राष्ट्रपति भण्डारी जुम्लामा
कर्णाली, २६ मङ्सिर ।राष्ट्रपति विद्यादेवी भण्डारी जुम्ला आइपुग्नुभएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा एमबीबीएसलगायतका शैक्षिक कार्यक्रम शुभारम्भ गर्न राष्ट्रपति भण्डारी हेलिकोप्टरबाट आज बिहान ११ः२० बजे जुम्ला आइपुग्नुभएको हो ।उहाँ प्रतिष्ठानबाट ७०० मिटर टाढा सदरमुकाम खलङ्गास्थित नेपाली सेनाको नन्दबक्स गणमा रहनुभएको र त्यहाँबाट राष्ट्रपति भण्डारी पैदलै कार्यक्रमस्थल आउन लागेको प्रतिष्ठानका उपकुलपति डा मङ्गल रावलले जानकारी दिनुभयो । “राष्ट्रपति भण्डारीले पहिलो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा एमबीबीएस, बी फार्मा, बिएनएस, बिएमएसलगायतका शैक्षिक कार्यक्रमको शुभारम्भ गर्नुहुनेछ,” डा रावलले भन्नुभयो, “त्यसपछि रु ७६ करोडको लागतमा निर्माण हुन लागेको चिकित्सा शिक्षाको शैक्षिक भवनकोसमेत शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।”
प्राङगारिक खेतीका लागि आईपीएम कृषक पाठशाला
म्याग्दी, २६ मङ्सिर । म्याग्दीको बेनी नगरपालिका–२ खबरामा एकीकृत शत्रुजीव व्यवस्थापन (आईपीएम) कृषक पाठशाला सञ्चालनमा आएको छ । कृषकलाई रासायनिक विषादी र मलको विकल्पमा प्राङ्गारिक विधिबाट खेती गर्न आवश्यक ज्ञान सीप प्रदान गर्ने उद्देश्यले क्षेत्रीय बाली संरक्षण प्रयोगशाला पोखराको आर्थिक सहयोगमा खबरा आईपीएम कृषक समूहमार्फत पाठशाला सञ्चालनमा आएको हो । समूहका सचिव सङ्गिता शर्माले स्थानीयस्तरमा उपलब्ध प्राङगारिक मल, गाईभैँसीको मुत्र र जैविक विषादीको प्रयोगबाट रोगकीरा पहिचान तथा व्यवस्थापन गर्न पाठशाला सञ्चालन गरिएको बताउनुभयो । “तितेपाती, असुरो, खरानी, गाईभैँसीको मुत्रको प्रयोगबाट खेतीबालीमा लाग्ने रोग कीरा नियन्त्रण गरी स्वच्छ फसल उत्पादन बढाउने उद्देश्यले पाठशालामा सहभागी भएका हौँ”, उहाँले भन्नुभयो “रासायनिक मल र विषादीका लागि हुने लगानी तथा स्वास्थ्यमा पर्ने असर न्यूनीकरणका लागि प्राङ्गारिक खेतीमा जोड दिएका छौँ ।”
गत कात्तिक २८ गतेदेखि सुरु भएको १६ हप्तासम्म सञ्चालन हुने पाठशालामा २५ जना कृषक सहभागी छन् । हरेक हप्ताको शनिबार चार घण्टा भेला गराएर सैद्धान्तिक विषयमा अभिमुखीकरणका साथै प्रयोगात्मक अभ्यास गराइएको आईपीएम सहजकर्ता सोबित शर्माले बताउनुभयो । प्रयोगात्मक अभ्यासका लागि एक रोपनी जमिनमा सामूहिक आलु खेती गरेका छन् । पाँच वटा प्लटमा आईपीएम र परम्परागत विधिबाट फरकफरक जातका आलुका विरुवा रोपेका छन् । जसबाट आईपीएम र परम्परागत विधिबाट खेती गर्दाको फरक पहिचान गर्न सकिने बताइएको छ ।
कृषकले सामूहिक तथा व्यक्तिगत हिसाबले पनि आलु र तरकारी खेती गरेको अर्का सहजकर्ता क्षेत्रबहादुर कटुवालले बताउनुभयो । “खेतीबालीमा शत्रुजीव मात्र हुँदैन, मित्रजीव पनि हुन्छन् भन्ने ज्ञान कृषकमा कम छ”, उहाँले भन्नुभयो, “कुन जीव मित्र र शुत्र हो भन्ने पहिचान नगरी जथाभावी विषादी प्रयोग गर्दा बेफाइदा गर्ने भएकाले शत्रृुजीवलाई जैविक विषादीबाट नष्ट गर्ने ज्ञान, सीप सिकाउन पाठशाला चलाउनु परेको हो ।” जिल्ला सदरमुकाम बेनी बजारसँगै रहेका खबरा व्यवसायिक तरकारी र केरा खेतीको पकेट क्षेत्र हो । करिब २०० घरधुरीको बसोबास रहेको खबरामा अधिकांशले तरकारी तथा केरा खेती गर्दै आएका छन् । दुई वर्षअघि केरा खेतीमा देखिएको बोट सुक्ने समस्या पनि जैविक विधिबाट समाधान गरिएको कृषकहरुले बताएका छन् । प्राङ्गारिक खेतीका लागि गाईभँैसीको गोठ सुधार र मुत्र सङ्कलन गर्न थालेका छन् ।


