वृद्धको मृ,त्युपछि राजमार्ग अ,वरुद्ध
महेन्द्रनगर, १९ मङ्सिर ।कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ बंक नजिक पूर्व–पश्चिम राजमार्गमा भारतीय नम्बरको जीपले ठ,क्कर दिँदा एक वृद्धको मृ,त्यु भएको छ ।आज बिहान वाणीदेखि झलारीतर्फ आइरहेको डिएल १७ सी ४७५४ नं को जीपले ठ,क्कर दिँदा स्थानीयवासी ६५ वर्षीय तारानाथको मृ,त्यु भएको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ ।वृद्धको मृ,त्युपछि आ,क्रोशित स्थानीयवासीले शव पूर्व–पश्चिम राजमार्गमै राखेर यातायात अवरुद्ध गरेका छन् । स्थानीय प्रशासनले राजमार्ग सञ्चालन गर्ने प्रयास गरिरहेको छ । इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक कर्ण बोहराले जीप र चालकलाई नियन्त्रणमा लिइएको जानकारी दिनुभयो । उहाँले अत्यावश्यक सवारीसाधन सञ्चालनका लागि वैकल्पीक सडक बनाइरहेको बताउनुभयो ।
आफ्नै घरमा बस्ने सपना पूरा
वालिङ, १९ मङ्सिर ।स्याङ्जाको बिरुवा गाउँपालिका– ७ माथिल्लो बलेउका ६७ वर्षीय इमानसिंह नेपालीको आफ्नै घरमा बस्ने सपना पूरा हुने भएको छ । आफ्नो घर नभएकै कारण अर्कैको गोठ, धन्सार तथा स्याउलाले छाएको छाप्रोमा बस्दै आएका नेपालीलाई स्थानीयवासी सम्झना युवा क्लबको पहलमा घर निर्माण गरिदिएपछि सपना पूरा हुने भएको हो ।“मेरो यत्रो उमेर अरुकै धन्सार, गोठ तथा छाप्रोमा ओत लिएर अरुकै शरण लिएर बिताएँ”, उहाँले भन्नुभयो, “अब त आफ्नै घरमा ओत लाउन पाउने भएको छु, आफ्नै घरमा बस्न पाउने भएँ निक्कै खुशी छु ।”
जग्गा किनेर घर बनाउनका लागि पटक÷पटक प्रयास गरे पनि सफल हुन नसकेको नेपालीले बताउनुभयो । “घर बनाउँछु भनेर सुरु गर्न खोजें, तर घरका लागि चाहिने सामान किन्ने उपाय भएन अनि बनाउन सकिन”, नेपालीले दुःखेको पोख्नुभयो ।स्थानीय युवा क्लबको पहलमा ‘इमानसिंह नेपाली घर निर्माण अभियान’मार्फत रकम र जनश्रमदानमा दुई कोठे पक्की घर निर्माण गरेर हस्तान्तरण गरिएको उक्त अभियानका संयोजक पिम गुरुङले बताउनुभयो । नेपालीका बुबाले पनि यस ठाउँमा काम गर्दै आएको र बुबाको मृत्युपश्चात छोराले पनि लामो समयदेखि यहीँ बालीघरे प्रथामा सिलाउने काम गर्दै आएको संयोजक गुरुङले जानकारी दिनुभयो ।
“उनीहरु धेरै पहिले यहाँ बसाइँ सरेर आएका र लामो समयदेखि अर्काको गोठ, धन्सार तथा छाप्रोमा बस्दै आए”, संयोजक गुरुङले भन्नुभयो, “घरबारविहीन भएका इमानसिंहको घर निर्माण गरिदिएर बासको व्यवस्था मिलाइदिनुपर्छ भन्ने लागेर रकम सङ्कलन तथा जनश्रमदान जुटाएर घर निर्माण गरी हस्तान्तरणसमेत गरिसकेका छौं ।”गत पुस अन्तिमबाट घर निर्माण थालेर यही मङ्सिर १४ गते घर हस्तान्तरण गरिएको हो । घर निर्माण अभियानका लागि स्थानीय बासिन्दा तथा देश विदेशमा रहेकाको सहयोगस्वरुप रु तीन लाख ५० हजार र ढुवानी तथा श्रमदानमा रु ९० हजार गरी कूल रु चार लाख ४० हजारको लागतमा निर्माण सम्पन्न भएको संयोजक गुरुङले जानकारी दिनुभयो ।
“इमानसिंह नेपालीको घर निर्माणका लागि भनेर अभियान नै चलायौं, जसमा देश तथा विदेशमा रहनुभएका विभिन्न व्यक्तिले रकम जम्मा गरिदिनुभयो”, संयोजक गुरुङले भन्नुभयो, “सवारीसाधन हुनेले निःशुल्क ढुवानी गरिदिने र क्लब तथा गाउँलेले आ–आफ्नो सीप तथा क्षमता अनुसारको जनश्रमदान गर्नुभएकै कारण अभियान सफल भयो र अभियान सफल हुँदै गर्दा इमानसिंहको सपना पनि पूरा हुन पुग्यो ।”


