प्रदेश १ मा आज १९ जनामा कोरोना संक्रमण
विराटनगर, १९ मंसिर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १९ जनामा कोरोना संक्रमण भएको छ । ३५० जनाको पीसीआर परीक्षण गर्दा १८ र ४७ जनाको एन्टिजेन परीक्षण गर्दा एक जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ८, मोरङमा ५, सुनसरीमा २, भोजपुरमा १ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको हो ।
झापाको विर्तामोडमा २, मेचीनगर, भद्रपुर, बुद्धशान्ति, बाहृदशी, गौरीगञ्ज र शिवसताक्षीमा १–१, मोरङको कानेपोखरीमा २, उर्लाबारी, बेलबारी र सुन्दरहरैचामा १–१, सुनसरीको दुहवीमा २, भोजपुरको अरुण गाउँपालिकामा १ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा आज १६ जना कोरोना संक्रमणमुक्त छन् । संक्रमणमुक्त हुनेमा ७ महिला र ९ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
कमल थापाले अस्वीकार गरेका लिङ्देनलाई पशुपतिशमशेरले स्वीकारे
काठमाडौं, १९ मंसिर/राप्रपा निवर्तमान अध्यक्ष पशुपतिशमशेर जबराले राजेन्द्र लिङ्देनलाई पार्टी अध्यक्ष बनाउने गरी महाधिवेशन प्रतिनिधिले दिएको निर्णय शिरोधार्य रहेको बताएका छन् । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यको प्रमाणपत्र वितरण तथा शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले महाधिवेशन प्रतिनिधिको निर्णय आफूहरूलाई शिरोधार्य रहेको बताएका हुन् ।
महाधिवेशन उद्घाटन सत्रमा सहमतिमा नेतृत्व चयन गर्न आग्रह गर्दा निर्वाचनमा गएको भन्दै उनले निर्वाचनबाट आएको परिणाम आफूलाई स्वीकार्य रहेको बताए । साथै उनले अरू नेतालाई पनि परिणाम स्वीकार्न सुझाव दिए ।
नयाँ नेतृत्वले देश र जनताको हितमा काम गर्न सकोस् भन्दै उनले शुभकामना पनि दिए । निवर्तमान अध्यक्ष कमल थापालाई पराजित गर्दै राजेन्द्र लिङ्देनलाई अध्यक्षमा निर्वाचित गरेको महाधिवेशनले चयन गरेको पदाधिकारी र सदस्यले हिन्दू राष्ट्र र राजसंस्था पुनर्स्थापना गर्ने काम गर्न सक्नुपर्ने जबराको भनाइ छ । यसका लागि आफ्नो साथ र सहयोग निरन्तर रहने विश्वास दिलाए ।


