कांग्रेस प्रदेश १ महामन्त्री र सहमहामन्त्रीमा खोटाङका भूपेन्द्र र वीरकाजीकाे उम्मेदवारी
खोटाङ, १७ मंसिर । नेपाली कांग्रेसको प्रदेश १ को महामन्त्री र सहमहामन्त्रीमा खोटाङका दुई नेताले उम्मेदवारी दर्ता गरेका छन् । प्रदेश सभापतिका प्रत्यासी उद्धव थापाको प्यानलबाट भूपेन्द्र राईले महामन्त्रीमा उम्मेद्वारी दर्ता गरेका छन् । यस्तै, प्रदेश सभापतिका अर्का प्रत्यासी गुरुराज घिमिरेको प्यानलबाट नेता वीरकाजी राईले सहमहामन्त्रीमा उम्मेदवारी दिएका छन् ।
प्रदेश महामन्त्रीका प्रत्यासी राई दिप्रुङ चुइचुम्मा गाउँपालिकाका अध्यक्ष हुन् । उनले कोभिड-१९ को महामारीका बेला संक्रमितलाई पिठ्युँमा बोकेर अस्पताल पुर्याएर चर्चा कमाएका थिए । महामन्त्रीका प्रत्यासी राईसँगै प्रदेश सदस्यमा हलेसी तुवाचुङ नगरपालिकाका उपमेयर विमला राई, शान्तिकला राई र लोकेन्द्र राईले सदस्यमा मनोनयन दर्ता गरेका नेता अमृत गिरीले बताए ।
सहमहामन्त्रीसँगै प्रदेश सदस्यमा सुमनबाबु आचार्य, जितेन्द्रसिंह ठकुरी, गोपाल सैंजू र अञ्जना केसी बस्नेतले उम्मेद्वारी दिएको नेता राजकुमार बस्नेतले बताए । प्रदेश सभापतिमा वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता शेखर कोइराला समूहबाट घिमिरे तथा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहबाट थापा उठेका छन् ।
कांग्रेस प्रदेश अधिवेशनका लागि सुदूरपश्चिममा मनोनयन सुरु
मोहन जोशी/धनगढी, १७ मंसिर ।नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश अधिवेशनका लागि उम्मेदवार मनोनयन दर्ता गर्न थालेका छन् । बिहान ८ देखि १० बजेसम्मका लागि मनोनयन दर्ताको समय तोकिए पनि सहमतिको प्रयास गर्ने भन्दै २ बजेसम्मका लागि प्रक्रिया सारिएको थियो । तर उम्मेदवाहरू आ-आफ्नै अडानमा रहेपछि समहति जुट्न सकेन ।
अहिले सबै प्रत्यासी आ-आफ्नै तरिकाले मनोनयन दर्ता गर्न थालेका नेपाली कांग्रेस प्रदेश अधिवेशन प्रचार प्रसार समितिका संयोजक नृप सुनारले बताए ।
उनका अनुसार संस्थापन समूहबाट तीन जनाले उम्मेदवारी दिने भएका छन् । संसथापन समूहबाट गाेविन्द बाेहरा, गाेविन्द शाह, पुष्पकुमार शाहीलगायत आकांक्षी छन् ।
इतर समूहबाट नारायणदत्त मिश्रले टिमसहित उम्मेदवारी दिने भएका छन् । अहिले मनोनयन दर्ता गर्ने क्रम जारी छ ।


