उमेर नपुग्दै विवाह गर्ने क्रम बढेपछि सो कार्य रोक्न मतदान
डोटी, १७ मङ्सिर । दिपायल सिलगढी नगरपालिका–८ लडागडामा बालविवाह न्यूनीकरणका लागि मतदान गरिएको छ । उक्त वडामा उमेर नपुग्दै विवाह गर्ने क्रम बढेपछि सो कार्य रोक्न बालबालिकालाई सानै उमेरमा विवाह गर्नु राम्रो या नराम्रो भन्नेबारे जानकारी लिन मतदान गरिएको हो । बालविवाहबारे सचेत गर्ने उद्देश्यले मतदानको प्रक्रिया अपनाइएको हो । ‘गुड नेभर्स इन्टरनेशनल, नेपाल’ र सामुदायिक विकास केन्द्रको आयोजनामा विद्यालयमा मतदान गरिएको हो । विद्यार्थी उत्साहित भएर मतदानमा सहभागी भएका सुनादेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक नवराज पाठकले बताउनुभयो । बालविवाह उचित नभएको कक्षा १० की छात्रा गङ्गा कडायतको भनाइ छ ।
उहाँले भन्नुभयो, “बालविवाह गर्नु गलत हो भन्ने सबैले बुझेका छन्, तर अभिभावकको दबाबका कारण बालविवाहले प्रश्रय पाएको छ ।” मतदानमा १४५ छात्र र १४२ छत्रासहित २८७ विद्यार्थी सहभागी थिए । महिला र पुरुषको उमेर २० वर्ष नपुगी विवाह गर्नुहुँदैन भन्ने कानूनी व्यवस्था छ । तर अभिभावकको करकापले अधिकांश बालबालिकाले २० वर्ष उमेर नपुगी विवाह गर्दै आएका छन् । बालविवाह अन्त्यका लागि सरकारी तथा गैरसरकारी क्षेत्रबाट पहल जारी छ । “बालविवाहको असरबारे अभिभावकलाई ज्ञान हुन जरुरी छ”, सामुदायिक विकास केन्द्रका सूचना अधिकारी एकराज बडुले भन्नुभयो । उच्च शिक्षा अध्ययन गर्न नसकेपछि यहाँका बालबालिका बीचमै ढाइ छोड्न बाध्य छन् । उनीहरु कोही विदेश जान्छन् भने कतिपयले विवाह गर्ने चलन बढ्दै गएको उहाँको भनाइ छ ।
गोदावरी सडकमा कालोपत्र सुरु
– सञ्चिता घिमिरे÷सुभानु आचार्य,काठमाडौँ, १७ मङ्सिर। निर्माण सुरु भएको झण्डै पाँच वर्षपछि गोदावरी सडक निर्माण अन्तिम चरणमा पुगेको छ । सडकमा आवश्यक संरचना निर्माण सकिएकाले बिहीबारदेखि कालोपत्र सुरु गरिएको छ । सो सडकमा दुई प्याकेजमध्ये एउटामा पहिले नै कालोपत्र सम्पन्न भइसकेको छ । बाँकी एउटामा बिहीबारदेखि कालोपत्र सुरू गरिएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । झण्डै चार किमी सडकमा अहिले कालोपत्र अघि बढाइएको आयोजनाका इञ्जिनीयर वसन्तकुमार गाइँले बताउनुभयो । उहाँका अनुसार हरिसिद्धिको एक ठाउँबाहेक अन्यत्र कालोपत्र सकिने भएको छ । हरिसिद्धिको घुम्तीमा भने तत्काल कालोपत्र हुनसक्ने अवस्था नरहेको इञ्जिनीयर उहाँले बताउनुभयो । सडकको दुवैतर्फ नजिकै घर रहेकाले साँघुरो सडकमा अर्काे चरणमा काम गरिने उहाँले जानकारी दिनुभयो । सो खण्डमा कालोपत्र गर्दा नटिक्ने हुँदा कङ्क्रिट ढलान गर्ने गरी योजना बनाइएको छ । उहाँले भन्नुभयो, “माथिल्लो तहबाट टुङ्गो लागेपछि ठेक्का लगाएर ढलान गर्नुपर्छ ।”
ललितपुर महानगरपालिका र गोदावरी नगरपालिकामा पर्ने सो सडक सङ्घीय सडकका रुपमा छ । सो सडकमा लामो समयसम्म निर्माणले गति नलिएको भए पनि पछिल्ला दिनमा केही गति लिन थालेको आयोजनाका प्रमुख दीपेन्द्र पाण्डेले बताउनुभयो । उहाँका अनुसार आयोजनाले स्थानीयवासीले लामो समयदेखि दुःख पाइरहेकाले जनशक्ति र उपकरण दुवै थप्न कम्पनीलाई भनिएको थियो । पाँच वर्ष पहिले विस्तार सुरु गरिएको सो सडकमा सुरुका वर्षमा चौडाइ विवादका कारण निर्माण अघि बढ्न सकेको थिएन । स्थानीयवासीले घर भत्काउन विरोध गरेपछि निर्माण ठप्प थियो । पहिले निर्माण व्यवसायीले काम गर्न चाहे पनि आयोजनाले नै निर्माणस्थल खाली गर्न सकेको थिएन । तीन वर्ष पहिले सर्वाेच्च अदालतले उपलब्ध चौडाइमा नै निर्माण गर्न फैसला गरेको थियो । सोही आधारमा पहिले २० मिटर चौडाइमा कालोपत्र गर्ने गरी ठेक्का सम्झौता भए पनि विभागले उपत्यकाका विस्तारका क्रममा रहेका अरु सडकजस्तै यो सडकमा उपलब्ध चौडाइमा कालोपत्र गर्ने निर्णय गरेको थियो ।
सो सडक २० मिटर चौडा गर्न नसकिएपछि १६ मिटर चौडाइ कायम गर्ने गरी जनप्रतिनिधि, स्थानीयवासी र आयोजनाबीच सहमति भएको थियो । त्यसपछि पनि १६ मिटरभित्रै घर भएका स्थानीयवासीले सडकका लागि जग्गा दिन नमानेपछि सडक अलपत्र बनेको थियो । सो सडकमा गोदावरीको साढे तीन किमी सडक मात्रै १६ मिटर चौडाइ कायम गर्न सकिने अवस्था छ । बाँकी सडकमा अहिले १६ मिटरभन्दा कम चौडाइ रहेको आयोजनाले जनाएको छ । चौडाइ कम भएका स्थानमा पैदल यात्रुमार्ग, ह्युमपाइपलगायतका संरचना बनाउन नसकिने विभागले बताउँदै आएको छ ।
टौखेलदेखि गोदावरीसम्मको सडक भने गत वर्ष नै निर्माण सम्पन्न भइसकेको छ । लामो समयदेखि सो सडक अलपत्र हुँदा गोदावरीसँगै बडिखेल, लेले, बिसङ्खुनारायण, गोदामचौरलगायतका स्थानका नागरिक हैरान छन् । वनस्पति उद्यान र प्रकृतिक सुन्दरताका कारण गोदावरी पुग्ने पर्यटकलाई समेत असर पुगेको छ । सरकारले निर्माण गरेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा ठूला कार्यक्रमको आयोजना गरिने भए पनि आवतजावतमा समस्या छ । विस्तारका क्रममा रहेको सडकमा कर्मनाशा खोलाबाट हरिसिद्धिसम्म ललितपुर महानगरपालिका पर्छ भने साविकको ठैव र गोदावरी गाविस गोदावरी नगरपालिकामा पर्छ । सात दशमलव छ किलोमिटर लम्बाइको यो सडक निर्माणको ठेक्का सम्झौता विसं २०७३ असारमा भएको थियो । सडक निर्माणको ठेक्का आशिष सिएम जेभी र लामा समानान्तर जेभी गरेर दुई कम्पनीलाई दिइएको छ ।ठेक्का अवधि सकिए पनि कोभिडका कारण अवरुद्ध अरु आयोजनाजस्तै छ महिना थपिएको छ । आयोजनाले भने अवधि बाँकी भए पनि सो सडक त्यस पहिले नै कालोपत्र गर्न निर्माण कम्पनीलाई भनेको छ । काठमाडौँ उपत्यकामा पाँच÷छ वर्ष पहिले विस्तार सुरू भएका सडकमध्ये अधिकांश अझै सम्पन्न भइसकेका छैनन् । आयोजनाले चैतभन्दा पहिले नै सम्पन्न गर्ने गरी योजना बनाएको छ ।


