प्रक्रियाभित्र रहेर असहमति राख्न सभामुखको आग्रह
काठमाडौँ, २८ मङ्सिर । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले संसदीय विधि र प्रक्रियाभित्र रहेर आफ्ना असहमति राख्न प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)लाई आग्रह गर्नुभएको छ । सभाको १०औँ अधिवेशनको पहिलो बैठकमा नारावाजीसहित बेल घेराउ गरिरहेका सो दलका सांसद्लाई सभाको नियमावलीतर्फ ध्यानाकर्षण गराउँदै सभामुख सापकोटाले संसदीय व्यवस्था सिद्धान्त मात्र नभएर समन्वयात्मक अभ्यास पनि भएकाले परिस्थिति र अवस्था सँधै नहुने हुँदा सरकारलाई काम गर्न दिन र संसद् सञ्चालनमा सघाउन सांसद्हरुको ध्यानाकर्षण गराउनुभयो । जनप्रतिनिधिहरुको सर्वाेच्च निकाय संसद् आफ्नो नियम र विधि पालनामा बढी सचेत हुनुपर्ने भएकाले प्रक्रियाभित्र रहेर असहमति राख्न उहाँले आग्रह गर्नुभयो ।
सभामुखले बैठक सञ्चालनका लागि प्रतिनिधिसभा नियमावली, २०७५को नियम ६ को उपनियम २ बमोजिम पटक पटक आग्रह गर्दै सर्वाेच्च अदालतमा विचाराधीन विषयमा संसद्मा छलफल गर्न नपाइएको संवैधानिक व्यवस्थाबारे पनि ध्यानाकर्षण गराउनुभयो । तत्पश्चात् सभामुखले लोकतन्त्र र गणतन्त्र स्थापनामा शाहदत प्राप्त गर्ने शहीदप्रति एक मिनेट मौन धारण गर्न आग्रह गर्दा भने प्रमुख प्रतिपक्षका सांसद् मौन रहेका थिए । सभामुखले सभामुखको अनुपस्थितिमा सदनको कारबाही अघि बढाउन केही सांसद् मनोनयन गर्नुभयो । एमालेले भने उक्त सूचीमा आफूहरुले कुनै नाम नदिएको जनाएको छ । विरोधबीच बैठकमा कार्यसूची अघि बढाइएको छ ।
एमालेले सदन अवरोध कायमै राख्ने
काठमाडौँ, २८ मङ्सिर ।आफूले कारबाही गरेका सांसद्लाई सभामुखले नहटाएकामा असन्तुष्ट प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आजबाट सुरु हुने सङ्घीय संसद्को अधिवेशनमा पनि विरोध कायमै राख्ने जनाएको छ । सो पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीको अध्यक्षतामा आज सम्पन्न दलको बैठकमा विरोध कायमै राख्ने निर्णय भएको हो । गत साउन १ गते एमालेका तत्कालीन नेता माधवकुमार नेपालसहित १४ सांसद्लाई कारबाहीका लागि सिफारिश गरिएकामा सभामुखबाट त्यसको सुनुवाइ नभएको आरोप एमालेले लगाउँदै आएको छ ।
आजको बैठकमा सो पार्टीका अध्यक्ष ओलीले आफू अन्याय सहेर निरीह भएर बस्न नसक्ने भएकाले विरोध कायम राख्ने र आवश्यक परे अवरोध गर्ने चेतावनी दिनुभयो । अध्यक्ष ओलीले संसदीय समितिमा एमालेले आफ्नो हैसियतका आधारमा सभापतिमा हेरफेर हुनुपर्ने अडान व्यक्त गर्नुभयो । उहाँले राज्यका सबै अङ्ग प्रभावहीन अवस्थामा पुगेको जिकिर गर्दै आफू देशहितका पक्षमा सशक्तरुपमा उभिने बताउनुभयो । सभामुख सापकोटाले आज बोलाउनुभएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमालेका तर्फबाट खगराज अधिकारी र कृष्णभक्त पोखरेल सहभागी भई सांसद्लाई कारबाही नगरेसम्म संसद् नचल्ने अवगत गराएको जानकारी गराउनुभएको थियो ।


