अवैधरुपमा बैंकिङ कारोबार गर्ने प,क्राउ
चितवन, २० मङ्सिर ।जिल्ला प्रहरी कार्यालय चितवनले मेक्स मि इ–कमर्स इन्टरनेशनलले अवैधरुपमा बैंकिङ कारोबार गरेको जनाउँदै सञ्चालकलाई प,क्राउ गरको छ । प,क्राउ पर्नेमा संस्थाका कार्यकारी निर्देशक दैलेख आठबिस नगरपालिका–७ घर भई हाल जिल्ला भरतपुर महानगरपालिका–७ का २७ वर्षीय पुष्पराज तिमिल्सेना छन् ।नेपाल राष्ट्र बैंकबाट मान्यता (इजाजत) प्राप्त रहेको भनी सर्वसाधारणलाई झुक्याउन सफल मेक्स मि इ–कमर्सले राम्रो ब्याज दिने संस्था रहेको भन्दै आर्थिक प्रलोभनमा पारेर निक्षेप सङ्कलन र ऋण प्रवाह गर्दै आइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार तिमिल्सेना आफैँले नेपाल राष्ट्र बैंकको नक्कली इजाजत पत्र तयार गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । सञ्चालक तिमिल्सेनाविरुद्ध ठगीसम्बन्धी अपराधको जाहेरीसमेत परेपछि प्रहरीले अनुसन्धान अघि बढाएको हो । उनलाई चितवन जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिनुभयो । प,क्राउ परेका तिमिल्सेनालाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २१ को दफा २४९ बमोजिम सात वर्ष कैद र रु ७० हजार जरिवान सजाय हुने कानूनी व्यवस्था छ ।
बरेङ गाउँपालिका जोड्ने सडक कालोपत्र
बलेवा, २० मङ्सिर । कुश्मीशेरा–बरेङ–शान्तिपुर सडकअन्र्तगत जैमिनी नगरपालिका–१० राङ्खानीदेखि बरेङ गाउँपालिका–१ चित्रेसम्मको सडक स्तरोन्नति तथा कालोपत्रेको काम सुरु भएको छ । गण्डकी प्रदेश सरकारको पालिका मुकाम जोड्ने सडक कालोपत्रे गर्ने योजनाअन्र्तगत यो सडकको ११ किलोमिटर खण्डको काम सुरु भएको हो । दुई वर्षमा कालोपत्रको काम सक्ने गरी सडक स्तरोन्नतिको जिम्मेवारी पाएको निर्माण कम्पनीले धमाधम काम थालेको छ । चालु आर्थिक वर्षमा सम्झौता भएको सडकको पहिलो चरणमा फराकिलो बनाउने काम थालिएको निर्माण कम्पनी रौताहा खानी धुलिखेल जेभी कन्ट्रक्सनका साइड इञ्चार्ज खेमराज सुवेदीले जानकारी दिनुभयो । “अहिले छवटा मेसिनले काम गरिरहेका छन्, आवश्यक गिट्टी, कङ्क्रिट तयार गर्ने काम भइरहेको छ”, उहाँले भन्नुभयो, “मजदुर आइपुगेका छन्, अब मजदुरले गर्ने काम सुरु हुन्छ ।” बरेङलाई सदरमुकाम र प्रदेश राजधानीसँग जोड्ने छोटो दूरीको सडक भएकाले समयमा निर्माणको काम सक्न दबाब छ ।
विसं २०५४ मा नक्साङ्कन गरिएको यो सडकको १५ वर्षअघि ट्याक खुलेको थियो । बागलुङको मालढुङ्गादेखि कुश्मीशेरा खण्डमा बिभिन्न क्लस्टरमा काम भइरहेको छ । कुश्मीशेरा, देवलधारा १० किमी खण्डको स्तरोन्नति तथा कालोपत्रेको काम म्याद सकिँदासम्म ३५ प्रतिशत सकिएको छ । म्याद थप भएकाले यो खण्ड र देवलधारादेखि नम्दुक हुँदै चित्रे खण्ड तयार हुँदा बरेङलाई सहज हुने गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले बताउनुभयो । “हामीले काममा आउने बाधामा सहजीकरण गरिरहेका छौँ, समयमा काम थाल्न र समयमा सक्न भनेका छौँ”, उहाँले भन्नुभयो, “यो बरेङका लागि अत्यावश्क सडक हो ।”
सडक फराकिलो र कालोपत्र हुँदा बरेङको आर्थिक विकासमा सहयोग पुग्ने गाउँपालिकाको विश्वास छ । प्रदेश सरकारको योजना भए पनि गाउँपालिकाले सडकको काममा चासो दिएको छ । गाउँपालिकाकै स्रोतमा बरेङ बजारमा गत आर्थिक वर्षमा कालोपत्र भएको सडकबाहेक यो सडकनै बरेङको पहिलो कालोपत्र सडक हुनेछ । चित्रेदेखि पालिका मुकाम रहेको सुदाला र पालिका मुकामदेखि छिमेकी जिल्ला गुल्मीको शान्तिपुरसम्मको सडक कालोपत्रका लागि समेत पहल भइरहेको छ । गत आर्थिक वर्षमा पूर्वाधार विकास साझेदारी कार्यक्रमबाट गाउँपालिकाले पालिका मुकामदेखि शान्तिपुर सडकको केही खण्ड फराकिलो बनाएको थियो ।


