आगामी तीन दिन देशभर बदली हुनाका साथै उच्च पहाडी तथा हिमाली भागमा हिमपात हुने

काठमाडौँ, १६ मङ्सिर । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आगामी तीन दिन देशभर बदली हुनाका साथै उच्च पहाडी तथा हिमाली भागमा हिमपात हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा पश्चिमी वायुसँगै पश्चिमी न्यूनचापीय प्रणाली (पश्चिमी ट्रफ) र अरब सागरमा बनेको न्यूनचीय क्षेत्र ( कम दबाब प्रणाली) को चापका कारण बदलीसँगै ती स्थानमा हिमपातको सम्भावना देखिएको हो । यो क्रम आगामी शनिबारसम्म कायम रहने भएको छ । हाल देशको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भागमा आंशिकदेखि सामान्य बदली भएको छ । दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा वाग्मती प्रदेशका पहाडी भागमा हल्कादेखि मध्यम वर्षा हुनाका साथै ती प्रदेशका उच्च पहाडी र हिमाली भागका धेरै स्थानमा माध्यमदेखि भारी हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

भोलि देशभर सामान्यदेखि पूर्णतया बदली रही कर्णाली, लुम्बिनी तथा वाग्मती प्रदेशका पहाडी भागमा हल्कादेखि मध्यम वर्षा र उच्च पहाडी र हिमाली भागको केही स्थानमा मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको औँल्याइएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आठ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २२ दशमलव चार डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम पाँच दशमलव शून्य डिग्री र सबैभन्दा धेरै भैरहवाको अधिकतम तापक्रम ३० दशमलव शून्य डिग्री सेल्सियस रहेको छ।

सहरमा माग बढेपनि गाउँमा कोदोखेती घट्दै
गलेश्वर, १६ मङ्सिर ।म्याग्दीमा बर्सेनि कोदोखेती गर्ने क्रम घट्दै गइरहेको छ । केही समय पहिलेसम्म मालिका, मङ्गला, रघुगङ्गा, अन्नपूर्ण, धौलागिरि र बेनी नगरपालिकाका सबै गाउँमा प्रशस्त कोदोखेती हुन्थ्यो । आजभोलि कोदोखेतीप्रति किसानको मोह घट्दै गएको छ।
जिल्लाका किसानले लगाएको कोदो प्रशस्तै मात्रामा फल्ने गरेको थियो । उत्पादन धेरै भए पनि बिक्री हुन छाडेपछि किसान कोदो खेतीप्रति निरुत्साहित हुँदै गएका हुन् । कोदोका परिकारको विविधिकरण र बजारीकरणमा देखिएको समस्याले किसान कोदो खेतीप्रति आकर्षित हुन छाडेका उनीहरु बताउँछन् ।

ग्रामीण क्षेत्रको जमिन कोदो खेतीका लागि निकै उपयुक्त मानिन्छ । त्यहाँका किसानले कोदोखेतीलाई भने उपयुक्त मान्न छाडेका छन् । त्यसैले अहिले कोदोका लागि योग्य जमिन त्यसै बाँझै छाडेका छन् । कोदोमा मानव स्वास्थ्यको लागि अत्यावश्यक पौष्टिक तत्व भरपुर मात्रामा पाइन्छ । जसकारण बेनी, पोखरा, काठमाडौँलगायतका सहरी क्षेत्रमा कोदोको माग बढ्दै गएको छ । बजारसम्म पहुँच नभएपछि कोदोबारी बाँझै छाड्न किसान बाध्य भएका हुन् ।कोदोखेती विस्तार र संरक्षणमा सम्बन्धित निकायले खासै ध्यान नदिएको किसानको आरोप छ । प्रदेश र स्थानीय सरकारले समेत स्थानीय उत्पादनको बजार व्यवस्थापन र व्यावसायिकरणका लागि कुनै योजना नै बनाएको छैन । म्याग्दीका ६ वटै स्थानीय तहमा कोदोको राम्रो उत्पादन हुन्छ । थोरै बिउमा समेत धेरै उत्पादन गर्न सकिने कोदो पाखो जमिनमा लगाउने गरिन्छ । अहिलेसम्म व्यावसायीक रुपमा कोदोखेती गर्ने किसान छैनन् । खानका लागि मात्र उत्पादन गरिने गरेको छ । उर्वर माटोका कारण थोरै बिउमा रोपिए पनि कोदो धेरै फल्छ । खाएर मात्रै सकिँदैन । बेच्ने बजार नै छैन । भएको बजारसम्म पुग्न र पु¥याउन यातायातको सुविधा नहुँदा कोदो खेतीप्रति आकर्षण घटेको देवीस्थानका इन्द्रमाया फगामीले बताउनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।