सुदूरपश्चिमका नाकामा कडाइ
बैतडी, १६ मङ्सिर । दक्षिण अफ्रिकालगायत विभिन्न देशमा फैलिएको कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को खतरा बढेकाले सुदूरपश्चिम प्रदेशमा पनि उच्च सतर्कता अपनाइएको छ । भारतसँग सीमा जोडिएको नाकामा कडाइ गर्न थालिएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले जनाएको छ । भारतमा ओमिक्रोनको सङ्क्रमण फैलिए सबैभन्दा बढी जोखिममा सुदूरपश्चिम पर्ने भएकाले सीमा नाकामा कडाइका साथ स्वास्थ्य जाँच गर्न थालिएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीले बताउनुभयो ।
सुदूरपश्चिमका भारतसँग सीमा जोडिएका मुख्य नाका गड्डाचौकी, त्रिनगर, झुलाघाट, पुलघाटलगायत नाकामा उच्च सतर्कता अपनाइएको हो । यी नाकाबाट आवागमन बढी हुने गरेको छ । “आवागमन निर्वाध भइरहेकाले उक्त भेरियन्ट नेपालमा पनि फैलिन समय लाग्दैन ।” उहाँले भन्नुभयो, “ओमिक्रोन फैलन नदिन सीमानाकामा कोरोना परीक्षण गर्ने र नाकामै खोप लगाउने व्यवस्था गरिएको छ ।”
पहिलो चरणको कोरोना सङ्क्रमण फैलिँदा परीक्षणको दायरा बढाइएको र दोस्रो चरणमा अक्सिजन आपूर्ति गरिएकाले अब यो नया भेरियन्टले कस्तो रुप लिन्छ त्यहीअनुसार थप तयारी गरिने उहाँको भनाइ थियो । डा। अवस्थीले बताउनुभयो, “सङ्घीय स्वास्थ्य मन्त्रालयको कस्तो निर्देशन आउँछ त्यसपछि थप तयारी गर्छौँ।” सुदूरपश्चिममा पूर्णरुपमा खोप लगाउने कार्यसमेत सम्पन्न नभएका कारण झनै सङ्क्रमण फैलिने खतरा बढेको बताइन्छ । स्वास्थ्य सुरक्षाका मापदण्ड पनि पूरा गर्न बेवास्ता भइरहेका बेला ओमिक्रोनको सङ्क्रमण फैलिए नियन्त्रण गर्न थप समस्या हुुने भएको छ । उहाँले भन्नुभयो, “हामीले प्रदेशभरिका १८ वर्षमाथिका सबै नागरिकलाई मङ्सिरभित्र पूर्ण लगाइसक्छौँ, सोहीअनुसार सुदूरपश्चिमलाई पूर्ण खोपयुक्त प्रदेश घोषणा गर्छौं ।”
सरकारकातर्फबाट खोप आपूर्तिमा कमी नभएकाले सबैलाई पूर्ण खोप लगाउनसमेत आग्रह गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारले सबैलाई मास्क अनिवार्य लगाउन, सामाजिक दूरी कायम गर्न र साबुन वा स्यानिटाइजरको अनिवार्य प्रयोग गर्न नागरिकलाई आग्रहसमेत गरेको छ ।राजनीतिक दल तथा सरकारका उच्च ओहोदामा बसेका व्यक्तिबाटै स्वास्थ्य मापदण्डका नियमको उल्लङ्घन हुँदा सर्वसाधारण नागरिकलाई नियम पालना गराउन समस्या हुने गरेकाले सबैले मापदण्ड पालना गर्नुपर्नेमा जोड दिइएको छ । ओमिक्रोन फैलिहाले पनि सघन उपचार कक्ष, भेन्टिलेटर, अक्सिजन प्लान्टलगायत आवश्यक उपकरण जडान भएकाले पहिलाको जस्तो समस्या नहुने स्वास्थ्य निर्देशनालयले जनाएको छ । सुदूरपश्चिम प्रदेशमा हालसम्म ४८ हजार ३९ जनामा कोरोना पुष्टि हुँदा ६०९ जनाको मृ,त्यु भएको थियो । विश्वस्वास्थ्य सङ्गठनले कोभिड–१९ नयाँ भेरियन्ट ओमिक्रोन पत्ता लागेसँगै नेपाललाई उच्च सतर्कता अपनाउन सुझाव दिएको थियो ।
मन्दिरलाई बाजा सामग्री
झापा, १६ मङ्सिर । सनातन धर्म र संस्कृति संरक्षण गर्ने उद्देश्यले दैनिक भजनकीर्तन कार्यक्रम आयोजना गर्दै आएको विर्तामोडको मुक्ति चोकस्थित हनुमान मन्दिरलाई बाजा सामग्री प्रदान गरिएको छ । वडा कार्यालयबाट रु ४३ हजार मूल्य बराबरको हार्मोनियम र ढोलक मन्दिरलाई हस्तान्तरण गरेको वडाध्यक्ष अग्नि पाण्डेले बताउनुभयो । उहाँले मन्दिरमा दैनिकजसो ज्येष्ठ नागरिक भेला हुने र भजनकीर्तन गर्दै आएकाले सो सामग्री उपलब्ध गराएको बताउनुभयो ।
मन्दिरमा भजनकीर्तन मण्डली नै गठन गरेर ज्येष्ठ नागरिक दैनिक भजनकीर्तन गर्नुहुन्छ । “भगवान्को नाममा भजन गाउँदा मनलाई आनन्दित तुल्याउछ”, ७० वर्षीय नन्दाप्रसाद बाँस्तोलाले भन्नुभयो,“एकातिर दुःख,पीडा, बेदना सबै भुलिन्छ भने अर्कोतिर हाम्रो मौलिक संस्कार र संस्कृति पनि संरक्षण भइरहेको छ ।”पौराणिक कालदेखि नै हिन्दू समाजमा पूजाआजा, गर्नाका साथै धार्मिक तीर्थस्थलमा भजनकीर्तन गर्ने र नाच्ने प्रचलन रहेको साहित्य चौतारीका जिल्ला अध्यक्ष देवीभक्त श्रेष्ठले बताउनुभयो ।


