सभाहल सञ्चालनको मोडालिटी बनाउन मन्त्री झाँक्रीको आग्रह

कर्णाली, २२ पुस (रासस) ःसहरी विकासमन्त्री रामकुमारी झाँक्रीले ‘सुर्खेत सभाहल’ सञ्चालन तथा व्यवस्थापनका लागि तत्काल मोडालिटी बनाउन आग्रह गर्नुभएको छ । सहरी विकास मन्त्रालयको सरकारी भवन निर्माण कार्यक्रमअन्तर्गत सुर्खेत सभाहल (पहिलो चरण) को आज वीरेन्द्रनगर नगरपालिकालाई हस्तान्तरण गर्दै उहाँले सञ्चालनको मोडालिटी बनाई हललाई आम्दानीको स्रोतका रुपमा विकास गर्न आग्रह गर्नुभयो ।

मन्त्री झाँक्रीले नेपाल सरकार र दातृ निकायले निर्माण गरेका ठूला संरचनाको सञ्चालन र मर्मतसम्भारको मोडालिटी नहुँदा खण्डहर हुने समस्या रहेको बताउनुभयो । “नगरपालिकाले तत्काल हल सञ्चालनको मोडालिटी बनाउनुपर्छ, यो विजनेस सिर्जना गर्न बनाइएको हल हो”, उहाँले भन्नुभयो, “यसबाट प्राप्त हुने आम्दानीले मर्मतसम्भार, कर्मचारीलाई पारिश्रमिक दिन सकियोस् अब यो लावारिसे हुनुहुँदैन ।” सहरी विकास विभाग, सङ्घीय आयोजना कार्यान्वयन इकाइ सुर्खेतले कार्यान्वयनमा ल्याएको सभाहल निर्माण योजना आर्थिक वर्ष २०७३÷७४ देखि सुरु भएको थियो । समानान्तर÷चक्रेश्वरी शिवशक्ति जेभीले रु २३ करोड लागतमा पहिलो चरणमा सभाहलको निर्माण कार्य पूरा गरेको हो ।

सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलाल, सहरी विकास विभागका महानिर्देशक पदमकुमार मैनालीको उपस्थितिमा मन्त्री झाँक्रीले सभाहल व्यवस्थापनको जिम्मा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीलाई हस्तान्तरण गर्नुभयो । कार्यक्रममा नगर प्रमुख सुवेदीले सभाहलको दोस्रो चरणसँग सम्बन्धित निर्माण कार्यका लागि यथाशीघ्र ठेक्का प्रक्रिया थाल्न अनुरोध गर्नुभयो ।

दोस्रो चरणअन्तर्गत फर्निचर व्यवस्थापन, बगैँचा, चमेनागृह निर्माणलगायत काम छन् । यसका लागि रु छ करोड लागतको अनुमान गरिएको छ । हाल बजेट अभाव भएका कारण दोस्रो चरणको काम सुरु हुन सकेको छैन । ‘सुर्खेत सभाहल’कर्णाली प्रदेशकै गरिमा भएको भन्दै नगर प्रमुख सुवेदीले यसको सञ्चालन तथा व्यवस्थापनका लागि तत्काल मोडालिटी बनाउने प्रतिबद्धता जनाउनुभयो ।

सङ्घीय आयोजना कार्यान्वयन इकाइ सुर्खेतका आयोजना प्रमुख अमरबहादुर थापाले अपाङ्गतामैत्री साना ठूला गरी तीन वटा बहुउद्देश्यीय सभाहल, बैठक कक्ष, शौचालय, पर्खाल, पार्किङस्थल निर्माणका साथै खानेपानी र विद्युत् जडान कार्य सम्पन्न भएको जानकारी दिनुभयो ।

यहाँ ८५० सिट क्षमता भएको ठूलो हल, १५० सिट क्षमता भएका साना दुई हल छन् । अब ती हलमा फर्निचर व्यवस्थापनको काम बाँकी छ । वीरेन्द्रनगर– ६ मा अवस्थित सुर्खेत सभाहल साढे तीन बिगाहा क्षेत्रफलमा फैलिएको छ । सभाहल हस्तान्तरण कार्यक्रमका लागि सुर्खेत आउनुभएकी मन्त्री झाँक्रीले सहरी विकास मन्त्रालयद्वारा सञ्चालित आयोजनाको अनुगमन गर्नुभएको थियो । त्यस्तै वीरेन्द्रनगरस्थित पार्टी कार्यालयमा नेकपा (एकीकृत समाजवादी) का नेता÷कार्यकर्तासँग भेटघाट पनि गर्नुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।