ओमिक्रोनको सङ्क्रमण रोक्न सीमा क्षेत्रमा सतर्कता
कञ्चनपुर, १८ मङ्सिर । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन अफ्रिकी मुुलुकसहित भारतमा देखा परेपछि पश्चिमी सीमानाका गड्डाचौकीमा सतर्कता अपनाउन थालिएको छ । सीमानाका भएर आउने यात्रुमध्ये कोरोनाका शङ्कास्पद बिरामीको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरी नतिजा पोजेटिभ आए नमूना पुनः परीक्षणका लागि केन्द्रीय प्रयोगशालामा पठाउने व्यवस्था गरिएको छ । “ सीमानाकाबाट भित्रिने यात्रुको एन्टिजेन विधिबाट गरिएको कोरोना परीक्षणमा नतिजा पोजेटिभ आए उपचार र परीक्षणका लागि अस्पताल पठाउँदै आएका थियौँ”, जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले भन्नुभयो, “कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन भारतलगायतका मुलुकमा देखा परेपछि नमूना परीक्षणा गर्न केन्द्रीय प्रयोगशालामा पठाइने गरिएको छ ।”कोरोनाको नयाँ भेरियन्ट फैलिन नदिनका लागि सीमा क्षेत्रमा सावधानी र सतर्कता अपनाइएको उहाँले बताउनुभयो । जोखिमलाई कम गर्न भारतबाट आउने यात्रुको पीसीआर रिपोर्टसँगै कोरोनाविरुद्धको खोप लगाइएको कार्डसमेत हेर्ने गरिएको छ ।
सीमा क्षेत्रमै मलेरिया, क्षयरोग र कोरोना परीक्षण
भारतबाट भित्रिने यात्रुको पश्चिमी सीमा क्षेत्र गड्डाचौकीमै मलेरिया, क्षयरोग र कोरोना परीक्षण गर्ने व्यवस्था गरिएको छ । सीमा क्षेत्रमा राखिएको हेल्थ डेस्कमै शङ्कास्पद यात्रुको मलेरिया, क्षयरोग र कोरोना परीक्षण गरिँदै आएको छ । “मलेरिया र कोरोना सीमा क्षेत्रमा रहेको हेल्थ डेस्कमा परीक्षण गरी यकिन गरिन्छ”, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सुनारले भन्नुभयो, “क्षयरोग (टिवी)को परीक्षणका लागि खकार सङ्कलन गरी जिल्लामै रहेको जिन ल्याबमा लगेर परीक्षण गर्छौं ।” क्षयरोगको नतिजाबारे बिरामीलाई फोनमार्फत जानकारीसमेत दिइने गरिएको छ ।
डेढ अर्बको लगानीमा अस्पताल
चितवन, १८ मङ्सिर ।मेडिकल सिटीको रुपमा परिचत भरतपुरमा सञ्चालनमा रहेको एक अस्पतालले स्तरोन्नति गरी सुविधा सम्पन्न भवन निर्माण गरेको छ । कूल ५५ शय्याको नेशनल सिटी हस्पिटलले आधुनिक प्रविधिसहितको सुविधा सम्पन्न भवन बनाएर १०० शय्या सञ्चालन गर्न लागेको हो ।अस्पतालका व्यवस्थापक विक्रम अधिकारीका अनुसार भवन तथा सहरी विकास मन्त्रालयबाट अनुमति लिएर स्वास्थ्य मन्त्रालयको मापदण्डअनुसार साततले भवन निर्माणको अन्तिम चरणमा पुगेको छ । दुई सय जना शेयर धनी रहेको यस अस्पतालको संस्थागत शेयर धनीका रुपमा श्री मेडिकल एण्ड टेक्निकल कलेज रहेको छ । अधिकारीका अनुसार १०० शय्या सञ्चालनमा आउँदै गर्दा यसको लगानी रु एक अर्ब ५० करोड पुग्ने छ । उहाँले भन्नुभयो, “जिल्लामा उत्कृष्ट, सुविधा सम्पन्न अस्पताल हाम्रो हुने छ।”
अस्पतालका सञ्चालक एवं श्री मेडिकल एण्ड टेक्निकल कलेजका कार्यकारी अध्यक्ष सरोज ढकालका अनुसार भवनमा २०० शय्यासम्म सञ्चालन गर्न सक्ने गरी निर्माण गरिएको छ । उहाँका अनुसार अत्याधुनिक र आधुनिक प्रविधिका उपकरण भित्र्याइँदै छ । कतिपय उपकरण आइसकेका छन् भने कतिपय आउने क्रममा रहेको छ । मेडिकल कलेजपछिको ठूलो लगानीको अस्पतालको रुपमा यसलाई विकास गर्न लागिएको छ ।अस्पतालका अर्का सञ्चालक कल्याण जोशीका अनुसार १३ वर्षअघि रु पाँच करोडको लागतमा नारायणगढमा स्थापना गरिएको यस अस्पताल हाल भरतपुरको चौबिसकोठीमा रहेको छ । करिब १२ कट्ठा जग्गा खरिद गरेर अस्पतालको स्तरोन्नति गरिएको हो । अस्पतालमा विशिष्टिकृतसहित सबै सेवा उपलव्ध गराइने उहाँको भनाइ छ । अस्पतालले जग्गा आफैँले खरिद गरी स्वास्थ्य मन्त्रालयको मापदण्डअनुसारको भवन निर्माण र आधुनिक उपकरण जडान गर्न लागेकाले लगानी ठूलो भएको जोशीले जानकारी दिनुभयो । कतिपय उपकरण मेडिकल कलेजमा समेत नभएका आधुनिक उपकरण राखेर सेवा दिने उहाँको भनाइ छ ।


