वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह
काठमाडौं । पश्चिमी वायुको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपात तथा पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना देखिएको छ । यस प्रणालीको प्रभाव आगामी बुधबारसम्म कायम रहने जल तथा मौसम विज्ञान विभागका मौसमविद् सविना शाक्यले बताए । उनका अनुसार पश्चिमी वायुको प्रभावले अधिकतम र न्यूनतम तापक्रममा गिरावट आई चिसो बढ्ने छ । सोमबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत अन्य पहाडी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । सुदूरपश्चिम, कर्णाली प्रदेशलगायत अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको पनि सम्भावना रहेको बताइएको छ ।
मौसम पूर्वानुमान महाशाखाले देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको तथा देशका पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको र तराईका भूभागमा बिहानको समयमा हुस्सु-कुहिरो लाग्नाका साथै देशभर चिसो बढ्नेक्रम रहेकाले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनसमेत सबैमा अनुरोध गरेको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम चार दशमलव एक डिग्री र अधिकतम तापक्रम १७ दशमलव चार डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस चार दशमलव नौ डिग्री र सबैभन्दा धेरै भैरहवाको अधिकतम तापक्रम २८ दशमलव तीन डिग्री सेल्सियस रहेको छ ।
यो पनि पढ्नुहोस्..प्रदेश १ सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ। राजेन्द्र राई नेतृत्वमा गठबन्धन सरकार बनेको दुई महिना पुग्नै लागि शनिबार सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिएको हो।न्यूनतम साझा कार्यक्रममा प्रदेशको नामकरणको विषयले प्राथमिकतामा पाएको छ। पाँच दलीय गठबन्धनको समर्थनमा गएको कात्तिक १६ गते राई मुख्यमन्त्री नियुक्त भएका थिए। सङ्घीय सरकारले उपलब्ध गराउने कोरोनाविरुद्धको खोपलाई प्रदेशलेसमेत आफ्नो न्यूनतम साझा कार्यक्रममा राखे पनि मूल प्राथमिकतामा भने प्रदेशको नामकरणलाई दिएको छ। मुख्य क्षेत्रगत प्राथमिकता भनेर १७ बुँदामा कार्यक्रम सार्वजनिक गरे पनि नाम बाहेकका अन्य विषयहरूलाई भने सरकारले सामान्यीकरण गरेर प्रस्तुत गरेको छ।
त्यस्तै, राजनीतिक आन्दोलनमा घाइते भएकाहरूको परिवारका सदस्यलाई रोजगारी दिने कार्य योजना सरकारको छ। अत्यावश्यक अन्य कार्यक्रम भन्दै सरकारले राजनीतिक आन्दोलनमा घाइते तथा अङ्गभङ्ग भएका परिवारको एक जना सदस्यलाई रोजगारी दिने जनाएको छ। तर, त्यसलाई कसरी कार्यान्वयन गर्ने भन्ने स्पष्ट पारिएको छैन।कोभिड–१९ उपचारमा खटिएकाहरूका लागि प्रोत्साहन भत्ता, व्यक्तिगत सुरक्षा सामग्री दिने, दुर्गम क्षेत्रमा खटिएका स्वास्थ्यकर्मीहरूका लागि विशेष सुविधासहितको आर्थिक प्याकेज ल्याउनेसहितका विषय साझा कार्यक्रममा उल्लेख छन्।प्रदेश १ सरकारले काङ्ग्रेस सांसद शेखरचन्द्र थापाको नेतृत्वमा न्यूनतम साझा कार्यक्रम तयार गर्नका लागि कार्यदल गठन गरेको थियो।
कार्यदलले‘ सहमति ‘सहकार्य, जवाफदेही, उत्तरदायी, कानुनी शासन, पारदर्शी, समतामूलक समावेशीसहित सुशासित प्रदेश १’ नारा समावेश गरेर सार्वजनिक गरिएको साझा कार्यक्रममा प्रदेशको अल्पकालीन र दीर्घकालीन महत्त्वका विषय समावेश छन्।
साझा कार्यक्रममा प्रदेशको नामाङ्कन, कोरोनाविरुद्ध खोप अभियान, राहत कार्यक्रम, सङ्घीयताको कार्यान्वयन, सुशासन जस्ता विषयलाई प्राथमिकतामा राखिएको छ।कार्यदलले बनाएको प्रतिवेदनलाई मुख्यमन्त्री राजेन्द्र राईले कार्यान्वयनमा लैजाने आश्वासन दिएका छन्। ‘यो दलहरूको संयन्त्रबाट प्रतिवेदन सार्वजनिक भएको छ,’ उनले भने, ‘यसलाई आधार बनाएर सरकारले नीति कार्यक्रमहरू अगाडि बढाउनेछ।’प्रतिवेदनमा छुटेका विषयहरू थपेर कार्यान्वयनमा लैजाने प्रतिवद्धतासमेत उनले व्यक्त गरे। ‘यो सरकारको साझा कार्यक्रम मात्रै होइन। दलहरुको गाइडलाईन पनि हो,’ मुख्यमन्त्री राइले भने, ‘सरकार विस्तार गरी प्राथमिकताका आधारमा काम अघि बढाउने छौँ।’


