एमाले महासचि-विकास र समृद्धिको नेतृत्वकर्ताको भूमिकामा एमालेलाई स्थापित गरिनेछ
काठमाडौँ, २ पुस । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले आगामी चुनावबाट विकास र समृद्धिको नेतृत्वकर्ताको भूमिकामा एमालेलाई स्थापित गरिने जनाउनुभएको छ ।
सो पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनपछिका केन्द्रीय कमिटीका बैठकका निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा महासचिव पोखरेलले वर्तमान सत्ता गठनबन्धनका माध्यमबाट जनताको विकास र समृद्धिको नेतृत्व सम्भव नहुने भएकाले सबै पार्टीमा रहेको देशभक्त र समृद्धिका पक्षधरलााई एमालेमा एकता र प्रवेश गराउने अभियान सञ्चालन गर्ने जानकारी दिनुभयो ।सामाजिक न्याय र लोककल्याणकारी कार्यक्रमसहित पूर्वाधार विकासका माध्यमबाट ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गराउने क्रममा एमाले नेतृत्वको अघिल्लो सरकारले उल्लेखनीय काम गरेको बताउनुभयो ।
महासचिव पोखरेलले महाधिवेशनका निर्वाचनका क्रममा विद्युतीय भोटिङ मेसिनको प्रयोग छिटोछरितोरुपमा परिणाम आएको र यो अभ्यास अन्य पार्टीका लागि सिकाइ हुनसक्ने बताउनुभयो । महाधिवेशनपछि अध्यक्ष केपी शर्मा ओलीले बिहीबार पहिलो पटक अन्तरपार्टी निर्देशन (अपानि) जारी गर्नुभएको थियो । गत मङ्सिर १० देखि १४ गतेसम्म चितवनको सौराहामा सम्पन्न महाधिवेशनबाट निर्वाचित ३०१ सदस्यीय केन्द्रीय कमिटीको पहिलो बैठक मङ्सिर १४ गते सौराहामा र दोस्रो बैठक मङ्सिर २५ र २६ गते भक्तपुरको गठ्ठाघरमा सम्पन्न भएको थियो । दोस्रो बैठकले ४४ जनालाई मनोनयन गरेको थियो । अपानिमा तीन बैठकमा निर्णय समावेश गरिएको छ । दोस्रो बैठकले केन्द्रीय कमिटीमा मनोनयन, नेताहरुको कार्यविभाजन, पार्टी प्रवेश र महाधिवेशनको सन्देश प्रवाहका लागि योजना निर्माण, जनसङ्गठनको सुदृढीकरणलगायतका विषयमा निर्णय गरेको थियो ।
आँधीखोलामा माछाका भुरा छाडियो
स्याङ्जा, २ पुस । आँधीखोला गाउँपालिकाले पर्यावरणीय सन्तुलन कायम गर्न आँधीखोलामा एक लाख माछाका भुरा छाडेको छ । गाउँपालिकाले बिहीबार आँधीखोलाको विभिन्न १० ठाउँमा माछाका भुरा छोडेको हो । कालीगण्डकी माछा प्रजनन केन्द्रबाट माछाका भुरा ल्याइएको थियो । माछाको पारिस्थितिकीय प्रणालीमा असर परेको जनाउँदै वातावरणीय प्रभाव सन्तुलनका लागि माछाका भुरा छाडिएको गाउँपालिकाले जनाएको छ । करेन्ट र विषादी प्रयोगले परम्परागत र स्थानीय जातका माछा लोप हुने खतरा बढेपछि स्थानीय जातका माछाका भुरा छाडिएको आँधीखोला गाउँपालिका अध्यक्ष सुधीरकुमार पौडेलले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “नदी, ताल र खोलाको जैविक विविधता कायम गर्न, पानी शुद्ध राख्न र पानीमा अक्सिजनको मात्रा बढाउन माछाको भूमिका महत्वपूर्ण हुन्छ, जैविक विविधता नभएको नदी ताल तथा खोलाको कुनै महत्व हुँदैन”, यसको महत्व जोगाइराख्न माछाका भुरा छाडिएको हो । गाउँपालिका उपाध्यक्ष शर्मिला देवी पौडेलले स्थानीय जातका माछा संरक्षण गर्दै आँधीखोलाका माछालाई ब्राण्डिङ गर्नुपर्ने बताउनुभयो । जलारी समुदायको जीवनयापनको आधार माछा भएको र यसका लागि उत्पादन संरक्षणमा गाउँपालिकाले विशेष चासो दिएको थियो ।
खोलामा साना भुरा छोड्दा बकुल्लोलगायतका विभिन्न चरा तथा सर्पलेसमेत खाने सम्भावना बढी रहेकाले कम्तीमा पनि १५ देखि २५ ग्रामका माछा छोडिएको कृषि प्राविधिक विवेक आचार्यले बताउनुभयो । हेडे २५ हजार, गर्दी २५ हजार, ठेड २५ हजार र सहर जातका २५ हजार माछा तालमा छाडिएको गाउँपालिकाका सूचना प्रविधि अधिकृत रोशन लामिछानेले जानकारी दिनुभयो । आँधीखोलामा खोलामा माछाका भुरा छाडिएसँगै गाउँपालिकाले अर्को सूचना नआएसम्म खोलामा जाल हान्ने, ढडिया थाप्ने, करेन्ट लगाउने, विषादी हाल्ने जस्ता तरिकाले माछा मार्नसमेत बन्द गरेको गाउँपालिकाले जनाएको छ ।


