मेलिनालाई रुवाएको ‘तिम्ले बाटो फेर्‍यौं अरे’ गीतको तेस्रो भर्सन सार्वजनिक, यस्तो छ कारुणिक कथा

काठमाडौं, ९ पुस/गीतकार दर्पण राईको एकजना साथी थिए, सिंगापुर प्रहरीमा कार्यरत । सिंगापुर जागिरमै रहँदा नेपालमा एक युवतीसँग उनको अफेयर चलेको थियो । गहिरो प्रेममा थिए दुवै । नेपाल आएपछि उनीहरुको गहिरो प्रेमले बिहेको आकार पनि लियो ।तर, बिहेपछि जब ति साथी डिउटीमा हाजिर हुन सिंगापुर फर्किए, यता त्यसको केही महिनापछि खबर सुने, ‘श्रीमतीले अर्कैसँग बिहे गरिन् ।’

यो खबरले उनलाई विक्षिप्त त बनाउने नै भयो, सँगसँगै मानसिक सन्तुलन नै गुमाउने अवस्थामा पुगे । साथीको यो सब कथा नजिकबाट नियालिरहेका दर्पणले अनि लेखे, ‘तिमीले बाटो फेर्‍यौं अरे, अर्कैलाई हेर्‍यौं अरे ।’६ वर्षअघि राजेशपायल राइ र मेलिना राइ दुवैको आवाजमा फरक–फरक भर्सनमा रेकर्ड भएर बजारमा सार्वजनिक भएको गीत हो यो । गीत यति रुचाइयो कि युट्युबमा सर्वाधिक हेरिएको आधुनिक गीतको सूचीमा पर्‍यो । मेलिनाले गाएको भर्सन त दुई करोड भ्यूजको नजिक छ।

‘मैले त आफ्नो नजिकको साथीको कथालाई महसुस गरेर लेखेको थिएँ, तर यो धेरै मान्छेहरुको जीवनसँग पनि नजिक हुन पुगेछ, सायद उहाँहरुलाई आफ्नै वरपरको कथा जस्तो पनि लाग्यो, त्यसैले रुचाइदिनुभयो,’ दर्पण सुनाउँछन् । गीतको पहिलो भर्सन हिट भएपछि दर्पणले तीनवर्षअघि यसको दोश्रो भर्सन निकालेका थिए र अहिले तेश्रो भर्सन लिएर आएका छन् बजारमा । उनलाई साथीको त्यो वियोगान्त कथा पहिलो भर्सनमै भनेर पुगेको छैन। सिक्वेल नै ल्याइरहेका छन्।

‘यो नाममात्रै सिक्वेल होइन। यसको हरेक भर्सनको अघिल्लो भर्सन सम्बन्ध छ। मलाई साथीको कथा भनेर पुगेकै छैन। त्यसैले जबजब मलाई उसको कथाले हिर्काउँछ, म शब्दमा कोरिहाल्छु,’उनी भावुक सुनिए। यो गीत लेख्दै गर्दा सर्जकका हिसाबले दर्पण त भावुक हुने नै भए तर तीनवटै सिक्वेलमा स्वर दिएकी मेलिनासँग समेत यसको मिठो संस्मरण छ।

कथा हो तीन वर्षअघिको । काठमाडौंस्थित अनामनगरको एमएमएस इन्टरटेन्मेन्टको स्टुडियोमा ‘तिम्ले बाटो फेर्‍यौं अरे–२’को भिडियो सुटिङ भइरहेको थियो। भिडियोमा लिपसिंकका लागि सजिएर आइपुगेकी थिइन्, मेलिना । माहोल रमाइलै थियो । तर, जब मेलिनाले यो गीतको अन्तरा गाउँदै गइन्, एक्कासीका उनका आँखा आँशुले टिलपिल भए । लिपसिंक दिनै सकिनन् । वरिपरि मौनता छायो । निर्देशकदेखि क्यामेराम्यानसम्म सब शान्त भए ।

‘त्यतिबेला मेलिनाजी रोएपछि आधा घन्टा हाम्रो सुटिङ नै रोकिएको थियो । खै किन रुनुभयो त्यो त थाहा छैन तर पक्कै गीतले छोएर रुनुभयो,’ दर्पणले सम्झिए ।मेलिनालाई पनि यो गीतको सबैभन्दा छुने पार्ट नै अन्तरा हो । भन्छिन्, ‘गीतको अन्तरा ‘तिम्ले बाटो फेर्‍यौ अरे, अर्कैलाई हेर्‍यौ अरे’गाउँदा रोएकी थिएँ। मलाई यो गीतको सबैभन्दा मनपर्ने पार्ट नै यो अन्तरा हो ।’

पहिलो र दोस्रो संस्करणपछि हालै सार्वजनिक भएको यो गीतको तेस्रो भर्सनले पाइरहेको तारिफले पनि दंग छन्, दर्पण । छोटो समयमा गीतलाई युट्युबमा चार लाख ५३ हजार भन्दा बढी पल्ट हेरिएको छ। ‘क्वालिटीका हिसाबले पहिलो र दोस्रो भर्सनभन्दा अझ मिहनेत गरेका छौं । गीत स्लो भर्सनमा छ । सायद श्रोताले उस्तै प्रेम गर्नुहुनेछ,’ दर्पण आशावादी छन् ।

तेस्रो भर्सनमा स्वर मेलिनाकै छ भने यसमा संगीत विक्रम राइले भरेका छन् । दोस्रो भर्सनमा पनि विक्रमकै संगीत थियो तर पहिलो भर्सनमा भने टंक बुढाथोकीले संगीत गरेका थिए । शान थापाले निर्देशन गरेको तेस्रो भर्सनको भिडियोमा पनि दर्पण र मेलिना नै फिचर्ड छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।