प्रत्येक वडामा स्वास्थ्यसेवा केन्द्र सञ्चालन
भक्तपुर, १६ मङ्सिर ।भक्तपुर नगरपालिकाले आजदेखि नगरपालिका भित्रका सबै वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिका–१ नःपली सिर्जनानगरको आधारभूत स्वास्थ्य सेवा केन्द्र उद्घाटन गरी सबै वडाको केन्द्रको शुभारम्भ गर्नुभएको हो । प्रजापतिले भक्तपुर नगरपालिकाले शिशु स्याहारदेखि कलेज तहसम्मका शैक्षिक संस्था सञ्चालन गरी सस्तो र गुणस्तरीय शिक्षा प्रदान गर्ने देशकै एकमात्र स्थानीय तह रहेको दाबी गर्नुभयो । नगरपालिकाले सामुदायिक शिक्षण संस्था खोलेर हजारांै जनताका छोराछोरीलाई सस्तोमा उच्च शिक्षा अध्ययन गर्ने अवसर प्रदान गरेको उहाँले बताउनुभयो ।
भक्तपुर नगरपालिकाले ख्वप विश्वविद्यालय सञ्चालन गर्ने लक्ष्यका साथ अगाडि बढिरहेको उल्लेख गर्दै नगरवासीका लागि घरदैलो नर्सिङ सेवा पनि सुरु गर्ने योजना रहेको उहाँले बताउनुभयो । कार्यक्रममा भनपाका उपप्रमुख रजनी जोशीले यस नगरपालिकाले शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राख्दै विभिन्न शैक्षिक संस्था र स्वास्थ्य केन्द्र मात्र नभइ अहिले सुविधायुक्त ख्वप अस्पताल सञ्चालनमा रहेको चर्चा गर्नुभयो । सो अवसरमा सभापति एवं भक्तपुर नगरपालिका–१ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले नःपलीस्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रमा चिकित्सकसहितको मातृत्व, बालरोग, सर्ने तथा नसर्नेलगायतका स्वास्थ्य सेवा उपलब्ध हुने उल्लेख गर्दै स्वास्थ्य सेवाको भवन निर्माणमा श्रमदान गर्ने सबै स्थानीयवासीको सहयोग रहेको बताउनुभयो ।
कार्यक्रममा ख्वप अस्पतालका डा रत्नसुन्दर लासिवाले आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट बिहान ७ देखि दिउँसो २ बजेसम्म सेवा प्रदान गरिने बताउनुभयो । नःपली सिर्जनानगर आधारभूत स्वास्थ्य सेवा केन्द्र भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष सम्झना प्रेमी, नःपली सिर्जना सेवा समाजका अध्यक्ष राममणि पोखरेल र वडा सदस्य सूर्यप्रसाद श्रेष्ठले स्वास्थ्य सेवाले पु¥याउने योगदानकोबारेमा चर्चा गर्नुभयो । कार्यक्रममा नवनिर्मित स्वास्थ्य सेवा केन्द्र भवनको साँचो निर्माण उपभोक्ता समितिका अध्यक्ष सम्झना प्रेमीले नगर प्रमुख प्रजापतिलाई हस्तान्तरण गर्नुभयो भने प्रजापतिले सोही साँचो र स्वास्थ्य सामग्री सेवा केन्द्रका डा विभेद न्यौपानेलाई हस्तान्तरण गर्नुभयो ।
सहरमा माग बढेपनि गाउँमा कोदोखेती घट्दै
गलेश्वर, १६ मङ्सिर । म्याग्दीमा बर्सेनि कोदोखेती गर्ने क्रम घट्दै गइरहेको छ । केही समय पहिलेसम्म मालिका, मङ्गला, रघुगङ्गा, अन्नपूर्ण, धौलागिरि र बेनी नगरपालिकाका सबै गाउँमा प्रशस्त कोदोखेती हुन्थ्यो । आजभोलि कोदोखेतीप्रति किसानको मोह घट्दै गएको छ ।जिल्लाका किसानले लगाएको कोदो प्रशस्तै मात्रामा फल्ने गरेको थियो । उत्पादन धेरै भए पनि बिक्री हुन छाडेपछि किसान कोदो खेतीप्रति निरुत्साहित हुँदै गएका हुन् । कोदोका परिकारको विविधिकरण र बजारीकरणमा देखिएको समस्याले किसान कोदो खेतीप्रति आकर्षित हुन छाडेका उनीहरु बताउँछन् ।
ग्रामीण क्षेत्रको जमिन कोदो खेतीका लागि निकै उपयुक्त मानिन्छ । त्यहाँका किसानले कोदोखेतीलाई भने उपयुक्त मान्न छाडेका छन् । त्यसैले अहिले कोदोका लागि योग्य जमिन त्यसै बाँझै छाडेका छन् । कोदोमा मानव स्वास्थ्यको लागि अत्यावश्यक पौष्टिक तत्व भरपुर मात्रामा पाइन्छ । जसकारण बेनी, पोखरा, काठमाडौँलगायतका सहरी क्षेत्रमा कोदोको माग बढ्दै गएको छ । बजारसम्म पहुँच नभएपछि कोदोबारी बाँझै छाड्न किसान बाध्य भएका हुन् ।कोदोखेती विस्तार र संरक्षणमा सम्बन्धित निकायले खासै ध्यान नदिएको किसानको आरोप छ । प्रदेश र स्थानीय सरकारले समेत स्थानीय उत्पादनको बजार व्यवस्थापन र व्यावसायिकरणका लागि कुनै योजना नै बनाएको छैन । म्याग्दीका ६ वटै स्थानीय तहमा कोदोको राम्रो उत्पादन हुन्छ । थोरै बिउमा समेत धेरै उत्पादन गर्न सकिने कोदो पाखो जमिनमा लगाउने गरिन्छ । अहिलेसम्म व्यावसायीक रुपमा कोदोखेती गर्ने किसान छैनन् । खानका लागि मात्र उत्पादन गरिने गरेको छ । उर्वर माटोका कारण थोरै बिउमा रोपिए पनि कोदो धेरै फल्छ । खाएर मात्रै सकिँदैन । बेच्ने बजार नै छैन । भएको बजारसम्म पुग्न र पु¥याउन यातायातको सुविधा नहुँदा कोदो खेतीप्रति आकर्षण घटेको देवीस्थानका इन्द्रमाया फगामीले बताउनुभयो ।


