सबैको बानी र संस्कारमा परिवर्तन ल्याउन आवश्यक-अध्यक्ष नेपाल
रुपन्देही, २५ मङ्सिर ।नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकलाई समाजवादको यात्रामा अगाडि बढाउन सबैको बानी र संस्कारमा परिवर्तन ल्याउन आवश्यक रहेकामा जोड दिनुभएको छ । समाजवादका निम्ति पूर्वाधार निर्माण गर्दै नेपाली समाजको चेतनामा परिवर्तन गरी सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने उहाँको भनाइ थियो । समाजमा दलाल पूँजीवाद हाबी भएका कारण यसले विकृति र विसङ्गति हुर्काएको उल्लेख गर्दै उहाँले त्यस्ता विकृतिबाट मुक्त भएर जनताका पीडा वेदनाको समाधान गर्न आवश्यक रहेकामा जोड दिनुभयो ।समाजवादी प्रेस सङ्गठनले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले समाजमा विद्यमान जातीय विभेद, महिला हिंसा, अन्याय, अत्याचार तथा उत्पीडनको अन्त्य गरी नागरिकलाई गास, बास र कपासको सुनिश्चितता गर्नु अहिलेको मुख्य कार्यभार रहेको बताउनुभयो ।
लोकतन्त्रका मूल्यमान्यताको रक्षा गर्दै समाज, राज्य सत्ता र राजनीतिक दलको लोकतान्त्रीकरण गर्नु नै जनताको बहुदलीय जनवाद भएको चर्चा गर्दै उहाँले मदन भण्डारीको यो विचारलाई स्थापित गर्दै पार्टी अगाडि बढेको उल्लेख गर्नुभयो । उहाँले पार्टीलाई वैचारिकरुपमा बलियो र गतिविधिका हिसाबले सशक्त बनाएर आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपान्तरणको दिशामा अगाडि बढाउने काम भइरहेको जनाउँदै यसले गुणात्मक उपस्थिति बलियो बनाउने बताउनुभयो ।कम्युनिष्ट पार्टीलाई विसर्जनमा जान नदिनका लागि नयाँ क्रान्तिकारी पार्टीको आवश्यकता देखिएका कारण नै समाजवादी पार्टी गठन गरिएको प्रष्ट पार्दै अध्यक्ष नेपालले राष्ट्रियसभाको निर्वाचनमा सत्ता गठबन्धनका दलहरु मिलेर जाने सहमति भएको जानकारी गराउनुभयो । उहाँले मुलुकमा राजतन्त्र फेरि स्थापित हुने कुरा असम्भव रहेको दोहो¥याउँदै इतिहासमा हराएका शक्तिबारे बहस नगर्न आग्रह गर्नुभयो । “अब राजतन्त्रको काम छैन, इतिहासमा समाप्त भइसकेको सामन्तवादलाई फेरि जगाउने काम नगरौँ, अग्रगामी सोँच राखेर अघि बढौँ”, उहाँले भन्नुभयो ।
ललितपुरमा विद्यार्थीका लागि विशेष चित्रकला कक्षा सञ्चालन
ललितपुर, २५ मङ्सिर ।चित्रकलाका माध्यमबाट अघि बढ्न चाहने विद्यार्थीका लागि यहाँ विशेष चित्रकला कक्षा सञ्चालन गरिएको छ । योङ पिकासोको आयोजना तथा प्रतिभा समाजको सहकार्यमा आजदेखि हरेक शनिबार बिहान ९ बजेदेखि ११ बजेसम्म दुई घण्टा कुपण्डोलस्थित हिमालय होटल अगाडिको सातोआकी भवन उक्त कक्षा चल्ने भएको हो । घरमा शनिबार बिदाका दिन के गरेर बसौँ भन्ने १२ कक्षासम्म अध्ययनरत विद्यार्थीका लागि सो कार्यक्रम अघि बढाइएको पिकासोका निर्देशक एवं चित्रकार अजय देसारले बताउनुभयो ।
उहाँले भन्नुभयो, “हामीले यस कक्षामा विद्यार्थीलाई उनीहरुको इच्छाअनुरुपको चित्र कोर्न सिकाउने छाँै, हरेक शनिबार मात्रै २५ विद्यार्थीलाई चित्रकला कोर्न सिकाइने छ ।” सुलभ शुल्कमा सो विद्यार्थीले छ महिनाको चित्रकला पाठ्यक्रमअर्थात् कोर्स सिक्न पाउने देशारले जानकारी गराउनुभयो ।
मुलुकमा केही समयअघि फैलिएको कोरोना महामारीका कारण विद्यार्थीले अतिरिक्त गतिविधिमा खासै ध्यान दिन नपाएका कारण कतै उनीहरुमा भएको खुबी हराउने त होइन भन्ने डरका कारण सो कक्षा सञ्चालन गरिएको पिकासोका चित्रकार सूर्य दूतराजले बताउनुभयो । मुलुकका विद्यालयमा खासै चित्रकला विषयपप्रति आकर्षण नदेखिएकाले सोतर्फ पनि विद्यार्थीको आकर्षण बढ्नुपर्छ भन्ने मनसायअनुरुप कक्षा चलाइएको अर्का चित्रकार सितु मास्केको भनाइ छ । पिकासोले नौ वर्षअघि ललितपुरमा स्थापना भएर यहाँका गाउँगाउँमा पुगी चित्रकलाको विकास गर्दै आएको छ । पिकासोमार्फत आफूहरुले वर्षको दुई पटक ललितपुरका धेरै ठाउँमा पुगी चित्रकला कोर्ने सिकाउने गरेको चित्रकार राजेश श्रेष्ठले बताउनुभयो ।


