पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना भाइरस सङ्क्रमण
काठमाडौँ, २१ मङ्सिर । पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ११ हजार ८१० जनाको कोरोना परीक्षण गरिएको थियो । योसँगै सक्रिय सङ्क्रमित सङ्ख्या नेपालमा ६ हजार ३५२ पुगेको छ । पछिल्लो २४ घण्टामा ३०४ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । योसँगै निको हुनेको सङ्ख्या आठ लाख पाँच हजार २०५ पुगेको छ । निको हुने दर ९७.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला काठमाडौँ र ललितपुर छन् । दुई सयभन्दा बढी सङ्क्रमित भएका जिल्लामा सुनसरी, भक्तपुर, कास्की, पूर्व नवलपरासी, बाँके र कैलाली छन् । यस्तै शून्य सङ्क्रमित भएका जिल्लामा मनाङ, मुस्ताङ, डोल्पा, हुम्ला, सल्यान र मुगु छन् । नेपालमा सङ्क्रमण दर १७.६ प्रतिशत रहेको छ । हाल होम आइसोलेशनमा ६ हजार १३, संस्थागत आइसोलेशनमा ३३९, आइसियुमा १२३ र भेन्टिलेटरमा ३० जनाको उपचार हुँदैछ ।
कोरोनाबाट दुई जनाको मृ,त्यु
पछिल्लो २४ घण्टामा कोरोनाबाट थप दुई जनाको मृ,त्यु भएको छ । योसँगै कोरोनाबाट मृ,त्यु हुनेको सङ्ख्या ११ हजार ५४५ पुगेको छ । त्यसैगरी पछिल्लो समय एक लाख २७ हजार ७५३ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । अहिलेसम्म खोपको पहिलो मात्रा एक करोड ५ लाख चार हजार ७६४ जनाले र पूर्ण मात्रा ८७ लाख ८० हजार ४३३ जनाले लगाएका छन् ।
मुख्यमन्त्री शाहीद्वारा कांगे्रस सहमहामन्त्रीको उम्मेदवारी घोषणा
कर्णाली, २१ मङ्सिर ।कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले नेपाली कांगे्रसको १४औँ महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेद्वारी घोषणा गर्नुभएको छ । कांगे्रसका केन्द्रीयसमेत रहनुभएका मुख्यमन्त्री शाहीले पिछडिएको क्षेत्रको कोटाबाट उक्त पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो । मुख्यमन्त्री शाहीका प्रमुख स्वकीय सचिव राज रोकायाले हालसम्म तीन कार्यकाल केन्द्रीय सदस्य भई पार्टी हितमा कुशलतापूर्वक भूमिका निर्वाह गरेका कारण यस पटक सहमहामन्त्री पदमा उहाँले मनोनयन दर्ता गर्ने बताउनुभयो ।
हुम्लाबाट प्रदेशसभामा प्रतिनिधित्व गर्दै मुख्यमन्त्री हुनुभएका शाही यसअघि सङ्घीय सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन र खानेपानीमन्त्री भइसक्नुभएको छ । प्रदेशसभामा कांगे्रसको ६ सिट मात्र भए पनि वर्तमान सत्ता गठबन्धन निर्माणको सुरुवात कर्णालीबाटै आफूहरुले गरेकाले पार्टी नेताहरुले उक्त भूमिकाको मूल्याङ्कन गर्दै सहमहामन्त्रीको जिम्मेवारी दिनुपर्ने शाहीको भनाइ छ ।


