मत गणना सकियो : देउवाले पाए २२५८ र कोइरालाले १७२९
काठमाडौँ, २८ मङ्सिर। नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदको मतगणना सकिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले दुई हजार २५८ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी डा शेखर कोइरालाले एक हजार ७२९ मत प्राप्त गर्नुभएको छ भने सभापतिका प्रत्यासी प्रकाशमान सिंहले ३६०, विमलेन्द्र निधिले २३९ र कल्याण गुरूङले २० मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ । सोमबार बिहानदेखि रातिसम्म भएको मतदानमा जम्मा चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ मतदाताले मतदान गरेका थिए । कांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुनेछ । पहिलोपटक कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याएकाले अब पुनः दोस्रो चरणको मतदान हुने भएको छ । पुनः मतदान हुँदा बढी मत प्राप्त गर्ने उम्मेदवार विजयी हुनेछ । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३२ पदका लागि मतदान भएको थियो ।
विभिन्न योजनाका लागि रु पाँच करोड माग
दमौली, २८ मङ्सिर । तनहुँको भिमाद नगरपालिकामा रु पाँच करोडका योजना माग गरिएको छ । नेकपा (एकीकृत समाजवादी) भिमाद नगर कमिटीले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठलाई सोमबार मागपत्र बुझाउँदै विभिन्न योजनाका लागि बजेट बिनियोजन गर्न आग्रह गरेको हो ।नगर कमिटीका अध्यक्ष काजीमान श्रेष्ठले विभिन्न दश योजनाका लागि सङ्घीय सरकारबाट बजेट विनियोजन गरिदिन मन्त्री श्रेष्ठसमक्ष आग्रह गर्नुभयो । उहाँले सडकका ६, खानेपानीका दुई, बाँध निर्माण र पहिरो नियन्त्रणका एक÷एक योजनामा बजेट विनियोजन गर्न माग गरिएको जानकारी दिनुभयो । भिमाद नगरपालिकाअन्तर्गत भिमाद भागर मोटरमार्ग स्तरोन्नति, बगैँचा पोखरीडाँडा सडक ढलान, दैकेडाँडा खानापानी आयोजनालगायतका योजनाका लागि बजेट माग गरिएको छ ।
मन्त्री श्रेष्ठले समाजवादी पार्टीको सङ्गठन मजबुत बनाउनका लागि पनि अन्तर मन्त्रालयसँग समन्वय गरेर बजेट विनियोजन गराउने प्रतिबद्धता जनाउनुभयो । उहाँले समग्र विकासका लागि आफू प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।माओवादी केन्द्र गण्डकीमा तनहुँमा २१-
नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेश कमिटीको सदस्यमा तनहुँबाट २१ जना चयन हुनुभएको छ । आइतबार पोखरामा सम्पन्न प्रदेश कमिटीको अधिवेशनबाट तनहुँका २१ जना सदस्यमा चयन हुनुभएको हो ।तनहुँका नेताहरू हेमराज लामिछाने (क्षितिज), ओमराज आले (मदन), अतिन्द्र केशरी न्यौपाने, गीता शाही, सूर्यबहादुर गौली, रामबहादुर थापा, सर्वदा खनाल, मुक्ति सिग्देल, विकास श्रेष्ठ, विद्या क्षेत्री, सृजना सिग्देल, दिनेश गौतम, दिपक पन्त, शुक्र चुमान, खुम बहादुर विक, दिलबहादुर नेपाली, पूर्णसिंह थापा, भिमबहादुर राना, करुणा गुरुङ, जौ माया विक र देविका बुर्जा मगर चयन हुनुभएको छ ।


