बजेटको तीस प्रतिशत रकम पुसभित्र खर्च गरिसक्न अर्थमन्त्रीको निर्देशन

काठमाडौँ, २ पुस । अर्थमन्त्री जनार्दन शर्माले पुस महिनाभित्र आ–आफ्नो मन्त्रालयको बजेटको ३० प्रतिशत रकम खर्च गरिसक्न सबै मन्त्रालयसम्बद्ध पदाधिकारीलाई निर्देशन दिनुभएको छ । पुँजीगत खर्च बढाउने सम्बन्धमा आज अर्थमन्त्रालयमा गरिएको अन्तरमन्त्रालय छलफलमा उहाँले पुँजीगत खर्च हुन नसक्दा तरलतामा समेत असर परेको उल्लेख गर्दै विकास खर्च गर्ने मन्त्रालयहरूलाई चाँडो खर्च गर्न ताकेता गर्नुभयो । “बजेट कार्यान्वयनमा कुनै मन्त्रालयले ढिलासुस्ती गर्न मिल्दैन, अर्थ मन्त्रालयले पनि गर्ने छैन, आफ्नो मन्त्रालयका निम्ति विनियोजन भएको बजेटको ३० प्रतिशत यो महिनाभित्र खर्च भएको हुनुपर्छ”, समयमै पुँजीगत खर्च गर्न अर्थ मन्त्रालयका तर्फबाट समन्वयलगायत हुनुुपर्ने सम्पूर्ण काम समयमै गर्ने प्रतिबद्धता व्यक्त गर्दै अर्थमन्त्री शर्माले भन्नुभयो ।

बजेट खर्चको चौमासिक समीक्षा गर्दा खर्च हुन नसकेको भेटिए रकमान्तर गरिने चेतावनी दिँदै उहाँले आर्थिक वर्षको अन्तिममा बजेट निकास गर्ने परिपाटी अन्त्य गर्ने दृढता व्यक्त गर्नुभयो । समयमै खर्च नहुने स्थिति उत्पन्न भए प्रदेश तथा स्थानीय तहलगायत खर्च हुने स्थानमा बजेट स्थानान्तरण गरिने उहाँले बताउनुभयो । भिन्न प्रसङ्गमा मन्त्री शर्माले अर्थ मन्त्रालयमा फाइल आएको तीन दिनभित्र त्यसको जवाफ पठाउन निर्देशन दिनुभयो । प्रशासनिक झमेला र ढिलासुस्ती हुन नदिन सबैलाई सचेत तुल्याउँदै उहाँले त्यस्तो निर्देशन दिनुभएको हो । छलफलमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादव, स्वास्थ्यमन्त्री विरोध खतिवडा, खानेपानीमन्त्री उमाकान्त चौधरीलगायत सहभागी हुनुहुन्थ्यो ।

खाद्य संस्थान भन्छः ‘धान किन्छाँै तर स्तरीय मात्रै’
महेन्द्रनगर, २ पुस ।खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कञ्चनपुरले सरकारले तोकेको मापदण्डका आधारमा स्तरीय धान मात्रै खरिद गरिने जनाएको छ कैलाली÷कञ्चनपुरमा किसानले धान बिक्री भई नरहेको दुखेसो पोखिरहेका बेला कम्पनीले सरकारले तोकेको मापदण्डका आधारमा स्तरीय धान खरिद गरिने जनाएको हो । गत कात्तिक पहिलो साता कञ्चनपुरमा आएको बमौसमी वर्षाका कारण ६९ हजार २७३ मेट्रिकटन धान क्षति भएको थियो । यहाँ छ हजार क्विन्टल धान खरिदको कोटा पाएको कम्पनीले मापदण्डका आधारमा एक सातादेखि धान खरिद गरिरहेको सो कार्यालयका प्रमुख प्रचण्ड उपाध्यायले जानकारी दिनुभयो ।“हामीले मापदण्डमा रहेर राम्रो धान खरिद गर्ने हो”, उहाँले भन्नुभयो, “किसान राम्रोदेखि भिजेको धानसमेत ल्याउँदा छान्नु परेको छ ।”

उहाँले प्रतिक्विन्टल रु दुई हजार ७५२ धान खरिद गरिरहेको जानकारी दिनुभयो । यता किसानले धान बिक्रीमा समस्या भइरहेको गुनासो गर्नुभयो । यहाँको भीमदत्त नगरपालिका–१३ का रामबहादुर जोशीले धान बिक्री गर्दा समस्या हुनुका साथै लागत अनुरुपको मूल्यसमेत नपाइरहेको बताउनुभयो । कृषि ज्ञानकेन्द्र कञ्चनपुरका प्रमुख डा डिलबहादुर विष्टले यसपटक एक लाख ९३ हजार ९८४ मेट्रिकटन धान यहाँ उत्पादन भएको जानकारी दिनुभयो । “उत्पादन भएकामध्ये ६९ हजार २७३ मेट्रिकटन क्षति भयो”, उहाँले भन्नुभयो, “कूल ४८ हजार ४९३ हेक्टर क्षेत्रफलमा धानखेती गरिएकामध्ये करिब ३५ प्रतिशत क्षति हुन पुग्यो ।” धानखेती समेट्ने बेला आएको वर्षात्ले खेतमै धान कुहिनुका साथै बाढीलेसमेत बगाएर लगेको थियो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।