खोप नलगाएकालाई भारत प्रवेशमा रोक
बैतडी, १९ मङ्सिर । भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ देखा परेपछि उसले आफ्नो देश प्रवेश गर्ने नाकामा कडाइ गर्न सुरुआत गरेको छ । बैतडीसँग सीमा जोडिएको झुलाघाट नाकामा पनि भारतले खोप लगाएको कार्ड र परिचयपत्र अनिवार्य गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी भारतीले जानकारी दिनुभयो । “भारतको पिथौरागढ जिल्लाले लिखितरूपमा पत्र पठाएर दुईवटै मात्रा खोप लगाएका नेपाली नागरिकलाई मात्रै आफ्नो देश प्रवेश गर्न दिने भनेको छ ।” देहरादुनमा नयाँ भेरियन्ट ‘ओमिक्रोन’ देखिएपछि भारतले सीमानाकामा कडाइ गरेको बताइएको छ । उहाँले भन्नुभयो, “कोरोनाको दुवै मात्रा खोप लगाएको १५ दिनपछि मात्रै भारत प्रवेश गर्न दिने भनेको छ ।”
भारत जाने नेपाली नागरिकले अनिवार्यरूपमा १५ दिन अगाडि खोपको दुवै मात्रा लगाएको प्रमाण बोकेर जान प्रशासनले अनुरोध गरेको छ । खोप कार्ड नभएका नेपाली नागरिक भारत पस्न रोक लगाइएको छ । यसका साथै झुलाघाट नाकाबाट स्वदेश फर्किने नागरिकले अनिवार्यरूपमा सात दिन क्वारेन्टिन बस्नुपर्ने सूचना अधिकारी भारतीले जानकारी दिनुभयो । झुलाघाट नाकामा एन्टिजेन परीक्षण जारी रहेको भए पनि सात दिनसम्म यसको लक्षण देखा पर्नसक्ने भएकाले स्वदेश फर्किने नागरिकलाई अनिवार्यरूपमा क्वारेन्टिनमा बस्न आग्रह गरिएको हो । सीमानाकामा स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्न पनि भनिएको छ । जिल्लामा हाल दुई जनामात्रै कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् भने सङ्क्रमणका कारण हालसम्म १८ जनाको ज्यान गइसकेको छ ।
राज्यमन्त्री वलीद्वारा विकास निर्माण अनुगमन
तुलसीपुर, १९ मङ्सिर । लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण राज्यमन्त्री विमलाकुमारी खत्री (वली)ले पश्चिम दाङका विभिन्न योजनाको अवलोकन गर्नुभएको छ । पश्चिम दाङको शान्तिनगर, दङ्गीशरण, बबई र तुलसीपुरका विभिन्न स्थानमा विकास निर्माणको अवस्थाका बारेमा उहाँले जानकरी लिनुभएको हो । उहाँले शान्तिनगर गाउँपालिका–५ मा प्रदेश सरकारको बजेटबाट निर्माण हुन लागेको सभाहलको अवलोकन गर्नुभएको छ ।
सोही सभाहल निर्माणको काम तीव्रगतिमा अघि बढिरहेको छ । त्यस्तै दङ्गीशरण गाउँपालिका–६ स्थित बागरमा रहेको १५ शय्याको अस्पतालको पनि अवलोकन गर्नुभएको छ । सोही अस्पताललाई प्रदेश सरकारमातहत लैजाने उहाँले प्रतिबद्धता जनाउनुभएको छ ।
त्यस्तै दङ्गीशरण गाउँपालिका–५ स्थित स्वास्थ्यचौकी र वडा नं ७ को आधारभूत स्वास्थ्य केन्द्र , शान्तिनगर गाउँपालिका–२ मा निर्माणाधीन १५ शय्याको अस्पताल , बबई गाउँपालिका–२ स्थित ठूलाचौर–घुरिन्डाँडा (सीतापुर) जोड्ने पुल निर्माणस्थल, बबई–३ हंसपुरमा निर्माण हुन लागेको १५ शय्याको अस्पताल र सोही वडाको हंसपुर माविको पनि उहाँले अलवोकन गर्नुभएको थियो ।


