छानोविहीन घरमा रात बिताउँदै वृद्ध दम्पती
दमौली । ढुंगामाटोले बनेको घर । खरले छाएको छानो, तर अहिले घरमा त्यही खरको छानो पनि छैन । गत असारमा गएको पहिराले घर भत्किएको छ । छानो नभएको घरमा छन् एक वृद्ध दम्पती ।कठ्यांग्रिँदो चिसोमा छानोविहीन घरमा बस्न बाध्य छन् म्याग्दे गाउँपालिका–५ झिरुवासका ७५ वर्षीय धनबल गुरुङ र उनकी श्रीमती । भत्किएको टहरो, च्यातिएको गुन्द्री र केही थान च्यातिएको कपडासहित धनबल दम्पती विगत छ महिनादेखि कष्टकर जीवनयापन गर्न बाध्य छन् । चिसोयाम, घरमा खाने अन्न र रातमा सुत्ने ओछ्यान नहुँदा धनबल भने श्रीमती र छोराछोरीका साथ भ,त्किएको टहरो हेर्दै बस्न बाध्य छन् ।
उमेरले नेटो काटिसकेको बुढ्यौली शरीर लिएर केही उपाय नलागेपछि उहाँहरु जो,खिमयुक्त टहरामा रात कटाउन बाध्य छन् । चार छोरा र पाँच छोरीका बुबा धनबलका छोरा सवारी चालक भए तापनि आर्थिक अवस्था कमजोर भएपछि छानो फेर्न सकेका छैनन् । जसोतसो माइलो छोरा आफैले ऋण खोजेर साउदी गए पनि बाँकी दुई छोराको जिम्मेवारी धनबलकै काँधमा छ ।सरकारले गरिब विपन्नका नाममा विभिन्न कार्यक्रम ल्याए पनि आफूहरुलाई कसैले नहेरेको उनको गुनासो छ । सरकारले सुरक्षित नागरिक आवास कार्यक्रम स्थानीय तहमार्फत् सञ्चालन गर्दै आए पनि त्यो कार्यक्रम धनबलसम्म पुग्न सकेको छैन । ‘सुन्दा त सरकारले के के कार्यक्रम ल्याएको छ भन्छन्, तर हामी यसरी बसेको छ महिना बित्न लागिसक्यो’, उनले भने ।
गत असारमा पहिरो गए पनि कुनै राहत नपाएको उनको गुनासो छ । ‘खरको छानो भत्किएर घरको नाल र भाटा नै भाँचिएका छन्, अन्त जाने ठाउँ छैन जसोतसो यही बसेका छौ’, उनले भने, ‘कसैले सहयोग गर्दैनन्, कहाँ जानु र ?’, सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत तत्काल खरको, अथवा कच्ची छानो हटाएर ५० हजार रुपैयाँ बराबरको जस्ताको छानो छाउने कार्यक्रम सरकारले लागू गरे पनि उनी यसबारेमा अनभिज्ञ छन् ।म्याग्दे गाउँपालिका–५ का वडाध्यक्ष शिवबहादुर आलेले पहिराले घर भत्किएपछि सुरक्षित स्थानमा सर्ने काम सम्बन्धित व्यक्तिको भएको प्रतिक्रिया दिए । ‘वडाध्यक्ष आफैले घर खोजेर राख्ने होइन, त्यो त सम्बन्धित व्यक्तिले गर्ने कुरा हो’, उनले भने । नागरिक आवास कार्यक्रमअन्तर्गत काम भइरहेको र त्यसले चाँडै पूर्णता पाउने उनले बताए ।
कांग्रेस महाधिवेशन : ५७ उममेदवारको उम्मेदवारी फिर्ता
काठमाडौँ, २६ मङ्सिर ।नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गतको निर्वाचन प्रक्रियामा ५७ उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको छ । पार्टीका केन्द्रीय निर्वाचन समितिका अनुसार उम्मेदवारले मनोनयनपत्र फिर्ता लिइसक्नुपर्ने समय आज दिउँसो १ बजेसम्म निर्धारण गरिएको थियो । फिर्ता लिनेमध्ये सभापति पदका उम्मेदवार युवराज न्यौपाने, सहमहामन्त्री पदका उम्मेदवार सुरेन्द्रप्रसाद चौधरीलगायत सदस्य रहेका समितिले जनाएको छ । यसैगरी सदस्यहरुमा जङ्गीलाल राय, सञ्जयकुमार यादव, गोविन्दराज बोहरा, मीन विश्वकर्मा दलित, सीताराम महतो मधेशी, जुनाकुमारी दानी, दीपक अधिकारी, भीमार्जुन आचार्य, इन्दिरा थापा, गणेशकुमार मण्डल, बिना पौडेल, भक्तबहादुर बलायर, माया राना, गोपीलाल विक, मीनाकुमारी थापा, विष्णु पौडेल, अनु गुरुङ, शकुन्तला थापा, महेशकुमार कोर्मोचा, सिंहबहादुर राना र सङ्गीता मण्डलले उम्मेदवारी फिर्ता लिनुभएको छ।
यस्तै केन्द्रीय सदस्यका उम्मेदवार सीता पौडेल, कमलप्रसाद भुसाल, उमेशकुमार बस्नेत, माधवप्रसाद आचार्य, केशवबहादुर चन्द, बिमल धमला, नीरबहादुर विक, राजुराज जोशी, गजेन्द्रबहादुर हमाल, रवीन्द्रमान श्रेष्ठ, दामोदर भुसाल, हरिमोहन भण्डारी, गणेशबहादुर खत्री, लोकप्रसाद सङ्ग्रौला, महेश नेपाली, बाला अधिकारी, मुरारिप्रसाद आचार्य, डा खगेन्द्र पाण्डव अधिकारी, देवराज भट्टराई, टेकनारायण महतो, राजेन्द्र जैसवाल, पार्वती शाह, इस्तियाक मोहमद खाँ, वीरवल राई, केशव थापा, माया क्षेत्री बराल कार्की, भूमिप्रसाद राजवंशी, प्रकाश महर्जन, रोहित विश्वकर्मा, टेकनारायण पाण्डे, देवीप्रसाद चौधरी, उत्तमप्रसाद चापागाइँ, युवराज गुरुङ, तीलप्रसाद सुब्बा र राजु गोर्खालीले पनि आफ्नो उम्मेदवारी मनोनयनपत्र फिर्ता लिनुभएको छ ।


