सुनसरीमा मलद्वारमा लुकाएर ल्याएको ५.३४ ग्राम ब्राउन सुगर सहित युवक पक्राउ
इनरुवा । सुनसरीको कोशी गाउँपालिका–१ लौकही पूर्व बसस्टेन्डबाट ब्राउन सुगरजस्तो देखिने पदार्थसहित एक युवक पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार शुक्रबार दिउँसो १२ः२० बजे इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले पैदल हिँडिरहेका धरान उपमहानगरपालिका–१ निवासी २५ वर्षीय अमर दर्जीलाई शंकाका आधारमा जाँच गरेको थियो ।
जाँचका क्रममा उनले मलद्वारमा लुकाएर ल्याएको ५ ग्राम ३४० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।
उक्त पदार्थसहित पक्राउ परेका दर्जीलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


