महिला माथि कुटपिट तथा अभद्र व्यवहार गर्ने तीन जना पक्राउ
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा घरायसी विवादका क्रममा दुई महिलामाथि लाठी तथा भाटाले कुटपिट गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।
जिल्लाको पाल्हीनन्दन गाउँपालिका–५ विष्णुपुरामा कात्तिक २५ गते बिहान करिब १० बजे स्थानीय ४६ वर्षीया सावित्री देवी गुप्ता र उनकी २३ वर्षीया छोरी पूजा कुमारी गुप्तामाथि कुटपिट तथा हातपात भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घरायसी विवादका क्रममा स्थानीय ४८ वर्षीय विनोद गुप्ता, २४ वर्षीय सिद्धेश्वर गुप्ता र २७ वर्षीय अजय गुप्ताले लाठी तथा भाटासमेत प्रयोग गरी कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले घटनाबारे तत्काल अनुसन्धान थालेको थियो ।
पीडित पूजा कुमारी गुप्ताको जाहेरीका आधारमा प्रहरीले तीनै जनालाई पक्राउ गरेको हो । उनीहरूमाथि अभद्र व्यवहारसम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालयबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


