सभापति शेरबहादुर देउवाले आज पार्टीका यी नेतालाई केन्द्रीय सदस्यमा गरे मनोनयन
काठमाडौँ, १८ पुस ।प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका नेताहरू जीवनबहादुर शाही, प्रदीप पौडेल र कल्याणकुमार गुरुङलाई पार्टीको केन्द्रीय सदस्यमा मनोनयन गर्नुभएको छ ।पार्टीको गत मङ्सिर २४ देखि २८ गतेसम्म सम्पन्न १४औँ महाधिवेशनबाट सभापतिमा पुनःनिर्वाचित हुनुभएका देउवाले पार्टीको विधान, २०१७ (संशोधन सहित) को दफा २१(१०) बमोजिम उहाँहरुलाई केन्द्रीय सदस्यमा मनोनयन गर्नुभएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
मनोनित हुनुभएकामध्ये गुरुङ सभापतिमा, पौडेल महामन्त्रीमा र शाही सहमहामन्त्रीमा पराजित हुनुभएको थियो । सभापति देउवाले यसअघि शनिबार वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरु प्रकाशमान सिंह, बिमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा प्रकाशशरण महत, डा नारायण खड्का, उमा रेग्मी, सुजाता कोइराला र मीनबहादुर विश्वकर्मालाई केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गर्नुभएको थियो ।विधानअनुसार १४औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा केन्द्रीय कार्यसमितिका १३४ पदाधिकारी र सदस्य निर्वाचित हुनुभएको थियो । यसबाहेक केन्द्रीय सभापतिले ३३ जना मनोनित गर्ने विधानमा व्यवस्था छ ।
यो पनि पढ्नुहोस..लमजुङ, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धन चुनावसम्म नटुट्ने बताएका छन् । लमजुङको सदरमुकाम बेसीशहरमा शनिबार भएको एकीकृत समाजवादीको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । नेपालले भने, ‘हामी पाँच दलीय गठबन्धनले नै राष्ट्रिय सभामा साझा उम्मेदवार बनाएर जानेछौं ।’
यही गठबन्धनले स्थानीय ,प्रदेश र केन्द्रीय तहसम्मको निर्वाचनमा पनि यो गठबन्धन सँगै हुनेछ । नेता नेपालले एकीकृत समाजवादी पार्टी सेवाभावले ओतप्रोत भएका नेता कार्यकर्ताहरूको पार्टी भएको दाबी गरे । उनले लुटेरा, भ्रष्टाचारी, अनैतिक क्रियाकलापमा रमाउनेहरू आफ्नो पार्टीमा नअटाउने भन्दै इमानदार व्यक्तिहरूलाई मात्रै पार्टीमा स्वागत गर्ने बताए । नेकपा एमाले अध्यक्ष केपी वलीलाई इङकित गर्दै नेता नेपालले लोकतन्त्र प्राप्त भइसकेको अवस्थामा अव तानासाही र निरंकुशवालाहरूको दिन गएको उल्लेख गरे ।
अध्यक्ष नेपालले जनतालाई सुखी बनाउने र मुलुकलाई समृद्ध बनाउने संकल्पका साथ आफ्नो पार्टी अघि बढेको बताए । उनले जनताको पीडालाई सम्बोधन गरेर आफ्नो पार्टी अघि बढ्ने भन्दै टोलटोलमा गएर पार्टीको संगठन निर्माणमा जुट्न पनि नेता, कार्यकर्तालाई निर्देशनसमेत दिएका छन् ।


