उपत्यकासहित देशभर चिसो बढ्यो

काठमाडौँ, २५ मङ्सिर ।काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ । आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम यस वर्षकै सबैभन्दा कम ५.४ डिग्री मापन गरिएको छ । शुक्रबार उपत्यकाको न्यूनतम तापक्रम ६.५ डिग्री थियो । न्यूनतम तापक्रम घटेसँगै देशभर चिसो बढ्दै गएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै देशभर चिसो बढ्ने क्रममा रहेकाले बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
आगामी साताको मध्यतिर पश्चिमी वायुसँगै आएको पश्चिमी न्यूनचापीय प्रणाली (कुण्ड) का कारण सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशको हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको बताइएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम पाँच दशमलव चार डिग्री र अधिकतम तापक्रम २० दशमलव सात डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस चार दशमलव सात डिग्री र सबैभन्दा धेरै भैरवाको अधिकतम तापक्रम ३० दशमलव चार डिग्री सेल्सियस रहेको छ ।

समाजवादका लागि बानी र संस्कारमा परिवर्तन जरुरी छ : अध्यक्ष नेपाल
रुपन्देही, २५ मङ्सिर ।नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकलाई समाजवादको यात्रामा अगाडि बढाउन सबैको बानी र संस्कारमा परिवर्तन ल्याउन आवश्यक रहेकामा जोड दिनुभएको छ ।समाजवादका निम्ति पूर्वाधार निर्माण गर्दै नेपाली समाजको चेतनामा परिवर्तन गरी सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने उहाँको भनाइ थियो । समाजमा दलाल पूँजीवाद हाबी भएका कारण यसले विकृति र विसङ्गति हुर्काएको उल्लेख गर्दै उहाँले त्यस्ता विकृतिबाट मुक्त भएर जनताका पीडा वेदनाको समाधान गर्न आवश्यक रहेकामा जोड दिनुभयो ।समाजवादी प्रेस सङ्गठनले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले समाजमा विद्यमान जातीय विभेद, महिला हिंसा, अन्याय, अत्याचार तथा उत्पीडनको अन्त्य गरी नागरिकलाई गास, बास र कपासको सुनिश्चितता गर्नु अहिलेको मुख्य कार्यभार रहेको बताउनुभयो ।

लोकतन्त्रका मूल्यमान्यताको रक्षा गर्दै समाज, राज्य सत्ता र राजनीतिक दलको लोकतान्त्रीकरण गर्नु नै जनताको बहुदलीय जनवाद भएको चर्चा गर्दै उहाँले मदन भण्डारीको यो विचारलाई स्थापित गर्दै पार्टी अगाडि बढेको उल्लेख गर्नुभयो । उहाँले पार्टीलाई वैचारिकरुपमा बलियो र गतिविधिका हिसाबले सशक्त बनाएर आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपान्तरणको दिशामा अगाडि बढाउने काम भइरहेको जनाउँदै यसले गुणात्मक उपस्थिति बलियो बनाउने बताउनुभयो ।कम्युनिष्ट पार्टीलाई विसर्जनमा जान नदिनका लागि नयाँ क्रान्तिकारी पार्टीको आवश्यकता देखिएका कारण नै समाजवादी पार्टी गठन गरिएको प्रष्ट पार्दै अध्यक्ष नेपालले राष्ट्रियसभाको निर्वाचनमा सत्ता गठबन्धनका दलहरु मिलेर जाने सहमति भएको जानकारी गराउनुभयो । उहाँले मुलुकमा राजतन्त्र फेरि स्थापित हुने कुरा असम्भव रहेको दोहो¥याउँदै इतिहासमा हराएका शक्तिबारे बहस नगर्न आग्रह गर्नुभयो । “अब राजतन्त्रको काम छैन, इतिहासमा समाप्त भइसकेको सामन्तवादलाई फेरि जगाउने काम नगरौँ, अग्रगामी सोँच राखेर अघि बढौँ”, उहाँले भन्नुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।