अध्यक्षबाट पराजित भएपछि कमल थापाले भने -यसपाली त मनै फाट्यो केले सिउने केले टाल्ने हो ?
काठमाडौं, १९ मंसिर/राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का निवर्तमान अध्यक्ष कमल थापाले आफूले अंगाल्दै आएको मान्यतामाथि आफैभित्र प्रश्न उठेको बताएका छन् ।हिन्दु राष्ट्र र राजसंस्था मान्यता बोक्दै निरन्तर आवाज उठाउँदै आएका थापाले अहिले यी मान्यतामाथि मनभित्र प्रश्न उठेको संकेत गरेका छन् । थापाले आज विहान राप्रपा अध्यक्ष पदमा पराजित भएपछि निर्मल निवासको नांगो हस्तक्षेपका कारण आफू पराजित हुन पुगेको उल्लेख गरेका छन् ।
दिउँसो फेरि उनले राजसंस्था र हिन्दु राष्ट्रको आफ्नो मान्यतामाथि अन्तर्मनभित्र गम्भीर प्रश्न चिन्ह खडा भएको उल्लेख गरेका हुन् । यसमा उनले राजेन्द्र थापाको कविता पनि उल्लेख गरेका छन् । जसमा मन फाटेपछि कसरी सिलाउने भनेर प्रश्न गरिएको छ ।’मेरो अन्तर्मन भित्र मेरो मान्यता माथि गंभीर प्रश्न चिन्ह खडा भएको अहिलेको अवस्थामा कवि राजेन्द्र थापाको यो कविता सम्झन मन लाग्यो,’ थापाले कविता उल्लेख गर्दै भनेका छन् ।
‘पोहोर साल खुशी फाट्दा
जतन गरि मनले टाले
त्यहि साल माया फाट्यो
त्यसलाई पनि मनले टाले
यसपाली त मनै फाट्यो
केले सिउने केले टाल्ने हो?’
कमल थापाले अस्वीकार गरेका लिङ्देनलाई पशुपतिशमशेरले स्वीकारे
काठमाडौं, १९ मंसिर/राप्रपा निवर्तमान अध्यक्ष पशुपतिशमशेर जबराले राजेन्द्र लिङ्देनलाई पार्टी अध्यक्ष बनाउने गरी महाधिवेशन प्रतिनिधिले दिएको निर्णय शिरोधार्य रहेको बताएका छन् ।
कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यको प्रमाणपत्र वितरण तथा शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले महाधिवेशन प्रतिनिधिको निर्णय आफूहरूलाई शिरोधार्य रहेको बताएका हुन् । महाधिवेशन उद्घाटन सत्रमा सहमतिमा नेतृत्व चयन गर्न आग्रह गर्दा निर्वाचनमा गएको भन्दै उनले निर्वाचनबाट आएको परिणाम आफूलाई स्वीकार्य रहेको बताए । साथै उनले अरू नेतालाई पनि परिणाम स्वीकार्न सुझाव दिए ।
नयाँ नेतृत्वले देश र जनताको हितमा काम गर्न सकोस् भन्दै उनले शुभकामना पनि दिए । निवर्तमान अध्यक्ष कमल थापालाई पराजित गर्दै राजेन्द्र लिङ्देनलाई अध्यक्षमा निर्वाचित गरेको महाधिवेशनले चयन गरेको पदाधिकारी र सदस्यले हिन्दू राष्ट्र र राजसंस्था पुनर्स्थापना गर्ने काम गर्न सक्नुपर्ने जबराको भनाइ छ । यसका लागि आफ्नो साथ र सहयोग निरन्तर रहने विश्वास दिलाए ।


