सुन्तला : कतै लहर, कतै रहर

कास्की – दुई दशकअघिसम्म कास्कीका धेरैजसाे ठाउँमा सुन्तला राम्रै फल्ने गर्दथ्यो । सुन्तलाकै कारण जिल्लाको भरतपोखरी, हंसपुर, दोपहरे फेदीपाटन जस्ता ठाउँ चर्चित थिए ।पछिल्ला वर्षमा यहाँका भरतपोखरी, हंसपुर, पुरञ्चौरलगायतका ठाउँमा सुन्तला चाख्न पनि रहर बनेको छ । जिल्लाकै फेदीपाटन, दोपहरे, खच्याङ, मास्पाटनलगायतका ठाउँमा भने पछिल्ला केही वर्षयता सुन्तलाको उत्पादन बढ्दै गएको छ ।सिक्टस ग्रिनिङलगायतका भाइरसका कारण धेरैजसाे ठाउँमा सुन्तला सखाप भए पनि पोखरा महानगरपालिका– २१ फेदीपाटनमा भने केही वर्षयता सुन्तलाको उत्पादन बढ्दै गएको यहाँका कृषक बताउँछन् । यस वर्षमा याे क्षेत्रमा सुन्तला बिक्रीबाट कृषकले २२ लाख रुपैयाँभन्दा बढी रकम भित्र्याउन सफल भएका छन् ।पोखरा महानगरपालिकाको प्रमुख प्रविधिमैत्री सुन्तला बगैँचा व्यवस्थापन अभियानको प्रभावकारीतासँगै बोटको आयु बढ्नु र सुन्तला उत्पादनमा समेत वृद्धि भएको फेदीपाटनका कृषक प्रकाश पौडेल जानकारी दिनुभयो ।

उहाँका अनुसार अभियानले कृषकमा उत्साह थपे पनि सुन्तलाको फूल खेल्ने र फल लाग्ने समयमा बारम्बार पर्ने असिनाले प्रत्येक वर्ष पुर्‍याउँदै आएको क्षतिका कारण यस क्षेत्रका कृषक अहिले पनि चिन्तित छन् ।उहाँले भन्नुभयो ,’बुबाको पालामा सुरु गरेको ४० रोपनी भिरोलो पाखो जग्गामा अहिले लगभग ६०० सुन्तलाका बोट छन् । धेरैले उत्पादन दिँदै आएका छन् यस वर्ष सुन्तला बिक्रीबाट सात लाख ३० हजार रुपैयाँ आम्दानी भएको छ ।’ उत्पादित सुन्तला बिक्री हुँदै न कि भन्नु पर्दैन टेकेदार बगैँचामै आएर टिपेर लैजाने गरेका छन् । उहाँले भन्नुभयो, ‘फागुन र चैत महिनामा परेको असिनाले सुन्तलामा ठूलो क्षति पुगेका कारण कम आम्दानी भएको हो प्राकृतिक प्रकोप नपरेको भए यस वर्ष त्यसको दोब्बर आम्दानी हुने थियो ।’

महानगरपालिकाले सुरु गरेको अभियानले सुन्तला कृषकलाई आशा जगाएको बताउँदै पौडेलले थप्नुभयो, ‘अनुदानले बगैँचा व्यवस्थापनमा सहयोग पुगेको छ, अब असिनाबाट सुन्तलाको फल र बोट जोगाउन नेटको व्यवस्था गर्नुपर्ने अपरिहार्य भएको छ ‘। सुन्तला बगैँचा सुदृढ र व्यवस्थापन गरेबापत उहाँले अभियानबाट गएकाे आवमा ६० हजार २०० रुपैयाँ अनुदान प्राप्त गर्नुभएको थियो ।स्थानीय अर्का कृषक नारायण पौडेलले यस वर्ष सुन्तला बिक्रीबाट दुई लाख ५० हजार रुपैयाँ आम्दानी गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘असिनाबाट बचेको सुन्तलाको दाना राम्रै थियो बोटबाटै बिक्री गर्दा दुई लाख ५० हजार रुपैयाँ आम्दानी भयो, असिनाले क्षति नपुर्याएको पाँच लाख रुपैयाँभन्दा बढी पर्ने थियो ।’ रोगसहित जङ्गली जनावरबाट ठूलै क्षति हुने गरेको उहाँको भनाइ छ ।

सिक्टस ग्रिनिङलगायतका भाइरस एवं रोगका कारण सुन्तला खेती सङ्कटग्रस्त बन्दै गएपछि व्यावसायिक सुन्तलाखेतीमा कृषकलाई प्रेरित गर्दै उनीहरुको आम्दानीमा समेत वृद्धि गर्ने लक्ष्यका साथ महानगरले प्रमुख प्रविधिमैत्री सुन्तला बगैँचा व्यवस्थापन अभियान सञ्चालन गरेको हो ।किसानलाई प्रोत्साहन गर्दै सुन्तला क्षेत्रको विस्तार गर्ने लक्ष्यसाथ तीन वर्षयता सञ्चालित अभियानअन्तर्गत अहिलेसम्म ४५ लाख रुपैयाँ अनुदान हस्तान्तरण गरेको छ भने यस आर्थिक वर्षका लागि २० लाख रुपैयाँ बजेट विनियोजन गरिएको महानगर कृषि महाशाखा प्रमुख मनहर कँडरियाले जानकारी दिनुभयो ।

मलखाद प्रयोग गरेका पाँच वर्षमाथिका बिरुवाको प्रतिबिरुवा ३०, बोडो पेस्टलगायतका बिरुवाको ३०, बोडो मिक्स्चर स्प्रे गरेका बिरुवालाई २० र छापो प्रयोग गरेका बिरुवालाई २० रुपैयाँका दरले प्रोत्साहनस्वरुप अनुदान रकम प्रदान गर्दै आएको बताउँदै उहाँले घोषित पकेट क्षेत्रका २०४ बगैँचाका २० हजार बिरुवाले उत्पादन दिएको बताउनुभयो ।’अभियानले महानगरपालिका–२१ र २२ मा अभियान सञ्चालन भएको छ’, उहाँले भन्नुभयो, ‘चालु आर्थिक वर्षमा २०४ कृषकलाई सुन्तला बगैँचामै पुगेर बोट सङ्ख्याका आधारमा १५ लाख रुपैयाँ अनुदान वितरण गरिएको हो ।’

महाशाखा प्रमुख कँडरियाले भन्नुभयो, ‘असिनाबाट क्षति कम गर्नका लागि सुन्तलाको बोट माथि नेट राख्नुको विकल्प छैन, एक रोपनी क्षेत्रफलमा नेट लगाउँदा २५ देखि ३० हजार रुपैयाँसम्म खर्च लाग्दछ । याे प्रविधि भित्र्याउन महाशाखाले सोच बनाएको छ ।’ पाँच वर्षभन्दा माथिका प्रतिसुन्तलाका बोटलाई महाशाखाले १०० रुपैयाँ अनुदान दिँदै आएको छ, जसमा पाँच हजार अनुदान प्राप्त गर्ने कृषकबाट ४०० र त्योभन्दा माथिको हकमा ८०० रुपैयाँ कट्टा गरी त्यस रकमबाट सुन्तलाका नयाँ बिरुवा रोप्न कृषकलाई प्रेरित गर्दै आएको उहाँको भनाइ छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।