परीक्षा बोर्डको अध्यक्षका लागि यी पाँच जना संक्षिप्त सूचीमा
काठमाडौँ, २३ मङ्सिर ।राष्ट्रिय परीक्षा बोर्डको रिक्त अध्यक्षको नियुक्तिका लागि सिफारिस गर्न गठित समितिले आवेदकमध्ये पाँच जनालाई संक्षिप्त सूचीमा समावेश गरेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक गरेको विवरणानुसार प्रा डा घनश्याम भट्टराई, दुर्गाप्रसाद पाण्डे, प्रा डा महानन्द चालिसे, डा महाश्रम शर्मा र प्रा डा शोभाखर कँडेललाई सो सूचीमा राखिएको छ । सूचीमा रहेका उम्मेदवारलाई अवधारणापत्र–कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लागि क्रमशः आगामी पुस १ र २ गते लोकसेवा आयोगको केन्द्रीय कार्यालयमा समय निर्धारण गरिएको छ ।
चितवनमा दुई ठूला महोत्सव सँगसँगै
चितवन, २३ मङ्सिर । विगतका वर्षहरुमा प्रत्येक वर्ष पालो मिलाएर हुने गरेका जिल्लाका दुई ठूला महोत्सव यस वर्ष सँगसँगै हुने भएका छन् । कोभिडका कारण गत वर्ष महोत्सव हुन नसकेपछि चितवन महोत्सव र रत्ननगर महोत्सव सँगसँगै हुन लागेका हुन् ।दुई–दुई वर्षमा हुँदै आएको चितवन महोत्सव एक वर्ष पछाडि सरेपछि नियमितरुपमा हुँदै आएको रत्ननगर महोत्सवसँगै परेको हो । उद्योग वाणिज्य सङ्घ–चितवन र रत्ननगर उद्योग वाणिज्य सङ्घले जिल्लाको उद्योग, व्यापार, व्यवसाय प्रवद्र्धन गर्ने उद्देश्यले प्रत्येक वर्ष आलोपालो गर्दै महोत्सव आयोजना गर्दै आएका छन् । विसं २०५९ बाट हरेक विजोर वर्षमा चितवन महोत्सव र जोर वर्षमा रत्ननगर महोत्सव हुँदै आएको छ ।
सोही निर्णयअनुसार अन्तिमपटक बिजोर वर्ष २०७५ मा चितवन महोत्सव भयो भने २०७६ मा रत्ननगर महोत्सव भएको थियो । यस वर्ष आगामी पुस २५ देखि माघ ४ गतेसम्म चितवन महोत्सव र पुस २७ देखि माघ ८ गतेसम्म रत्ननगर महोत्सव हुने भएको छ । चितवन महोत्सव नारायणी नदी किनारमा र रत्ननगर महोत्सब टिकौली चौरमा हुँदैछ । उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष राजु श्रेष्ठले दुई संस्थाबीच छलफल गरेर महोत्सव गर्न लागिएको बताउनुभयो । गत वर्ष कोभिडका कारण चितवन महोत्सव हुन नसकेकामा यस वर्ष गर्नुपरेको जनाउँदै उहाँले सल्लाहमा नै मिति तय भएको जानकारी दिनुभयो । एक अर्को संस्थाले आपसमा आवश्यक सहयोग गर्ने गरी काम अघि बढेको उहाँको भनाइ छ ।
उद्योग वाणिज्य सङ्घ रत्ननगरका अध्यक्ष अनिलकृष्ण श्रेष्ठले दुई संस्थाले फरक फरक वर्षमा महोत्सव गर्ने सम्भावना नरहेपछि सँगसँगै सहकार्य गरेर महोत्सव गर्न लागिएको बताउनुभयो । चितवन महोत्सवमा ४०४ कक्ष हुनेछन् । विगत वर्षहरुमा महोत्सवमा ५९० कक्षसम्म राखिएको भए पनि कोभिडका कारण सङ्ख्या घटाइएको वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठले बताउनुभयो । विगतको तथ्याङ्कलाई हेर्दा चितवन महोत्सवमा रु पाँच अर्ब हाराहारी व्यापार हुने गरेको थियो । पाँच लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ । पाँच सय ५० कक्ष रहने रत्ननगर महोत्सवमा यस वर्ष ३५० मात्रै राखिँदै छन् । चितवन महोत्सवको यो १३ औँ संस्करण हो भने रत्ननगर महोत्सवको ११ औँ संस्करण हो । जिल्लाकै कालिका नगरपालिकामा आजदेखि पदमपुर पर्यटक, सांस्कृतिक तथा व्यापारिक महोत्सव सुरु हुँदैछ । यहाँका थारु समुदायले पर्साको खैरहनीमा खिचरा महोत्सव गर्ने गर्दछन् । साना महोत्सव पालिकास्तरमा हुने गर्दछन् ।


