बढ्यो सुनको मूल्य

काठमाडौँ, २ पुस । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजारले बढेर रु ९४ हजार पुगेको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९३ हजार मा कारोबार भएको थियो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९३ हजार ५०० कायम भएको छ जसको मूल्य बिहीबार प्रतितोला रु ९२ हजार ५०० तोकिएको थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १५ ले बढेर रु एक हजार २५० तोकिएको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८०३ डलर आसपास कारोबार भइरहेको छ ।

व्यवस्थित बसपार्क नहुँदा समस्या
डोटी, २ पुस । पुरानो क्षेत्रीय सदरमुकाम दिपायलमा व्यवस्थित बसपार्क नहुँदा समस्या उत्पन्न भइरहेको छ । प्रमुख व्यापारिक केन्द्र पिपल्ला बजार छेउमा निर्माण गरिएको बसपार्क सानो भएकाले अहिले चालकलाई सवारी पार्किङदेखि अन्य काम गर्न समस्या भएको हो । बसपार्क सानो तथा सवारीको चाप बढी भएकाले यात्रुलाई बीच सडकबाटै गाडीमा चढाउने र झार्ने काम हुँदै आएको शैैलेश्वरी यातायात प्रालिका कार्यालय प्रमुख प्रेमबहादुर रावलले बताउनुभयो । उहाँले भन्नुभयो, “बसपार्क सानो छ, चार÷पाँच गाडी राख्नेबित्तिकै पूरै भरिन्छ, अन्य गाडी सडकमै पार्किङ गर्नुपर्दा समस्या भएको छ ।” अधिकांश सवारी सडकमै राखिँदा यहाँको ट्राफिक व्यवस्थापनमा समस्या हुँदै आएको जिल्ला ट्राफिक कार्यालय दिपायलका केशवबहादुर खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “ट्राफिक व्यवस्थापनमा पनि चुनौती थपिएको छ ।”

दिपायलस्थित पिपल्लाका राजमार्गमा सवारी राखिने गर्नाले यहाँबाट अछाम, बाजुरा तथा डडेल्धुरा जाने सवारीलाई पनि समस्या छ । बसपार्क ठूलो र गतिलो नभएका कारण सवारी मूल सडकबाटै पार्किङ गर्नुपर्ने बाध्यता आएको सवारी चालक बताउँछन् । उक्त राजमार्ग भएर साना ठूला गरी दैनिक ५०० भन्दा बढी सवारी आउजाउ गर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलले जनाएको छ । जिल्लामा पछिल्लो केही वर्षयता यात्रुवाहक सवारीका अलवा ट्रक, टिपर, लहरी, ट्र्याक्टर, टेम्पो र अन्य भारवाहन यातायातका साधनको चाप दिनहँु बढ्दै गएकाले बसपार्कमा ठाउँ अभाव भएको बसपार्क निर्माण गर्ने जिम्मा पाएको दिपायल सिलगढी नगरपालिकाका नगर उपप्रमुख शिवराज खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्लामा सवारीको सङ्ख्या वर्षेनी थपिँदै गएको छ, बसपार्क व्यवस्थित र ठूलो बनाउनका लागि जग्गा खरिद प्रक्रिया अगाडि बढाएका छौँ, जग्गा पाए बसपार्क व्यवस्थित गर्नेछौँ ।”

यात्रुवाहकले यात्रु झार्नेदेखि चढाउने र भारवाहन सवारीले सर–सामान लोड–अनलोड गर्ने काम सडकमै गर्ने भएकाले ट्राफिक व्यवस्थापनमा चुनौतीपूर्ण भएको जिल्ला प्रहरी कार्यालयका सहसूचना अधिकारी रवीन्द्र चन्दले जानकारी दिनुभयो । सडकको दायाँ र बायाँ फुटपाथसमेत नभएकाले सवारीको चापका कारण नागरिकलाई बजारमा हिँडडुल गर्नै समस्या भएको स्थानीयवासी बताउँछन् । सडकको केन्द्रविन्दुदेखि दायाँ र बायाँतिर १५÷१५ मिटर छाड्नुपर्ने सडक विभागको मापदण्ड भए पनि यहाँ उक्त मापदण्डको कुनै पालना नगरिएको स्थानीयवासीको आरोप छ । यतिमात्र नभई कतिपय पसलले सडकमै सर–सामान राख्ने र घरधनीले विभिन्न निर्माण सामग्री पनि सडक छेउछाउमै राख्ने भएकाले सदरमुकाम क्षेत्रमा सवारी साधन चलाउन निकै समस्या भइरहेको दिपायल पिपल्लाका स्थानीयवासी दिव्यराज पाठकले बताउनुभयो ।

यहाँका राजपुर, पिपल्लामा सडक विभागले सडक मापदण्डअनुसार सडक छेउछाउमा निर्माण गरेका घरटहरा हटाउन निकै प्रयत्न गरे पनि सडक क्षेत्र खाली गराउन नसकिएको डिभिजन सडक कार्यालय कुलपाते दिपायलले जनाएको छ । सडक छेउको जग्गा खाली गराउन खोज्दा उल्टै स्थानीयवासीले मुद्दा दायर गरेपछि सर्वोच्चसम्म मुद्दा लड्नुपरेको र हाल सर्वोच्चले सडक विभागका पक्षमा फैसला गरिसके पनि कार्यान्वयन हुन नसकेको कार्यालयको दाबी छ ।बसपार्क अभावमा दैनिक क्युमा छुट्ने गाडी छुट्न नपाउने अवस्था सिर्जना भएको र जिल्लाका ग्रामीण क्षेत्रका साथै अन्य जिल्लाबाट आएका सवारी पार्किङ गर्नै नपाइने अवस्था रहेको शैलेश्वरी यातायात व्यवसायीका अध्यक्ष गणेश मलासीले बताउनुभयो । बसपार्कको अभावका कारण ट्राफिक व्यवस्थापनमा समस्या भएपछि बजारकोस्वरुप नै कुरुप भइरहेको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।