कांग्रेसका पाँच सहमहामन्त्रीको मतगणना हुँदै

काठमाडौँ, २ पुस ।नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनमा बाँकी पाँच क्लस्टरको सहमहामन्त्री पदको मतगणना आज हुँदैछ ।
कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार केहीबेरपछि सहमहामन्त्रीको मतगणना सुरु गर्ने तयारी भइरहेको छ । कांग्रेसका महामन्त्री पदको आठ क्लस्टरमध्ये तीनको बिहीबार मतपरिणाम आइसकेकाले आज बाँकी पाँच क्लस्टरको मतगणना हुन लागेको हो । कांग्रेस सहमहामन्त्रीमा आठ जना निर्वाचित हुने व्यवस्था छ । महिला, दलित र आदिवासी जनताति क्लस्टरको सहमहामन्त्री पदको मतपरिणामअनुसार महिलातर्फ महालक्ष्मी उपाध्याय ‘डिना’, दलिततर्फ जीवन परियार र आदिवासी जनजातितर्फ भीष्मराज आङ्देम्बे निर्वाचित हुनुभएको थियो । सहमहामन्त्री पदका बाँकी पाँच क्लस्टरमध्ये अब खसआर्य, मधेसी, थारु, मुस्लिम र पिछडिएको क्लस्टरको मतगणना हुनेछ ।

खसआर्य समूहमा किशोरसिंह राठोर, देवराज चालिसे, मधेसी क्लस्टरबाट सहमहामन्त्रीमा महेन्द्र यादव र रामकृष्ण यादव प्रतिस्पर्धामा हुनुहुन्छ । थारु क्लस्टरको सहमहामन्त्रीमा उमाकान्त चौधरी, तेजुलाल चौधरी तथा मुस्लिम क्लस्टरबाट फरमुल्लाह मन्सुर र शेख वकिल चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । त्यसैगरी पिछडिएको समूहबाट जीवनबहादुर शाही, बद्री पाण्डे र चेतराज बराल उम्मेदवार छन् । कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट सभापतिमा शेरबहादुर देउवा विजयी हुनुभएको छ भने उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित हुनुभएको छ । त्यस्तै महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा विजयी हुनुभएको छ । महाधिवेशनमा भएको निर्वाचनअन्तर्गत अब सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना बाँकी छ । कांग्रेसको सभापतिबाहेकका पदाधिकारी र सदस्यको पार्टी केन्द्रीय कार्यालय सानेपामा मतगणना भइरहेको हो ।

व्यवस्थित बसपार्क नहुँदा समस्या
डोटी, २ पुस । पुरानो क्षेत्रीय सदरमुकाम दिपायलमा व्यवस्थित बसपार्क नहुँदा समस्या उत्पन्न भइरहेको छ । प्रमुख व्यापारिक केन्द्र पिपल्ला बजार छेउमा निर्माण गरिएको बसपार्क सानो भएकाले अहिले चालकलाई सवारी पार्किङदेखि अन्य काम गर्न समस्या भएको हो । बसपार्क सानो तथा सवारीको चाप बढी भएकाले यात्रुलाई बीच सडकबाटै गाडीमा चढाउने र झार्ने काम हुँदै आएको शैैलेश्वरी यातायात प्रालिका कार्यालय प्रमुख प्रेमबहादुर रावलले बताउनुभयो । उहाँले भन्नुभयो, “बसपार्क सानो छ, चार÷पाँच गाडी राख्नेबित्तिकै पूरै भरिन्छ, अन्य गाडी सडकमै पार्किङ गर्नुपर्दा समस्या भएको छ ।” अधिकांश सवारी सडकमै राखिँदा यहाँको ट्राफिक व्यवस्थापनमा समस्या हुँदै आएको जिल्ला ट्राफिक कार्यालय दिपायलका केशवबहादुर खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “ट्राफिक व्यवस्थापनमा पनि चुनौती थपिएको छ ।” दिपायलस्थित पिपल्लाका राजमार्गमा सवारी राखिने गर्नाले यहाँबाट अछाम, बाजुरा तथा डडेल्धुरा जाने सवारीलाई पनि समस्या छ । बसपार्क ठूलो र गतिलो नभएका कारण सवारी मूल सडकबाटै पार्किङ गर्नुपर्ने बाध्यता आएको सवारी चालक बताउँछन् ।

उक्त राजमार्ग भएर साना ठूला गरी दैनिक ५०० भन्दा बढी सवारी आउजाउ गर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलले जनाएको छ । जिल्लामा पछिल्लो केही वर्षयता यात्रुवाहक सवारीका अलवा ट्रक, टिपर, लहरी, ट्र्याक्टर, टेम्पो र अन्य भारवाहन यातायातका साधनको चाप दिनहँु बढ्दै गएकाले बसपार्कमा ठाउँ अभाव भएको बसपार्क निर्माण गर्ने जिम्मा पाएको दिपायल सिलगढी नगरपालिकाका नगर उपप्रमुख शिवराज खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्लामा सवारीको सङ्ख्या वर्षेनी थपिँदै गएको छ, बसपार्क व्यवस्थित र ठूलो बनाउनका लागि जग्गा खरिद प्रक्रिया अगाडि बढाएका छौँ, जग्गा पाए बसपार्क व्यवस्थित गर्नेछौँ ।” यात्रुवाहकले यात्रु झार्नेदेखि चढाउने र भारवाहन सवारीले सर–सामान लोड–अनलोड गर्ने काम सडकमै गर्ने भएकाले ट्राफिक व्यवस्थापनमा चुनौतीपूर्ण भएको जिल्ला प्रहरी कार्यालयका सहसूचना अधिकारी रवीन्द्र चन्दले जानकारी दिनुभयो । सडकको दायाँ र बायाँ फुटपाथसमेत नभएकाले सवारीको चापका कारण नागरिकलाई बजारमा हिँडडुल गर्नै समस्या भएको स्थानीयवासी बताउँछन् । सडकको केन्द्रविन्दुदेखि दायाँ र बायाँतिर १५÷१५ मिटर छाड्नुपर्ने सडक विभागको मापदण्ड भए पनि यहाँ उक्त मापदण्डको कुनै पालना नगरिएको स्थानीयवासीको आरोप छ ।

यतिमात्र नभई कतिपय पसलले सडकमै सर–सामान राख्ने र घरधनीले विभिन्न निर्माण सामग्री पनि सडक छेउछाउमै राख्ने भएकाले सदरमुकाम क्षेत्रमा सवारी साधन चलाउन निकै समस्या भइरहेको दिपायल पिपल्लाका स्थानीयवासी दिव्यराज पाठकले बताउनुभयो । यहाँका राजपुर, पिपल्लामा सडक विभागले सडक मापदण्डअनुसार सडक छेउछाउमा निर्माण गरेका घरटहरा हटाउन निकै प्रयत्न गरे पनि सडक क्षेत्र खाली गराउन नसकिएको डिभिजन सडक कार्यालय कुलपाते दिपायलले जनाएको छ । सडक छेउको जग्गा खाली गराउन खोज्दा उल्टै स्थानीयवासीले मुद्दा दायर गरेपछि सर्वोच्चसम्म मुद्दा लड्नुपरेको र हाल सर्वोच्चले सडक विभागका पक्षमा फैसला गरिसके पनि कार्यान्वयन हुन नसकेको कार्यालयको दाबी छ। बसपार्क अभावमा दैनिक क्युमा छुट्ने गाडी छुट्न नपाउने अवस्था सिर्जना भएको र जिल्लाका ग्रामीण क्षेत्रका साथै अन्य जिल्लाबाट आएका सवारी पार्किङ गर्नै नपाइने अवस्था रहेको शैलेश्वरी यातायात व्यवसायीका अध्यक्ष गणेश मलासीले बताउनुभयो । बसपार्कको अभावका कारण ट्राफिक व्यवस्थापनमा समस्या भएपछि बजारकोस्वरुप नै कुरुप भइरहेको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖