मोतियाबिन्दु भएका बिरामीको निःशुल्क शल्यक्रिया
नवलपुर, १८ मङ्सिर ।नवलपरासी (बर्दघाट–सुस्ता)मा मोतियाबिन्दु भएका १८३ बिरामीको निःशुल्क शल्यक्रिया गरिएको छ । काठमाडौँको तिलगङ्गा आँखा प्रतिष्ठान, रोटरी क्लब अफ कावासोती, मध्यबिन्दु जिल्ला अस्पतालको संयुक्त आयोजना तथा रोट्रयाक्ट क्लब अफ कावासोती, मध्यबिन्दु आँखा उपचार केन्द्रलगायत विभिन्न संस्थाको सहयोगमा मोतियाबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया गरिएको हो । कावासोती–१६ मा रहेको मध्यबिन्दु जिल्ला अस्पतालमा चार दिनसम्म सञ्चालन गरिएको शिविरबाट मोतियाबिन्दुका बिरामी लाभान्वित भएका रोटरी क्लब अफ कावासोतीका अध्यक्ष जीवन सापकोटाले जानकारी दिनुभयो । जिल्लाको आठवटै स्थानीय तहबाट आएका आँखाको बिरामीको परीक्षण गर्दा मोतियाबिन्दु भेटिएका बिरामीको निःशुल्क शल्यक्रिया गरिएको सापकोटाले बताउनुभयो ।
आँखाको परीक्षण गर्न आएका एक हजारभन्दा बढीको बिरामीमध्ये करिब २०० मा मोतियाबिन्दुको समस्या देखिएको अध्यक्ष सापकोटाले बताउनुभयो । “शिविरमा आँखा परीक्षण गर्न आउँदा मोतियाबिन्दु देखिएका सबै बिरामीको शल्यक्रिया गर्न सकिएन”, अध्यक्ष सापकोटाले भन्नुभयो, “उहाँहरुको स्वास्थ्य समस्याका कारण हाललाई शल्यक्रिया गर्न नसकिएको हो ।” तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौँका लिना बज्राचार्यको नेतृत्वमा आएको नेत्र रोग विशेषज्ञ डा अनिमा देसार, डा क्षितिज जङ्गलगायत १५ को समूहले बिरामीको आँखा परीक्षण तथा मोतियाबिन्दुको शल्यक्रिया गरेको थियो ।
रोटरी क्लबले आउँदा वर्षहरुमा पनि निःशुल्क आँखा परीक्षण र मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया कार्यक्रमलाई निरन्तरता दिनका लागि तिलगङ्गा आँखा प्रतिष्ठानसँग प्रस्तावसमेत गरेको अध्यक्ष सापकोटाले बताउनुभयो । आँखा परीक्षणका लागि पुगेका बिरामीको निःशुल्करुपमा मधुमेह परीक्षण, रक्तचाप परीक्षण, कोभिड–१९ को परीक्षण तथा आवश्यकताअनुसार निःशुल्करुपमा औषधि तथा चस्मा पनि प्रदान गरिएको थियो । आँखा शिविरको उद्घाटन कार्यक्रम रोटरी डिष्ट्रिक ३२९२ का पूर्वगभर्नर रवीन्द्र पियाले मानवीय अङ्गमध्ये आँखा संवेदनशील भएकाले यसको सुरक्षाको लागि सचते हुनुपर्ने बताउनुभयो । आँखामा केही समस्या देखिएमा जथाभावी औषधिको प्रयोग गर्न नहुने भन्दै पियाले तुरुन्तै आँखा रोग विशेषज्ञलाई देखाउनुपर्ने बताउनुभयो ।
चितवनमै आजदेखि ‘स्मार्ट लाइसेन्स’ नवीकरण हुने
भरतपुर, १८ मङ्सिर ।चितवनमा आजदेखि स्मार्ट लाइसेन्स नवीकरण कार्य सुरु हुँदैछ । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्मार्ट लाइसेन्स सेवाको शुभारम्भ गर्नुहुनेछ । अध्यक्ष दाहालले हालसालै सुरुआत गरिएका सवारी दर्ता र स्मार्ट लाइसेन्स नवीकरण सेवाको शुभारम्भ गर्ने कार्यक्रम रहेको यातायात व्यवस्था सेवा कार्यालय भरतपुरका प्रमुख विनोद पौडेलले जानकारी दिनुभयो । यातायात कार्यालयमा भीडभाड नहोस् भन्नका लागि सेवाग्राहीका लागि भेटघाट व्यवस्थापन प्रणालीमार्फत अनलाइन टोकन प्रणाली लागू गरिएको छ । जसका लागि यहाँ क्लिक गर्नुहोस् वा चितवन यातायात डट बागमती डट जिओभी डट एनपी मा लगइन गरी आफ्नो विवरण भरेर टोकन लिन सकिने जनाइएको छ । सोही टोकन र समयका आधारमा सेवा लिन सकिने कार्यालय प्रमुख पौडेलले जानकारी दिनुभयो ।
कार्यालय प्रमुख पौडेलले छिट्टै पुरानो प्रकारका लाइसेन्सको पनि नवीकरण सुरु गर्ने बताउनुभयो । अहिले प्राविधिक समस्याका कारण स्मार्ट लाइसेन्स मात्रै नवीकरण थालिएको उहाँले बताउनुभयो । यस्तै आउँदो तीन÷चार महिनाभित्रमा नयाँ लाइसेन्ससमेत जारी गर्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।चितवनमा विसंं २०५१ देखि पटके कार्यालयको रुपमा यातायात सेवा कार्यालयको स्थापना भएको थियो । त्यतिबेला अस्थायी रुट इजाजत मात्रै दिने गरिएको थियो । सोही बेला सातामा एकदिन मात्रै वीरगञ्जबाट एक जना अधिकृत र एक जना मेकानिकल सुपरभाइजर आएर जाँचपास गर्ने व्यवस्था थियो । विसं २०६२ मा सेवा विस्तार भएर वीरगञ्ज कार्यालयको शाखाको रुपमा स्थापित यस कार्यालयबाट बाटो इजाजत, नियमित जाँचपास, कर जरिवाना, अस्थायी रुट इजाजतसम्बन्धी काम थपिएको थियो । विसं २०७१ साउन ३० गतेबाट स्थायी कर्मचारीको दरबन्दीसहित कार्यालयको कामलाई चुस्तदुरुस्त बनाउने प्रयास थालिएको थियो ।
विसं २०७५ देखि सङ्घीयता लागू भएपछि बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत रहेर यस कार्यालयलाई अघि बढाइयो । त्यति बेलासम्म सवारी साधनको बिलबुक नवीकरण र कर तिर्ने, रुट इजाजत लिने, पटकेलगायतका सेवा सञ्चालन भएको थियो । विसं २०७७ वैशाख ६ गते सवारी साधन दर्तासमेत विस्तार गर्ने निर्णयबमोजिम २०७८ साउन २८ गतेबाट सवारी साधन दर्ताको प्रक्रिया सुरु भएको छ । भदौ ३ गते सवारी चालक अनुमतिपत्रको समेत कार्य गर्ने गरी मन्त्रालयले कार्यादेश दिएको थियो । त्यसपश्चात् यही मङ्सिर ५ गतेबाट सवारी चालक अनुमतिपत्र नवीकरण ट्रायलको रुपमा सुरुआत गरिएको थियो ।


