कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
काठमाडौँ, २३ मङ्सिर ।नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज मध्याह्न पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्दैछ ।बैठकमा शुक्रबारदेखि सुरु हुने पार्टीको १४औँ महाधिवेशनमा पेश गरिने कार्यसूची, महाधिवेशनको तयारीलगायत विषयमा छलफल हुने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।महाधिवेशन यही मङ्सिर २४ देखि २७ गतेसम्म काठमाडौँमा हँुदैछ । महाधिवेशनको उद्घाटन मङ्सिर २४ गते दिउँसो १ बजे भृकुटीमण्डपमा हुने र सोही स्थानमा रहेको हलमा बन्द सत्र हुनेछ भने भृकुटीमण्डप र राष्ट्रियसभा गृहमा मतदान हुने पार्टी कार्यालयले जनाएको छ ।पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार महाधिवेशन प्रतिनिधिको नामावली प्रकाशन यही मङ्सिर २४ गते बिहान १० बजे हुनेछ ।
यसैगरी उम्मेदवार मनोनयन दर्ता मङ्सिर २५ गते बिहान १० देखि साँझ ५ बजेसम्म, उम्मेदवारी मनोनयन दर्ता उपर दाबी विरोध र जाँचबुझ मङ्सिर २५ गते साँझ ५ देखि ७ बजेसम्म र दाबी विरोधउपर निर्णय मङ्सिर २५ गते साँझ ७ देखि ९ बजेसम्म हुने समितिले जनाएको छ । उम्मेदवारको पहिलो नामावली प्रकाशन मङ्सिर २५ गते राति ९ देखि १२ बजेसम्म, मनोनयन पत्र फिर्ता लिइसक्नुपर्ने समय मङ्सिर २६ गते विहान ११ बजेसम्म, उम्मेदवारको अन्तिम नामावली प्रकाशन मङ्सिर २६ गते दिउँसो १२ः१५ बजे र मतदान मङ्सिर २७ गते विहान ८ बजेदेखि हुने समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिनुभयो ।
परीक्षा बोर्डको अध्यक्षका लागि पाँच जना संक्षिप्त सूचीमा
काठमाडौँ, २३ मङ्सिर । राष्ट्रिय परीक्षा बोर्डको रिक्त अध्यक्षको नियुक्तिका लागि सिफारिस गर्न गठित समितिले आवेदकमध्ये पाँच जनालाई संक्षिप्त सूचीमा समावेश गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक गरेको विवरणानुसार प्रा डा घनश्याम भट्टराई, दुर्गाप्रसाद पाण्डे, प्रा डा महानन्द चालिसे, डा महाश्रम शर्मा र प्रा डा शोभाखर कँडेललाई सो सूचीमा राखिएको छ । सूचीमा रहेका उम्मेदवारलाई अवधारणापत्र–कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लागि क्रमशः आगामी पुस १ र २ गते लोकसेवा आयोगको केन्द्रीय कार्यालयमा समय निर्धारण गरिएको छ ।


