कांग्रेस सभापतिका लागि पुनःमतदान सुरुः प्रधानमन्त्रीद्वारा मतदान

काठमाडौँ, २८ मङ्सिर । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदको पुनः मतदान सुरु भएको छ ।सोमबार भएको निर्वाचनमा सभापति पदमा प्रत्यासी कसैको पनि ५१ प्रतिशत मत नपुगेपछि पार्टीको विधान अनुसार सभापति पदका लागि पुनःनिर्वाचन हुन लागेको हो । कांग्रेस केन्द्रीय निर्वाचन समितिले सभापति पदका प्रत्यासीमध्ये कसैको पनि कूल खसेको मतको ५१ प्रतिशत ल्याउन नसकेपछि आज अपरान्ह ३ः३० देखि साँझ ७ः३० बजेसम्म पुनः मतदान गर्ने तयारी गरेको समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिनुभयो ।पहिलो चरणको मतदानमा प्रधानमन्त्री एवं सभापति देउवाले दुई हजार २५८ र उहाँका निकटतम प्रतिद्वन्द्वी पार्टीका केन्द्रीय सदस्य डा शेखर कोइरालाले एक हजार ७०२ मत प्राप्त गर्नुभयो । सभापतिका अन्य प्रत्यासी पूर्वमहामन्त्री सिंहले ३७१, उपसभापति बिमलेन्द्र निधिले २५० र केन्द्रीय सदस्य कल्याण गुरूङले २२ मत प्राप्त गर्नुभएको थियो ।

काठमाडौँको राष्ट्रियसभा गृहमा कायम गरिएको मतदानस्थलमा सभापतिका दुवै प्रत्यासी प्रधानमन्त्री देउवा र नेता कोइराला मतदान स्थलमा उपस्थित हुनुहुन्छ । यसैबीच सभापतिका उम्मेदवार प्रधानमन्त्री देउवाले मतदान गर्नुभएको छ । सोमबार बिहानदेखि रातिसम्म भएको मतदानमा जम्मा चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ मतदाताले मतदान गरेका थिए । मतदानमा कूल ७६ मत बदर भएको थियो । कांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुन्छ ।
पहिलो पटक कुनै पनि उम्मेदवारले ५० प्रतिशत भन्दा बढी मत नल्याएमा सबैभन्दा बढी मत ल्याउने दुई जना बीच पुनः मतदान हुन्छ । विधान अनुसार, पुनः मतदान हुँदा बढीमत प्राप्त गर्ने उम्मेदवार विजयी हुनेछ । यसैबीच सभापति पदका प्रत्यासी देउवालाई पहिलो चरणका सभापतिका अन्य प्रत्यासीहरु सिंह, निधि र गुरुङले समर्थन गर्नुभएको छ ।

एक हजार बढी कांग्रेस महाधिवेशन प्रतिनिधिको स्वास्थ्य परीक्षण
काठमाडौँ, २८ मङ्सिर ।नेपाली कांग्रेसको १४औँ महाधिवेशनका लागि महाधिवेशनस्थल भृकुटीमण्डपको मुख्य प्रवेशद्वार नजिक स्थापना गरिएको स्वास्थ्य शिविरमा एक हजारभन्दा बढी महाधिवेशन प्रतिनिधिले स्वास्थ्य सेवा लिनुभएको छ ।महाधिवेशनका लागि पार्टीले पूर्वमन्त्री एवम् नेता मोहनबहादुर बस्नेत संयोजक रहनुभएको स्वास्थ्य समिति गठन गरेको थियो । शिविरमा महाधिवेशन प्रतिनिधिले खासगरी उच्च रक्तचाँप र मधुमेहसम्वन्धी परीक्षण गराउनुभएको डा हेमन्त गौतमले जानकारी दिनुभयो ।महाधिवेशन प्रतिनिधिलाई शिविरमा स्वास्थ्य परीक्षण गराई निःशुल्क औषधि प्रदान गर्ने व्यवस्था मिलाइएको छ ।

महाधिवेशनका लागि प्राडा रामचन्द्र अधिकारीको नेतृत्वमा १० सदस्य स्वास्थ्य टोली खटिएको छ । परीक्षण आउने मध्य केहीमा सामान्य रुघाखोकी र झाडापखालासम्वन्धी समस्या देखिएको पनि डा गौतमले बताउनुभयो । कोभिड–१९ को सङ्क्रमणको जोखिमलाई मध्येनजर गरी शिविरबाट महाधिवेशन प्रतिनिधिलगायतलाई मास्क र स्यानिटाइजर निःशुल्क वितरण वितरण गरिएको छ । साथै समितिले मतदान प्रवेशद्वारमा पूरै शरिर स्यानिटाइज हुने व्यवस्था मिलाएको छ । महाधिवेशनका लागि स्वास्थ्य सेवा विभाग र औषधि उत्पादक कम्पनीले निःशुल्क औषधिको व्यवस्था गरेको हो । महाधिवेशनका लागि नरदेवी आयुर्वेदिक अस्पतालबाट औषधिसहित कविराजको टोली पनि खटिएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖