इलाम एमाले जिल्ला अधिवेशनको तयारीमा, पार्टीमा योगदान गर्नेलाई सम्मान

इलाम,नेकपा एमाले जिल्ला कमिटी इलामले वामपन्थी आन्दोलनमा योगदान गर्नेदेखि भूमीगतकालमा सेल्टर प्रदान गर्नेसम्मलाई सम्मान गर्ने भएको छ । नेकपा एमालेको १०औं जिल्ला अधिवेशनमा उनीहरूलाई सम्मान गर्ने भएको हो । ‘वामपन्थी आन्दोलनमा योगदान गर्ने, भूमिगत कालमा जेलनेल भोग्ने, सेल्टर प्रदान गर्नेहरूलाई सम्मान गर्ने निर्णय भएको छ’, नेकपा एमाले इलामका अध्यक्ष महेश बस्नेतले मंगलबार पत्रकार सम्मेलनमा भने,‘जिल्ला अधिवेशनमा सम्मानित हुने ४१ जनाको नाम पार्टीको सचिवालय बैठकले टुङ्गो लगाएको छ ।’

नेकपा एमालेको सचिवालय बैठक सोमबार बसेको थियो । बैठकले अधिवेशनमा प्रस्तुत हुने राजनीतिक, सांगठनिक र आर्थिक प्रतिवेदन पारित गरेको छ । २३ र २४ गते इलाम सदरमुकाममा हुने अधिवेशनको प्रतिनिधिहरू समेत सचिवालय बैठकले अनुमोदन गरेको छ । जिल्ला अधिवेशनमा ८०६ जना प्रतिनिधि सहभागी हुँदैछन् । आयोजकका ११९, मनोनीत ३९ जनासहित ८०६ जना प्रतिनिधि अधिवेशनमा सहभागी हुने भएका हुन् । त्यसमा खुला पुरुषतर्फ ३३९ जना, महिला तर्फ २६५ र दलित (महिला र पुरुष) तर्फ १२१ जना प्रतिनिधि सहभागी हुने एमालेका जिल्ला अध्यक्ष बस्नेतले जानकारी दिए ।

नेकपा एमालेले १४ पुसमा ८१ वटै वडा कमिटी र शाखा कमिटीबाट प्रतिनिधि छनोट गरेको हो । ४५ पुरुष पार्टी सदस्य बराबर एक जना, २२ महिला पार्टी सदस्य बराबर एक जना र ११ दलित प्रतिनिधि बराबर एक जनाका दरले जिल्ला अधिवेशन प्रतिनिधि चयन भएका हुन् । इलाममा रहेका एकालेका १५ हजार १३५ जना संगठित सदस्यबाट जिल्ला अधिवेशनका प्रतिनिधि छानिएका हुन् । सदरमुकामस्थित गौतमबुद्ध सभागृहमा हुने जिल्ला अधिवेशनमा एमालेका केन्द्रीय उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ प्रमुख अतिथिको रूपमा उपस्थित हुनेछन् । कार्यक्रमको उद्घाटन सत्रमा केन्द्रीय सदस्यहरू सहित प्रदेश कमिटीका पदाधिकारी र सदस्य अतिथिको रूपमा उपस्थित हुने एमालेले जनाएको छ ।

जिल्ला अधिवेशनका प्रतिनिधि, पर्यवेक्षक र स्वयम सेवकको बास र खानाको लागि ५९ वटा होटेलमा व्यवस्थापन गरिएको छ । एमाले इलामले यो पटक राती अधिवेशनका कार्यक्रम नगर्ने भएको छ । ‘यो पटक रातभर कार्यक्रम हुँदैन’, एमाले प्रचार विभाग प्रमुख प्रकाश अधिकारीले भने,‘प्रतिनिधिलाई राती बस्नलाई होटेलको व्यवस्था गरिएको छ ।’ यसअघि रातभर अधिवेशनको कार्यक्रम सञ्चालन हुने गरेको थियो ।

जिल्ला अधिवेशनमा प्रतिनिधिको स्वास्थ्यको ख्याल गर्दै हेल्थ किड वितरण गर्ने भएको छ । हेल्थ किडमा सामान्य रुघाखोकीमा प्रयोग हुने औषधि देखि कोरोना महामारी विरुद्ध अपनाइने स्वास्थ्य मापदण्डका सामान हुनेछन् । हेल्थ किडमा सामान्य रुघाखोकीका औषधि, मास्क, स्यानिटाइजर, भिक्स लगायतका सामाग्री हुने अधिकारीले जानकारी दिए ।

एमालेले महामारी र मेची राजमार्ग भत्किएकाले बजार क्षेत्रमा हुने चापको कारण खुला सभा भने नगर्ने भएको छ । बजार क्षेत्रमा कार्यक्रम गर्दा लामो समय यातायात जाम हुने भएकाले खुला सभाको नगरिएको अध्यक्ष बस्नेतले बताए ।

सदरमुकाममा खुला सभा नहुने भए पनि १० वटै पालिकामा २२ गते र्‍याली र दीपावली कार्यक्रम आयोजना गरिएको छ । अधिवेशन सफलताको कामना गर्दै दिउसो र्‍याली र साँझमा दीपावली गर्ने कार्यक्रम तय भएको एमालेले जनाएको छ । जिल्ला अधिवेशन हुने इलाममा भने २२ गते मोटरसाइकल र्‍याली र साँझमा दीपावली गरिने भएको हो ।

जिल्ला अधिवेशनले पाँच पदाधिकारी सहित १०५ सदस्यीय जिल्ला कमिटी चयन गर्नेछ । जिल्ला कमिटीको सदस्यको उम्मेदवार हुन पार्टीको सदस्यता पाएको सात वर्ष पुरा हुनुपर्ने छ । दलित र महिलाको हकमा भने पार्टी सदस्यता पाएको पाँच वर्ष पुरा गरेकाले समेत उम्मेदवारी दिन पाउनेछन् ।

जिल्ला कमिटीको पदाधिकारी हुन भने दुई कार्यकाल जिल्ला कमिटीमा रहेको या एक कार्यकाल सचिवालय सदस्य भएको हुनुपर्नेछ । जिल्ला कमिटीको अध्यक्षको लागि दश हजार रुपैयाँ मनोनयन शुल्क लाग्नेछ छ, त्यस्तै पदाधिकारीको लागि पाँच हजार रुपैयाँ र सदस्यहरूले तीन हजार रुपैयाँ मनोनयन शुल्क बुझाउनुपर्नेछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।