डा. शेखर कोइराला- निर्वाचनमा कांग्रेसको कुनै पनि राजनीतिक दलसँग गठबन्धन हुँदैन
इनरुवा, २४ पुस: नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आउने निर्वाचनमा कांग्रेसको कुनै पनि राजनीतिक दलसँग गठबन्धन नहुने बताएका छन् । आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले अब हुने स्थानीय, प्रदेश र सङ्घीय निर्वाचनमा कुनै पनि राजनीतिक दलसँग कांग्रेसको गठबन्धन नहुने स्पष्ट पारेका हुन् । नेता कोइरालाले भने, “अब कांग्रेस एक्लै चुनाव लड्छ । कांग्रेसका नेता तथा कार्यकर्ताले अबको निर्वाचनमा आफ्नै पार्टीको चुनाव चिन्ह रुखबाहेक अन्य चिन्हमा मत नहाल्ने आशय व्यक्त गरिसकेको छ । त्यसैले आगामी निर्वाचनमा कांग्रेसले एक्लै चुनाव लडेर पनि बहुमत ल्याउँछ ।” उनले आउने निर्वाचनमा १५ देखि २० लाख मानिसलाई पार्टीमा आबद्ध गराउन सक्यौँ भने निर्वाचन जित्नेमा कुनै दुविधा नरहेको बताए ।
पार्टीका सभापति तथा प्रधानमन्त्रीले आफूखुसी गर्नखोजे पार्टीले चुनावमा हारको सामना गर्नुपर्ने अवस्था आउनसक्ने नेता कोइरालाले बताए । नले सभापतिले म सबैको हुँ भने पनि विश्वासको वातावरण बनिनसकेको दाबी गरे । नेता कोइरालाले भने, “सभापतिले म सबैको सभापति हुँ भन्नुभएको छ, त्यो देखाउनु प¥र्यो । देखिने गरी हुनुप¥र्यो, न्यायसङ्गत हुनुप¥र्यो ।” आम नेपाली जनतामा एमसीसीका बारे फैलिएको त्रास चिर्न संसद्मार्फत छलफल गरेर जे हुन्छ जानकारी दिनु आवश्यक रहेको बताउनुहुँदै उनले व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका अस्तब्यस्त रहेको उल्लेख गरे । नेता कोइरालाले अवरुद्ध संसद् सञ्चालन गर्नतर्फ कांग्रेस र एमाले दुवै लाग्नुपर्नेमा जोड दिए ।
यो पनि पढ्नुहोस…काठमाडौँ, २४ पुस। संसदीय समितिमा खाँटी किसानले होइन, कागज मिलाउने टाठाबाठाले मात्र लाभ प्राप्त गरिरहेको भनी ‘कृषि अनुदान’ मा पुनर्विचार गर्न पर्ने आवाज उठेको छ । कृषकको नाममा व्यक्ति विशेषलाई लाभ दिने नियतले राज्यको ढुकुटीबाट दिइँदै आएको अनुदान स्थगित गर्न सांसदले सुझाव दिनुभएको छ । प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको शुक्रबारको बैठकमा समिति सदस्य हरिराम चौधरीले अनुदानका नाममा राज्यको ढुकुटीको ठूलो हिस्सा अपचलन भएकाले कृषि अनुदान कार्यक्रम स्थगित गर्न सुझाव दिनुभयो ।
उहाँले भन्नुभयो, “वास्तविक किसानलाई अनुदानबारे थाहै छैन, किसानलाई अनुदान होइन, मलखाद, बीउबिजन र उपकरण खरिदमा छुट चाहिएको छ, यस वर्ष बाढीले धान डुबायो, गहुँका लागि मल छैन, यो अवस्थामा कृषकलाई राहत कार्यक्रम खोइ ।” समिति सदस्य राधेश्याम अधिकारीले कृषि ऐन नभएका कारण व्यक्ति विशेषलाई लाभ हुने हिसाबले निर्देशिका बनाएर बडिँदै आएको अनुदान लक्षित समुदायमा नपुगेको हुँदा अनुदान वितरणलाई पुनर्विचार गर्न आवश्यक रहेको सुझाव दिनुभयो ।
सांसद शेरबहादुर कुँवरले पहुँचका आधारमा अनुदान बाँड्ने प्रवृत्तिले माटोसँग खेल्नेले होइन, कागज मिलाउनेले अनुदान प्राप्त गरिरहेकाले अहिले हालको अनुदान वितरण प्रणालीमा व्यापक सुधारको खाँचो औँल्याउनुभयो । समिति सदस्य डा खिमलाल देवकोटाले कृषकले सीधै लाभ प्राप्त गर्ने विषय हरेक वर्ष मल खरिदमा घोटाला दोहोरिए पनि सहजरुपमा मल वितरण भएको कहिल्यै नसुनिएको प्रतिक्रिया दिनुभयो ।
उहाँले भन्नुभयो, “भनसुन र लेनदेनका आधारमा कृषि अनुदान बाँडिने गरेको छ, अनुदान वितरण भद्रगोल छ, अनुदान कृषिकर्म गर्नेले नपाँउदा उत्पादन बढ्न र लागत घटन सकेको छैन, नेपालले वार्षिकरुपमा रु दुई खर्ब बराबरको आधारभूत कृषिजन्य खाद्य सामग्री आयात गर्न परिरहेको छ ।” सांसद शान्ति अधिकारी जिसीले किसानले रासायनिक मल सजिलोसँग पाउने सहज वितरण प्रणाली निर्माण गर्न सुझाव दिँदै कुषि अनुदान वास्तविक किसानले होइन, कागज मिलाएर खाँने टाठाबाठाले मात्र पाइ रहेको घटना सुनाउनुभयो ।समिति सभापति रामनारायण बिडारीले प्रत्यायोजित कानून सहीरुपबाट पालना नहुँदा कर्मचारी भ्रष्टाचारको आरोपमा जेल जानुपरेका घटनाको उदाहरण प्रस्तुत गर्नुभयो । उहाँले भन्नुभयो, “कानुन संसद्ले बनाउने हो, व्यक्ति विशेषलाई लाभ दिने गरी निर्देशिका, कार्यविधि मन्त्रालयले बनाउन भएन, निर्देशिकाले कर्मचारीलाई मुद्दा लगाउँछ, यस्ता सहायक कानुन संसद्बाट परीक्षण गराउन प¥यो, जथाभावी लागू गर्न भएन ।”
बैठकमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव सवनम सिवाकोटीले कृषकलाई उत्पादन लागत घटनाउन रासायनिक मल र कृषि उपकरणमा अनुदान दिने गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अहिले मन्त्रालयको काम नै अनुदान मात्र वितरण गर्ने होकी जस्तो भएको छ, अनुदान सही व्यक्तिले पाओस भन्नाका लागि पहिचान गर्ने काम भइरहेको छ ।”नेपाल कृषि प्रधान देश भए पनि हालसम्म कृषि ऐन तर्जुमा भएकै छैन । कृषि ऐन नभएका कारण कृषकलाई अनुदान दिने होस् वा मल खरिद गर्ने क्रममा अन्य ऐनको सहायता लिने गरिएको छ । समितिले कृषि ऐन, कृषि अनुदान तथा समितिले दिएका निर्देशन कार्यान्वयनको अवस्थालगायतका विषयमा मन्त्रालयका पदाधिकारीसँग छलफल गरेको हो ।


