‘शहीदको बलिदान व्यर्थ जान दिइने छैन’
कञ्चनपुर, १९ मङ्सिर। पूर्वमन्त्री बीना मगरले शहीदको बलिदानलाई व्यर्थ जान नदिनइने बताउनुभएको छ ।नेकपा(माओवादी केन्द्र) बेलौरी नगरपालिकाको प्रथम नगर सम्मेलनको उद्घाटन गर्दै उहाँले शहीदको बलिदानले देशमा जनपक्षीय एजेण्डा स्थापित भएको बताउनुभयो । उहाँले देशको राजनीति माओवादी एजेण्डामा चलेको जिकिर गर्नुभयो ।
सङ्घर्षको बलमा जनपक्षीय एजेण्डा स्थापित भएको चर्चा गर्दै उहाँले उपलब्धिको रक्षाका लागि माओवादीले नेतृत्व पाउनुपर्ने बताउनुभयो ।
“माओवादी जनताको आशा भरोसाको केन्द्रका रुपमा रहेको छ”, उहाँले भन्नुभयो, “पार्टीलाई बलियो बनाउनेदेखि सिङ्गो देश माओवादीमय बनाउनुपर्नेमा कार्यकर्ताको अझै योगदानको खाँचो रहेको छ ।” देश र जनताका लागि बदिलान दिनेदेखि दिगो विकास र समृद्धिका लागि काम गर्ने एक मात्रै पार्टी नेकपा(माओवादी केन्द्र) मात्रै रहेको उहाँको जिकिर थियो । लडेर ल्याएको एजेण्डालाई रक्षा गर्नुपर्ने धारणा राख्दै उहाँले प्रतिगमनविरुद्ध लड्नका लागि सबै एकमत हुनुपर्ने बताउनुभयो।
मतगणना आज दिउँसोबाट हुने
विराटनगर, १९ मङ्सिर । नेपाली कांग्रेसको १४औँ महाधिवेशनका क्रममा हिजो सम्पन्न भएको प्रदेश नं १ को निर्वाचनको मतगणना आज दिउँसो १ बजेबाट सुरु हुने जनाइएको छ ।बिहान ८ बजेदेखि भनिएको मतदान अपरान्ह २ः१५ देखि सुरु भई राति ८ बजेसम्म विराट नर्सिङ होम अस्पताल पूर्वतर्फको खाली चौरमा बनाइएको मतदान केन्द्रमा मतदाताले मतदान गरेका थिए ।
मतदान केन्द्रमा प्रदेशका सबै जिल्लाको छुट्टाछुट्टै मतदान केन्द्र बनाइएको र कुनै पनि अप्रिय घटना नभएको बताइएको छ । कूल एक हजार ७७० मतदातामा एक हजार ७५२ मत खसेको थियो । प्राविधिक कारणले मतगणना सुरु हुन ढिलो भएको नेपाली कांग्रेस जिल्ला सचिव मोदराज घिमिरेले जानकारी दिनुभयो । हिजोको मतदान निकै उत्साहपूर्वक र शान्तिपूर्ण ढङ्गले सम्पन्न भएको बताइएको थियो ।


