प्रधानमन्त्री देउवा-पार्टी महाधिवेशनको ऊर्जालाई चुनावसम्मै लैजाऊँ

काठमाडौँ, २३ मङ्सिर । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४औँ महाधिवेशनमा सहभागी हुन देशैभरिबाट उत्साहपूर्वक काठमाडौँ आएका नेता, कार्यकर्ताहरूलाई यही उत्साह र उर्जालाई आगामी चुनावसम्मै लैजान आग्रह गर्नुभएको छ ।
नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतद्वारा लिखित ‘नेपाली कांग्रेस एण्ड नेशन बिल्डिङ’ पुस्तकको आज यहाँ विमोचन गर्दै प्रधानमन्त्री देउवाले भन्नुभयो, “यो महाधिवेशनमा कांग्रेसका कार्यकर्तामा देखिएको ऊर्जालाई आगामी निर्वाचनसम्म लानुपर्छ र कांग्रेसलाई बहुमतप्राप्त पार्टी बनाउने कार्यमा तपाईँहरू सबै लाग्नुपर्छ ।”पुस्तक विमोचन समारोहमा उपस्थित नेपाली कांग्रेसका सयौँ महाधिवेशन प्रतिनिधिसँग उहाँले सकेसम्म सहमतिका आधारमा महाधिवेशनबाट नेतृत्व चयन गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “सकेसम्म हामी सहमतिबाटै नेतृत्व चयन गर्नेछौँ नभए प्रजातान्त्रिक प्रक्रियाबाट प्रतिस्पर्धामा जाने हो । तर पनि प्रतिस्पर्धामा हुने जितहारलाई स्वाभाविकरूपमा लिएर कुनै पनि प्रकारको कटुता राख्नु हुँदैन । जित्नेले पनि हार्नेलाई समेट्नुपर्छ, हार्नेले पनि सहयोग गर्नुपर्छ, यसलाई प्रजातान्त्रिक प्रक्रियाका रूपमा लिनुपर्छ, कुनै पनि प्रकारको कटुता, मनोमालिन्य राख्नु हँुदैन, असहिष्णु बन्नु हुँदैन ।”प्रधानमन्त्री देउवाले १४औँ महाधिवेशन नेपाली कांग्रेसका मात्र नभएर नेपालको प्रजातान्त्रिक भविष्यका लागि पनि एक महत्वपूर्ण अवसर भएको बताउनुभयो । उहाँले भन्नुभयो, “महाधिवेशन सफल पारेर फर्किएर नेपाली कांग्रेसलाई बलियो बनाउने र अबका सबै निर्वाचनहरूमा बहुमत हासिल गर्ने बनाउन साथीहरू लाग्नुहुनेछ ।”

कार्यक्रममा प्रधानमन्त्री देउवाले सहमहामन्त्री डा महतले बिपी कोइरालाको सरकारको अर्थव्यवस्थाका विषयमा पुस्तक लेखेर प्रसंशनीय काम गरेको बताउनुभयो । उहाँले डा महतलाई मेहेनती र आफूले पाएको जिम्मेवारी इमान्दारीपूर्वक पूरा गर्ने व्यक्ति भनेर टिप्पणी पनि गर्नुभयो ।सहमहामन्त्री डा महतले लेखेको ‘नेपाली कांग्रेस र नेशन बिल्डिङ’ नामक पुस्तक बिपी कोइराला प्रधानमन्त्री रहेको नेपालको पहिलो जननिर्वाचित सरकरको अर्थव्यवस्थाका बारेमा रहेको छ । सोही विषयमा डा महतले त्रिभुवन विश्वविद्यालयमा अर्थशास्त्र विषयको स्नातकोत्तरको शोध तयार गर्नुभएको र यसै विषयको केही संशोधित सागम्रीसहित पुस्तकका रूपमा प्रकाशन गरेको डा महतले जानकारी दिनुभयो ।

उहाँले त्यस समयमा नेपाली कांग्रेस पार्टी प्रतिबन्धित रहेको र उक्त विषयमा शोध तयार गर्न पनि निकै कठिन अवस्था रहेको भए पनि आफूले बिपी कोइरालाले नेपालमा प्रजातान्त्रिक समाजवादको अवधारणा के कसरी भित्र्याउनुभएको थियो भन्ने विषयमा आफ्नो शोध केन्द्रित गरेको बताउनुभयो ।साथै त्यस समयमा समाजवादी विचारमा बिपी कोइरालाको सरकारले के–कस्तो अर्थनीति अँगाल्ने प्रयास गरेको थियो भन्नेबारेमा अनुसन्धान गर्न आफू इच्छुक रहेकाले सोही विषयमा शोध तयार पारेको र अहिले पनि समाजवादी अवधारणाको महत्व उत्तिकै रहेकाले पुस्तकका रूपमा प्रकाशन गरेको डा महतले बताउनुभयो ।‘बिपी कोइराला स्कुल अफ पब्लिक पोलिसी’द्वारा प्रकाशित सो पुस्तकमाथि टिप्पणी गर्र्दै सो संस्थाका डा पोषराज पाण्डे र डा प्रभु बुढाथोकीले बिपी कोइरालाको पालामा रहेको नेपाली कांग्रेसको आर्थिक नीति नै आधुनिक नेपालको आर्थिक नीति रहेको कुरा सो पुस्तक पढेपछि थाहा हुने भन्दै नेपाली कांग्रेसको आर्थिक, सामाजिक नीतिका बारेमा यस पुस्तकले जानकारी दिने बताउनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।