महामन्त्री पदको छ घण्टाभित्र मतपरिणाम आइसक्ने
काठमाडौँ, १ पुस ।नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना अहिले १०ः२० बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ । काँग्रेस केन्द्रीय निर्वाचन समिति सदस्य सिताराम केसीले मतगणना तीन स्थानमा सुरु गरिएको र छ घण्टाभित्र मतपरिणाम आइसक्ने राससलाई जानकारी दिनुभयो । कांग्रेस विधानअनुसार केन्द्रीय कार्यसमितिका दुई महामन्त्रीका लागि सोमबार निर्वाचन भएको थियो । महामन्त्री पदमा पार्टीका युवा नेताहरु गगनकुमार थापा, डा प्रकाशशरण महत, प्रदिप पौडेल, डा मीनेन्द्र रिजाल, डा राजाराम कार्की र विश्वप्रकाश शर्मा उम्मेदवार हुनुहुन्छ। सोमबारको मतदानमा चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ मतदाताले मतदान गरेका थिए । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३४ पदका लागि मतदान भएको थियो । सभापति पदको भने महाधिवेशनस्थल राष्ट्रिय सभागृहमा बुधबार मतगणना सम्पन्न भई प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा सभापतिमा पुनः निर्वाचित भइसक्नुभएको छ।
सभापतिबाहेक अन्य पदको मतगणना कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सुरु गरिएको हो । यसैगरी दुई उपसभापति पदको बुधबार मतगणना सम्पन्न भई पूर्णबहादुुर खड्का र धनराज गुरुङ निर्वाचित भइसक्नुभएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ । यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी÷जनजाती १५, खस÷आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यक बाट एक, अपाङ्बाट एक सदस्य गरी कुल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने हालको विधानको व्यवस्था छ । यसबाहेक केन्द्रीय सभापतिले ३३ जना मनोनित गर्ने विधानमा उल्लेख छ ।
‘कांग्रेस महाधिवेशनले महिला नेतृत्वमा आउने मार्ग कोरिएको छ’
काठमाडौँ, १ पुस ।नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले पार्टीको १४ औँ महाधिवेशनले निकट भविष्यमा महिला पार्टीको नेतृत्वमा आउनसक्ने मार्ग कोरिएको बताउनुभएको छ ।
कांग्रेसको उपसभापतिमा भर्खरै पराजित हुनुभएकी नेत्री कोइरालाले आज एक विज्ञप्ति जारी गरी देशको कुना काप्चाबाट पार्टीको महाधिवेशनमा सहभागी भएका महिला प्रतिनिधीको मुहारमा आशा र उत्साह देखिएको जनाउँदै निकट भविष्यमा कांग्रेसको नेतृत्वमा महिला आउने बताउनुभएको हो । “कांग्रेस पार्टी र राज्यका हरेक निकायमा महिलाको समान सहभागिताका लागि मैले उठाएको मुद्दाले राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरमा स्थान पाएको छ”, विज्ञप्तिमा भनिएको छ ।
नेत्री कोइरालाले भविष्यमा आफूले उठाएको मुद्दामा प्रतिबद्ध भई समानताको सङ्घर्षमा अविचलित रही अगाडि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको छ । उहाँले गिरिजाप्रसाद कोइरालाको सहमति, सहकार्य र एकताको आदर्शबाट सधँै प्रेरित रहेको जनाउँदै पार्टी र देशमा सहमति, सहकार्य र एकताको खाँचो रहेको बताउनुभयो । नेत्री कोइरालाले उपसभापतिमा आफूसँग प्रतिस्पर्धा गरेर विजयी हुनुभएका पूर्णबहादुर खड्का र धनराज गुरुङलाई बधाई एवं सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ ।


