यी भु- भागमा वर्षा र हिमपातको सम्भावना
काठमाडौँ, १७ मङ्सिर । हाल देशमा पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी तथा बागमती प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौँ उपत्यकाको आकाशमा बिहानैदेखि बदली छ । घाम राम्रो नखुलेका कारण उपत्यकामा बढी चिसो महसुस गरिएको छ । न्यूनतम तापक्रम स्थिर अर्थात् १० डिग्री सेल्सियस रहे पनि बदलीका कारण चिसो बढेको छ । पछिल्लो साता काठमाडौँको न्यूनतम तापक्रम छदेखि आठ डिग्री सेल्सियस हाराहारी थियो । आज काठमाडौँको न्यूनतम १० दशमलव आठ र अधिकतम तापक्रम २१ डिग्री सेल्सियस रहेको छ ।
महाशाखाका अनुसार दिउँसो सामान्यदेखि पूर्ण बदली रही सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशको पहाडी भूभागको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र देशको उच्च पहाडी र हिमाली भेगका केही स्थानमा मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको छ ।रातिको समयमा पनि कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहने छ । देशका बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । कर्णाली, लुम्बिनी र बागमती प्रदेशका थोरै स्थानमा हल्का वर्षा हुनका साथै देशको उच्च पहाडी र हिमाली भेगका केही स्थानमा मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको छ । भोलि शनिबार दिउँसो प्रदेश नं १ र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदली रहनेछ । प्रदेश नं १ का पहाडी भूभागका एक÷दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । मङ्सिर १९ गते आइतबार पनि सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
देवघाटमा शतबीज छर्नेको भीड
चितवन, १७ मङ्सिर । बालाचर्तुदशी पर्वका अवसरमा देवघाटधाममा शतबीज छर्ने भक्तजनको भीड रहेको छ । कोरोना त्रासका कारण अघिल्ला दुई वर्ष न्यून सङ्ख्यामा मानिस आएको भए पनि यस वर्ष ठूलो भीड लागेको हो । देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धीरणबाबु घिमिरेका अनुसार बिहीबार दिउँसोबाट देवघाटमा भक्तजन आउन थालेका हुन् । रातभर दियो बालेर जाग्राम बसी आज बिहान ३ बजेदेखि स्नान गरेर शतबीज छर्न थालिएको हो । उहाँका अनुसार तनहुँतर्फ मणि मुकुन्दसेन चक्रवर्ती पार्कमा शतबीज छर्नका शतबीज मार्ग व्यवस्थापन गरिएको छ । चितवनतर्फ वन क्षेत्रमा पनि भक्तजनले शतबीज छरेका छन् ।
यकिन तथ्याङ्क नहुने भए पनि ५० हजार हाराहारी भक्तजन देवघाट आएको अनुमान गरिएको घिमिरेले जानकारी दिनुभयो । यो सङ्ख्या पछिल्ला वर्षको सबैभन्दा बढी हो । दिवङ्गत परिवारका सदस्यहरूको सद्गतिको कामना गर्दै बालाचतुर्दशीमा शतबीज छर्ने गरिन्छ । शतबीजमा धान, गहुँ, जौँ, हलेदो, सक्खरखण्डलगायत चिजबीज छर्ने परम्परा छ ।
आजका दिन देवघाटधामको त्रिशूली र कालीगण्डकीको सङ्गम वेणीमा शतबीज छर्नाले दिवङ्गत आत्माले शिवलोकमा बास पाउने शास्त्रीय मान्यता रहेको छ । देवघाट पवित्र तीर्थस्थल हो । ठूलो सङ्ख्यामा भक्तजन आउने भएकाले सुरक्षा, बत्ती, शौचालयलगायत व्यवस्थापनमा समितिले ध्यान दिएको उहाँले बताउनुभयो ।


