनल भवनभित्र विश्रामकक्षको समेत व्यवस्था गरेको छ । सटल बस र विश्रामकक्षको संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेमबहादुर आलेले आज शुभारम्भ गर्नुभयो । टर्मिनल भवनदेखि नै ट्याक्सी प्रयोग गर्दा महँगो भाडा तिर्नुपर्ने यात्रुको गुनासोलाई मध्येनजर गर्दै प्राधिकरणले गोल्डेन गेटसम्म तत्कालका लागि तीन वटा निःशुल्क सटल बसको व्यवस्था गरेको हो ।
सो सटल बस बिहान ६ बजेदेखि राति ११ बजेसम्म सञ्चालन हुनेछन् । त्यसैगरी वैदेशिक रोजगारीमा जाने यात्रु टर्मिनल भवन बाहिरै उभिनुपर्ने समस्या देखिएपछि ४० यात्रु बस्न मिल्ने विश्रामकक्षको व्यवस्था गरिएको छ । सोही अवसरमा मन्त्री आलेले अन्तरिक टर्मिनलमा देखिएको यातायातको समस्याको दीर्घकालीन समाधानका लागि सरकारले सटल बसको व्यवस्था गरिएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “आन्तरिक टर्मिनल भवनदेखि नै ट्याक्सी प्रयोग दर्गा हवाई जहाजभन्दा बढी भाडा लिने गरेको पाइयो, त्यसको दीर्घकालीन समाधानका निम्ति सटल बसको व्यवस्था गरिएको छ, विमानस्थललाई अझै व्यवस्थित र सुविधा सम्पन्न बनाउन मेरो प्रयास जारी छ ।” उहाँले आफू सरकारमा रहुनञ्जेल आफ्नो मन्त्रालयसँग सम्बन्धित क्षेत्रमा देखिएका विकृतिलाई हटाउँदै जनताको पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले वैदेशिक रोजगारीमा जाने र उताबाट फर्किने यात्रुका लागि छिट्टै निःशुल्क टेलिफोन सेवाको व्यवस्था गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । प्राधिकरणले वैदेशिक रोजगारीमा जाने यात्रुका लागि रु एक हजार २०० मा पिसिआर परीक्षण गर्न सकिने व्यवस्था गरेको उहाँको भनाइ छ । विमानस्थल सञ्चालन विभाग प्रमुख प्रेमनाथ ठाकुरले विश्राम कक्षलाई अझै व्यवस्थित गर्दै नयाँ भवनमा थप २५० जना बस्न मिल्ने यात्रु विश्रामकक्षको व्यवस्था गर्ने बताउनुभयो ।
कांग्रेस चितवनको अधिवेशन अन्योलमा
चितवन, १५ मङ्सिर । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत चितवन जिल्लाको अधिवेशन अन्योलमा परेको छ । नेपाली कांग्रेस चितवनका निर्वाचन अधिकृत कमलमोहन पोख्रेलले राजीनामा दिएसँगै अधिवेशन अन्योलमा परेको हो । कांग्रेस चितवनको अधिवेशन सम्पन्न गर्ने जिम्मेवारी पाउनुभएका पोख्रेलले निर्वाचन अधिकृतबाट राजीनामा दिएसँगै निर्वाचन कहिले हुने टुङ्गो लाग्न सकेको छैन । पोख्रेलले स्वास्थ्य अवस्था प्रतिकूल रहेको भन्दै केन्द्रिय निर्वाचन समितिलाई राजीनामापत्र बुझाउनुभएको छ ।कांग्रेसको वडा, पालिका, प्रदेशसभा, प्रतिनिधिसभा क्षेत्रको निर्वाचन सम्पन्न भइसकेको अवस्थामा पोख्रेलले राजिनामा दिएसँगै जिल्लाको अधिवेशनमा अन्योलता छाएको हो ।
राजीनामा गर्नुअघि निर्वाचन समितिले आज मनोनयन दर्ता र १९ गते मतदान गर्न केन्द्रिय निर्वाचन समितिलाई सिफारिस गरेको थियो । कार्यतालिका अनुसार कामअघि बढ्नुपर्ने समयमा निर्वाचन अधिकृतको राजीनामाले अन्योल छाएको नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले बताउनुभयो । एक विज्ञप्ति जारी गर्दै उहाँले अचानक निर्वाचन अधिकृत पोख्रेलको राजीनामा आउनुले अचम्मित् र ग,म्भीर बनाएको बताउनुभयो


