हराउँदै मगर भाषा, जीर्ण बन्दै प्रशिक्षण केन्द्र

सल्यान, १९ मङ्सिर ।आदिवासी जनजाति समुदायको बाक्लो बसोबास भएको जिल्लामा मगर भाषा लोप हँुदै गएको छ । मगर भाषाको संरक्षणको अभाव तथा अन्य जातजातिले बोल्ने भाषाको बाहुल्यता हँुदै गएपछि मगर समुदायमा समेत मगर भाषा हराउन थालेको हो ।जिल्लामा मगर समुदायको बाक्लो बस्ती भए पनि सो समुदायलाई समेत आफ्नो संस्कृति र भाषाको कम जानकारी नभएपछि भाषा नै सङ्कटमा पर्न गएको जनाइएको छ । विसं २०६८ को जनगणनानुसार जिल्लामा झण्डै ३५ हजार जनसङ्ख्या मगर समुदायको छ । जिल्लाका अधिकांश बस्तीमा मिश्रित जातिको बसोबास भएकाले एकाधले मात्र आफ्नो भाषा बोल्ने गर्दछन् । नेपाल मगर सङ्घ जिल्ला अध्यक्ष पूर्णबहादुर बुढामगरले समुदायमा विस्तारै आधुनिकताले प्रवेश गरेपछि परम्परगत संस्कृति र संस्कारसमेत हराउँदै जान थालेकोे जानकारी दिनुभयो ।

उहाँका अनुसार जिल्लाको कारागिठी, काभ्रा, रिम, सिन्वाङ, गर्पा, झिम्पे, लेखपोखरा, शिवरथलगायतका ठाउँमा मगर समुदायको सङ्ख्या धेरै छ । “पुरानो पुस्ताले मगर भाषा बोल्ने गरेको भए पनि नयाँ पुस्तालाई भने यसबारेमा जानकारी नै छैन, तर पछिल्लो समय हाम्रो मगर अठार खाम भाषाका बारेमा केही नयाँ पुस्ताले पनि चासो देखाउनुभएको छ”, उहाँले भन्नुभयो ।भाषा सिक्न र संस्कृतिको संरक्षण गर्न भनेर विसं २०६३ देखि जिल्लाको लेखपोखराको बुद्धनगरमा मगर भाषा प्रशिक्षण केन्द्र भवनको निर्माण थालनी गरियो । विसं २०६५ मा भवन निर्माण भयो । सुरुका वर्षमा राम्रोसँग सञ्चालन भएको केन्द्र पछिल्लो केही वर्षयता बन्दजस्तै बनेको छ । मगर समुदायका गतिविधि सञ्चालन नहुँदा भाषा प्रशिक्षण केन्द्रको भवन परिसर राजनीतिक दलका कार्यक्रम गर्ने स्थलका रूपमा परिणत भएको छ ।

केही वर्ष पहिलेसम्म जिल्लाका विभिन्न स्थानमा गएर मगर भाषा र संस्कृतिका बारेमा प्रशिक्षण गरे पनि कोरोना सङ्क्रमणका कारण हाल प्रशिक्षण कार्य बन्द गरिएको स्थानीय उमलाल घर्तीले जानकारी दिनुभयो । उहाँले मगर समुदायको भाषा र संस्कृतिका बारेमा सबै मगर समुदाय जानकार हुनुपर्ने बताउनुभयो । “अधिकांश मगरलाई मगर भाषा नै आउँदैन, यसबारेमा सोच्न र सिक्न आवश्यक छ”, उहाँले भन्नुभयो । मगर भाषाको संरक्षण गर्न र नयाँ पुस्तालाई प्रशिक्षण प्रदान गर्नका लागि छत्रेश्वरी गाउँपालिका–५ ले चालु आर्थिक वर्षमा केही बजेटसमेत विनियोजन गरेको छ ।

वडाध्यक्ष लीलाधर घर्तीलेमगरले संस्कृतिको संरक्षण र भाषा प्रशिक्षण लागि यस वर्ष रु ५० हजार विनियोजन गरिएको जानकारीदिनुभयो । यसले मगर समुदायको संस्कृतिको संरक्षणमा टेवा पुग्ने उहाँको भनाइ छ ।“यस वडामा मात्रै झण्डै आधाभन्दा बढी समुदाय मगरको छ, तर यहाँका अधिकांश मगर समुदायमा मगर संस्कृति छैन, भाषाका बारेमा ज्ञान छैन, सीमित केही व्यक्तिबाहेक अरु मगर भाषा बोल्न जान्दैनन्”, उहाँले भन्नुभयो, “मगर भाषा र संस्कृतिको संरक्षणका लागि वडाले विनियोजन गरेको बजेटले केही सहयोग गर्ने अपेक्षा गरेका छौँ ।” मगर भाषा र संस्कृतिको संरक्षणका लागि सबै मगर समुदाय जागरुक हुनुपर्ने उहाँको भनाइ छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।